Monday, August 21, 2017

'यात्राको एउटा दृश्य' (कवितासङ्ग्रह) - मातृका पोखरेल































































==========================================================


यात्राको एउटा दृश्य




(कवितासङ्ग्रह)





मातृका पोखरेल









विवेक सिर्जनशील प्रकाशन प्रा.लि.

कृति ः यात्राको एउटा दृश्य
विधा ः कवितासङ्ग्रह
लेखक ः मातृका पोखरेल
प्रकाशक ः विवेक सिर्जनाशील प्रकाशन प्रा.लि.
अनामनगर, काठमाडौँ, फोन ४७७१७०४
प्रकाशित प्रति - एघार सय
प्रकाशन - पुस, २०६०
आवरण - के.के. कर्माचार्य
कम्प्युटर - प्रारम्भ कम्प्युटर सेवा
डिल्लिबजार, काठमाडौँ, फोन ४४२१६५७
मुद्रण:- कान्तिपुर अफसेट प्रिर्न्र्टस अनामनगर, काठमाडौँ ।
साधारण मूल्य रु-३०/-
संस्थागत मूल्य रु- १५०/-













यात्रा, आस्था र केही आभारहरू

मैले एउटा यात्रा रोजेको छु । आफैले रोजेको यात्रामा विस्तारो हिँड्ने यात्री भए पनि त्यो यात्राप्रति म कहिलेकाहीँ गौरवले अगाध प्रफुल्लित र रोमाञ्चित हुन्छु । यी कविताभित्रका धेरै गल्छेँडाहरूमा मैले त्यही यात्राको गीत गाएको छु ।
आफन्तका मनहरू विखण्डित छन् । सबैले आस्था भत्किएको कुरा गरिरहेका छन् । निश्चय नै डेढ दशकभित्रको कालखण्डमा धेरै आस्था पुरुषहरूले आफैले बनाएको उचाइलाई आफैले होच्याए । हिजैदेखि देख्न थालेका उज्याला सपनाहरू झन टाढाटाढा भइरहेका छन् । यी केही यथार्थहरू हुन् र अलि बढी हल्लाहरू पनि हुन् । तर यी कारणहरूले मैले मेरो आस्था भत्काउनुपर्ने कुनै कारण देखिन, मात्र ठेस ठानेको छु । ठाउँ ठाउँमा यी पीडाहरू अभिव्यक्त भए पनि यसले नकारात्मक शिक्षा नदेओस् भन्ने कुराप्रति सचेत हुनु आफ्नो कर्तव्य ठानेको छु । यही बीचमा छातीभित्र आस्थाका नयाँ पर्वतहरू पनि रोपिएका छन्, यसभित्र कतैकतै प्रशंसाहरू पनि गाएको छु ।
कथित कलाका नाममा कविताहरूलाई अस्वाभाविक रङ्ग दलेर अमुर्त र रहस्यमय बनाउन त्यति उचित लागेन ।
म यहाँ धेरै कुराहरू बोल्न चाहन्न । कविताहरूले नै धेरै कुरा बोलिदिए हुन्थ्यो भन्ने इच्छा पाल्नु अर्घेलाई हुनेछैन जस्तो लाग्छ ।
कविताहरू पढेर मन्तव्य लेखिदिने अग्रज साहित्यकारहरू यज्ञनिधि दाहाल र डा. ताराकान्त पाण्डेयज्यूप्रति कृतज्ञतापूर्वक आभार व्यक्त गर्दछु । साहित्यसिर्जनामा लागिरहन निरन्तर प्रेरणा दिने मेरी जीवनसंगिनी अन्जुलाई नसम्झनु साँच्चै अन्याय हुनेछ । प्रकाशनको महत्वपूर्ण जिम्मा उठाइदिने विवेक सिर्जनशील प्रकाशन, यो कार्यमा विविध सहयोग पुर्‍याइदिनु हुने मित्रहरू भगवति प्रर्साई, पुण्य घिमिरे, सुरेन्द्र चालिसे र सिर्जनाका लागि समय जुटाइदिने बहिनी विमला लाई पनि मैले भुल्नु हुँदैन ।


मातृका पोखरेल






कविताक्रम
१. फरक आँखाका यात्रीहरू
२. दुश्मनहरू सुरक्षित रहेको बेला
३. अँध्यारोका विरूद्धमा
४. यसपटक दशैंमा
५. उसले पनि हाम्रै जस्तो कुरा गर्छ
६. दुख्ने मनहरूसँग
७. म तिम्रा कविताको विरूद्धमा लेख्छु
८. सर्प पूजा
९. अब आफ्नै बाटो रोज्नुपर्छ
१०. जलजला
११. प्रिय मान्छेका गीतहरू
१२. नागरिक
१३. भविष्यका लागि
१४. कलिला जूनहरूको श्रद्धान्जलीमा
१५. उज्यालो हुनुअघि
१६. स्वयम्भूका आँखासँग
१७. बाटाहरू – १
१८. बाटाहरू – २
१९. बाटाहरू – ३
२०. यात्राको एउटा दृश्य
२१. एउटा पुजारीको आत्मव्यथा
२२. सपना




फरक आँखाका यात्रीहरू
उनीहरूले मर्स्याङ्दीको छाल हेरे
वरिपरिको हरियाली हेरे
आपसमा सल्लाह गरे
यिनै चिजको कविता कोरौं
तर मैले भनें,
मर्स्याङ्दीको छालमा
शोभाकान्तको रगत भेटें
वरिपरिको हरियालीमा
आस्थाको बगैंचा भेटें ।

उनीहरूले मर्स्याङ्दीको छातीमा उभिएको
पहराको कुरा गरे
मैले त्यो पहरामा
शोभाकान्तको विश्वास खोजें
उनीहरूले मर्स्याङ्दीको प्रवाहमा दौडेको
निर्मल पानीको कुरा गरे
मैले त्यो पानीमा
शोभाकान्तको निर्मल मन खोजें
हामी फरक आँखाका यात्रीहरू
मर्स्याङ्दीको किनारतिर
उनीहरू त्यस्तै त्यस्तै कुरा देख्छन्
म बेग्लै बेग्ले कुराहरू भेट्छु
उनीहरू पहेंला आँखाले हेरिरहेछन्
म नीला आँखाले देखिरहेछु
हामी मर्स्याङ्दी किनारका यात्रीहरू ।

उनीहरूले मर्स्याङ्दीको भित्ताबाट
ठोकिँदै तल झरेका
सेता झर्नाका कुराहरू गरे
मैले त्यो झर्नामा
शोभाकान्तका ढुकढुकीहरू भेटें
उनीहरूले हरिया खेतहरूको कुरा गरे
मैले खेतका आलीतिर
शोभाकान्तका पाइतालाका डोबहरू खोजें
र प्रत्येक झुप्राहरूमा खोजें
उसको दुब्लो शरीरको अस्तित्व ।
साथीहरू । अन्यथा नठान्दा हुन्छ
म यो मौसममा/यो ठाउँमा
हरियालीका कविता लेख्न सक्दिनँ
सेता झर्नाका कविता लेख्न सक्दिनँ
हामी मर्स्याङ्दी किनारका यात्रीहरू
हामी फरक आँखाका यात्रीहरू ।

विद्युत्तरङ्ग, वर्ष ५, अंक ५, २०५८ भदौ













दुश्मनहरू सुरक्षित रहेको बेला

मलाई थाहा छ–
तिमी जुलुससँग डराउँछौ
नारा र हडतालसँग पनि डराउँछौ
अचेलभरि माओवादीहरूसँग झन् धेरै डराउँछौ
तर जब प्रवीण गुरूङको हत्यारा
तिमी राम्रोसँग चिन्छौ
र डराइ–डराइकन
गोप्य र तथ्य सूचना दिन्छौ
अनि यो देशको सरकार
सूचना दिने मान्छे सोध्छ
र तिमीलाई खोज्छ
जब तिमी हत्यारा चिनेबापत
अपराधी ठहरिन्छौ
भन माइला । नढाँटी भन
त्यतिबेला तिमीलाई
माओवादी र सरकारमध्ये
माओवादीनै आफ्नो जस्तो लाग्छ ।

एउटै घरबाट उही समस्यामा
भाइ साइँलो माओवादी भएर जंगल पस्छ
तिमी मकै र सातु बोकेर शहर पस्छौ
र खान्छौ पुलिसको जागिर
तिमी साहिंलालाई गोली ताक्छौ
साइँलो तिमीलाई निशाना दाग्छ ।
अचेलभरी रोल्पा र रूकुमतिर
तिमीहरू जस्तैलाई पठाइन्छ
माइला! नढाँटी भनेको
तिमी आफ्नै भाइहरूलाई हानिरहेका छौ
तिमी आफ्नै आफ्नैलाई मारिरहेछौ ।

तिम्रा दुवै आमाका
शोक मनाउने आँखाहरू
मैले उस्तै रंगका देखें
तिमीहरूको सम्झनामा
आँशुका ढिक्काहरू
चाउरी परेका गालाका
उस्तै गराहरू हुँदै खस्दा रहेछन्
तिम्रा घरका दलानहरू उस्तै रहेछन्
उस्तै चुहिने छानाहरू छन्
बाबुका गालाहरू
उस्तै ख्याउटे र चाउरी परेछन्
कहाँ पाउनु अट्टालीका माथि बसेर
तिमीहरूको मृत्युमा शोक मनाउन
तिमीहरूको मृत्युको खबर पुगेकै दिन
मकैको बीउसँगै बारीमा आँशु रोप्दा रहेछन्
खेतमा आँशुमै हिलो मुछ्दा रहेछन्
बहिनीहरूले उसैगरी
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलाई लुकाउनुपर्छ
साइँला! तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेछन्
साइँला! सुरक्षित बाँचिरहेछन् ।


सहयात्री, वर्ष २, अंक २, पूर्णाङ्क ३, २०५७ असोज

अँध्यारोका विरूद्धमा

अँध्यारोले मलाई लखेट्दै आयो
म भाग्दै गएँ
अझै दौडँदै गएँ
झनै ठूलो विश्वास बोकेर
ऊ मलार्इ झम्टँदै आयो
मेरो भोगाइकै समदूरीमा
बन्दुक, तरबार र बमगोला
सबै सबै चीज बोकेर
ऊ मलाई लखेट्दै आयो ।

जब म दौडँदै थिएँ अँध्यारोमा
नदेखेर गोरेटो
भीर, पहरा र कन्दरामा
कतैतिर एउटा मैनबत्ती पाएँ
र, मैले त्यो बालें
अँध्यारो मसँग झस्क्यो
ऊ मसँग तर्क्यो
मैले त्यही दिनदेखि थाहा पाएँ
अँध्यारो बत्तीहरूसँग डराउँदोरहेछ
ऊ उज्यालोसँग भाग्दोरहेछ ।

त्यसपछि म अँध्यारोसँग भाग्न छोडें
मैले वरिपरि बत्तीहरू खोजें
थुप्रै–थुप्रै प्रकारका बत्तीहरू
अँध्यारोका विरूद्धमा
जब म ठिङ्ग उभिएँ
उसले मलाई खेद्न सकेन
बत्ती बोकेर जब मैले
लखेटिएको स्वाभिमान खोज्न
एउटा सानो गोरेटो पहिल्याएँ
ऊ मसँग तर्कँदै गयो
यो खबर मैले सबैलाई सुनाएँ
हो । त्यही दिनदेखि
मेरा आफन्तहरूसँग साथ लागेर
बत्ती बोकेर त्यही गोरेटोबाट
म उज्यालोको खोजीमा हिंडें ।

अंशु, साहित्यिक त्रैमासिक, वर्ष १, अंक १, २०५७ असोज


यसपटक दशैंमा

यसपटक दशैंमा घर जाँदा
मैले ढाक्रेहरूको अनुहारमा देश देखें
उनीहरूको जीवनमै देश भेटें,
सत्य हो, नढाँटी भनेको
उनीहरूको सानो ढाकरमैं देश देखें ।

बाटामा ढाक्रे दाइहरूले सोधे
भाइ, देश कस्तो छ ?
मैले उनीहरूकै ढाकरपछि झुण्डेको
केही पकाउँदा कमेरो माटोले टाल्नुपर्ने,
सिलिबरे भाँडो देखाउँदै भनें
दाइ, देश तपाइँकै भाँडोजस्तो छ
उनीहरूले निधार खुम्च्याएर भने
भाइ, देश त टिठलाग्दो पो रहेछ ।

उनीहरूले ढिंडो ओडाल्दै गर्दा
मजुवा बिसौनीमा सोधे
भाइ, देशको रूप कस्तो छ ?
मैले टारी खेततिर देखाउँदै भनें
ऊ त्यही सिमाना सर्दै–सर्दै आएको,
पल्ला गाउँको जिम्वालले मिचेको
सत्ते होला दाइ!
देश तपाइँकै गैह्री खेतजस्तो छ
उनीहरूले निधार खुम्च्याएर भने
भाइ! देश त दुःखलाग्दो पो रहेछ ।

साहुको घरनेर पुगेर
ढाक्रे दाइहरूले भारीलाई टेको दिँदै सोधे
भाइ! देशले पनि ऋण खान्छ ?
मैले व्यथा सुनाएँ
दाइ, देशले खाएको ऋणले
हाम्रो घर–दलान नै बन्दकी छ रे
हाम्रो घर–दलान मात्र होइन
तारेभिर पनि डुब्छ रे ।
ढाक्रे दाइहरू रिसले तातेर भने
भाइ! देश त पोल्दो पो रहेछ ।

मैले उनीहरूको अनुहारमा हेरें
चिउँडोबाट दुखिरहेको देश
तप्प–तप्प बगिरहेको थियो
उनीहरूले मलाई हेरिरहेका थिए
म उनीहरूलाई हेरिरहेको थिएँ
यसपटक दशैंमा घर जाँदा ।

मूल्यबोध, वर्ष २, अंक १, २०६१ कार्त्तिक



उसले पनि हाम्रैजस्तो कुरा गर्छ

हिजो उसले बोकेको रातो किताबले
बस्तीहरू ब्यूँझिएर उठे,
उसले बोकेको रातो झण्डाले
बस्तीहरू जोशिएर उठे,
हो, हिजो उसको योजना
कति सुन्दर थियो
सुन्दर रक्तिमलाई छुन
जब उसले
बाटो तय गरेको नक्सा कोर्थ्यो
साँच्चै सुखद थियो भविष्य
उसको योजनाले
मानिसहरू अघि बढे
बस्तीले मोर्चा कस्यो
चुरे, महाभारत र सगरमाथाले झुकेर सलाम गरे ।

आज ऊ त्यस्तो छैन
फरक–फरक कुराहरू गर्छ
कसलाई के भन्दा हुन्छ
ऊ त्यस्तै–त्यस्तै कुराहरू गर्छ
कहिले मीठा कुराहरू गर्छ
कहिले नमीठा कुरा पनि गर्छ
बस्तीलाई आतंकित बनाउँदै
रातो किताब बोकेरै
कहिले कालो ओडारभित्र पस्छ
र त्यहाँ बुझिने–बुझिने कुरा गर्छ
कहिले मसँग आएर
नबुझिने–नबुझिने कुराहरू गर्छ ।
रातो किताब बोकेर कहिले ऊ
कालो ओडारको पक्षमा बोल्छ
कालो ओडारसँग कुरा नमिले
कहिले क्रान्तिका कुरा पनि गर्छ
कहिले विद्रोहकै भाषा बोल्छ
कहिले हाम्रैजस्तो कुरा गर्छ
कालो ओडारभित्र
लेन–देनमा तलमाथि परे
जंगल पस्ने कुरा गर्छ
कहिलेकाहीं बस्तीलार्इ
असल कुरा गरेको हो कि भन्ने
राम्रै खालको भ्रम पार्छ
जे–जति कुराहरू गर्छ
रातो किताब बोकेरै गर्छ
रातो झण्डा ओढेरै गर्छ ।

अचेल ऊ
रातो किताब बोकेरै
मान्छे किन्ने कुरा गर्छ
हाम्रो साझा सम्पत्ति
अर्कैलार्इ दिने कुरा गर्छ
अचेलभरि ऊ
बस्ती–बस्तीहरूमा
रातो किताबको पानाका प्रत्येक चेपभित्र
लालपूर्जा बोकेर हिँड्छ
रक्तिम क्षितिजलाई छुने
सुन्दर योजनाको नक्सा बेचेर
घरको तला थप्छ
रातो किताबमा कदापि त्यस्तो थिएन
साह्रै अन्यथा भयो
बस्ती भ्रमले सुस्ताएको छ
म क्रोधले थकित छु
म उसको भूमिकाले
नयाँ–नयाँ अनिष्टताहरू सोचिरहेछु
ऊ मेरो हिजोको सहयात्री
मेरो प्यारो मित्र
उसले रातो किताब बोकेकै भए पनि
रातो झण्डा ओढेकै भए पनि
ऊ फरक मान्छे हुँदै गयो
ऊ बेग्लै जातमा फेरिँदै गयो
अचेल मैले उसैका विरूद्धमा
नयाँ–नयाँ मान्छेहरूसँग
नयाँ मोर्चा कस्नुपर्ने भयो
नयाँ योजना कोर्नुपर्ने भयो ।

साहित्यसन्ध्या, वर्ष १, अंक ३, २०५७ माघ

दुख्ने मनहरूसँग

मन ठाउँ–ठाउँमा दुख्छ
घुम्ती–घुम्तीमा दुख्छ
कुनै चाडपर्वको बेला
गरिबको आँगनमा दुख्छ
कहिले अभावको अँगेनामा दुख्छ
बहिनीहरूको घाँघरमा पनि दुख्छ
भाइहरूको कमेजमा पनि दुख्छ
के गर्ने यो मन यस्तै छ
प्रत्येक पाइला–पाइलामा दुख्छ ।

कहिले जागिर खोजेर लखतरान भएको
भोलिको एउटा कर्णधारले
प्रत्येक छाकको गाँस काटेर किनेको
‘गोरखापत्र’ र ‘कान्तिपुर’का पानाको
‘आवश्यकता’का विज्ञापनहरू कटिङ गर्दै
सुरक्षित फायल गरेर
मलिन हाँसो हाँस्दा
सत्य होला, नढाँटी भनेको
यो मन त हुरूक्कै हुने गरी दुख्छ ।

दुख्ने कुराको वयान
वर्तमानमा जति गरे पनि हुन्छ
दुख्न त कति हो कति
धेरै–धेरै दुखेको बेलाको कुरा गरौं
त्यस्तै त्यस्तै एकदिन
आफ्नो छोरीको विवाह गर्न
आँखनमा बसेर दाइजोको हिसाब गर्दै
रून्चे अनुहार लगाउने
छोरीको बाबुको अनुहार देख्दा
यो मन दुख्नसम्म दुख्यो
निन्द्रै नलाग्ने गरी दुख्यो
यो मन साह्रै–साह्रै दुख्यो ।

यसै यसै गरी
परार साल मन
टनकपुर भएर दुख्यो
त्यो वर्ष मन कालीतिरै दुखिरह्यो
अर्को वर्ष मेचीमा दुख्यो
र मन हिल्याएको खेत
रोपाइँ नगरी फर्क्यो
र, त्यो दुखाइ नसुस्ताउँदै
अस्ति मन फेरि लक्ष्मणपुर बनेर दुख्यो ।

अचेलभरि मन,
अन्धकारबाट मुक्ति खोज्ने
खारातिरका कोपिलाहरूलार्इ
निस्तब्ध रातमा हत्या गरेर
सामूहिक चिहान बनाएको खबरले
हुरूक्कै हुने गरी दुख्छ
कहिले मन
देवी खड्काको बाबुसँगै दुख्छ
च्याङ्वा लामाको परिवार भएरै दुख्छ
शिव खड्काकी आमा बनेरै दुख्छ
कहिलेकाहीं यस्तो लाग्छ
नेपाल घाउ नै घाउको देश हो
म घाउ नै घाउ भएको देशको नागरिक हुँ ।

मलाई त दुख्यो दुख्यो
यी सबै सबै देखेर पनि
दुख्दै नदुख्ने मन देखेर
साँच्चै यो मन साह्रै साहै दुख्छ
अचेलभरि नदुख्ने मनहरूसँग
साइनो तोडौंतोडौं जस्तो लाग्छ
मेरो मन त साह्रै साह्रै दुख्छ
तिमीलाई मेरै जसरी दुख्छ कि दुख्दैन ?
दुख्छ भने आऊ
हामी एउटा राम्रो सल्लाह गरौं
एउटा राम्रो काम गरौं ।

झिसमिसे, वर्ष २३, पूर्णाङ्क ३६, वैशाख/जेठ/असार, २०५८


म तिम्रा कविताको विरूद्धमा लेख्छु

एक गाँस पाउने आशामा
एउटा निर्वस्त्र नाङ्गो मान्छेलाई
सभ्य मान्छे भन्दै तिमी जब कविता लेख्छौ
अलिकति दान पाउने लोभमा
जब तिमै पैसावालहरूको अर्चना गाउँछौ
मैले कविताको मूल्य राखन
तिम्रा कविताकै विरूद्धमा
कविता लेख्नैपर्छ
तिम्रो नियतकै विरूद्धमा
कविता लेख्नैपर्छ
तिमी पसिनाका थोपाहरूमा कुँदिएका कविता
जसरी मन पराउँदैनौ
म पनि सिंगमरमरको भर्‍याङ चढ्दै
कुनै सजाइएको बैठकमा
मेरा प्रिय पसिनाका थोपाहरू
कुल्चने योजनामा सरिक कविता
त्यसैगरी घृणा गर्छु
म तिम्रा कविताको मृत्यु घोषणा गर्छु
म तिम्रा कविताकै विरूद्धमा लेख्छु ।

मैले पढिराखेको छु
पल्टु थारूले दिएको
गुन्द्री र मान्द्रो ओछ्याएर
जब तिम्रा रातहरू बित्थे
कति सुन्दर थिए कविता
मैते कामीले दिएको
भुटेको मकै खाएर
जब तिमी भोक मार्थ्यौ
त्यसपछि लेखेको कविता
नेपालको आफ्नै कविता हुन्थ्यो
तिमी नेपाल फेर्ने कविता लेख्थ्यौ
कति सुन्दर थियो कविता
हिजोआज तिमी त्यही कवि
पजेरो चढेर शहर घुम्छौ
जनताका झुप्रामा रमाउने तिमी
बैंककबाट सिंगमरमर झिकाउँछौ
र दरबार बनाउँछौ ।

अचेल जनता तिम्रा कविता बुझ्दैनन्
तिमी दरबारकै जस्तो कविता लेख्छौ
या जनताले नबुझ्ने कविता लेख्छौ
हरेक वस्तुका दुई कित्ताहरूझैं
अचेल तिमी एउटा कित्ताको पक्षमा लेख्छौ
म अर्कै कित्ताको पक्षमा बोल्छु
तिमी नौनीझैं नरम हातहरूको पक्षमा लेख्छौ
म ठेला उठेका हातहरूको पक्षमा बोल्छु
हामी फरक बाटोका यात्रीहरू
तिमी मेरो कविताका विरूद्धमा लेख्छौ
म तिम्रा कविताकै विरूद्धमा लेख्छु ।

म यतिबेला
पल्टु थारूको छानो चुहिएको बेला
शासकहरू बस्तीभित्र पसेर
देवी खड्कालाई बलात्कार गरिरहेको बेला
दरबारको अट्टालिकामा घुम्ने
कुनै राजकुमारीका यौनका व्यथाहरू
म कसरी लेख्न सक्छु ?
म मैते कामीको अँगेना नबलेको बेला
आफन्तहरूको दलान उजाडिएको बेला
कसरी लेख्न सक्छु काजीसाहेबको खुशी
नेपालीहरूको आँगन टुक्रिएको बेला
मेची, महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा ?
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतका लागि लेख्छु
म तिम्रै कविताका विरूद्धमा लेख्छु ।


नव कविता, पूर्णाङ्क ५२, शारदीय अंक, २०५८

सर्प पूजा

उसले चेतनाका टाउकाहरूमा
संगीन तेर्स्याउँदै भन्यो
‘प्रजातन्त्र’ जिन्दावाद
बारूदको धुँवा छरेर
शान्तिक्षेत्रको प्रस्ताव राख्यो
र भन्यो
‘शान्ति’ जिन्दावाद
भोका पेट र नाङ्गा आङहरूलाई
गोमन सर्पले झैं डस्दै भन्यो
‘धैर्य’ जिन्दावाद
र आफू नाग भएको घोषणा गर्र्यो
सदियौंदेखि यी बस्तीहरूमा
आफ्नो पूजा गराइरह्यो
प्रजातन्त्र, शान्ति र धैर्यको नाममै
उसका आँखामा गडेकाहरूलाई
एकाएक गरेर डस्यो रगत रहुञ्जेल
रगत सकिएपछिका अस्थिपञ्जरहरू
केहीलाई सेतीका किनारतिर फाल्यो
या कतै भीमान जंगलतिर
या सुखानीतिर
र कैयौं नदेखेका ठाउँहरूमा
तर आफूलाई
नाग भनेर पूजा गराइरह्यो ।

परिवर्तनको गतिलाई लत्याउँदै
हामीले पनि पूजा गरिरह्यौं
यसपटक ऊ हुनसम्म नाङ्गो भयो
सबैले देख्ने गरी नाङ्गियो
र हतार–हतार
डरै डरमा
सदाझैं फेरी हामीलाई भ्रममा राख्ने
नागको आकृतिको उही टोपी भिर्‍यो र झूठा हाँसो हाँस्यो
हामीतिर फर्केर
फेरि प्रजातन्त्रकै कुरा गर्‍यो
ऊ यतिबेला नाटकमा सामेल थियो
हामी सबैले ऊ सर्प भएको ठहर गर्र्यौं
र धेरैतिर खासखुस–खासखुस गर्र्यौं

तर यसपटक पनि
उही खतरा बाँकी नै रह्यो
लाचार हामी सुनिरह्यौं
कहिलेसम्म सुन्छौं ?
तर उही खतरा
अझसम्म सुनिरह्यौं ।


तेस्रो सहस्राब्दी मासिक, वर्ष १, अंक ३, २०५८ जेठ

अब आफ्नै बाटो रोज्नुपर्छ
उसलाई प्रत्येक रात सपनामा
विषालु सर्पले लखेट्छ
र विपनाहरूमा डस्छ
ऊ शहरमा बस्छे
र जंगलको अनुभूति गर्छे
आफन्तहरूको संवेदना छाम्छे
र ढुंगाको आकृति भेट्छे
ऊ हाम्रै शहरमा बस्छे
यतैकतै वरिपरि बस्छे ।

उसले आज बिहानै समाचार सुनी
जंगबहादुरहरू,
माथवर सिंहहरूको हत्यारा खोज्ने
आयोग बनाइरहेछन्
उसले एकाएक कान थुनी
र भनी
यस्ता अनिष्ट समाचारहरू
मैले जीवनमै भोगेकी छु
र बेसरोकारको भुजेलसँग
मुद्दा लडेकी छु
हामी पनि उसकै अतीतझैं
घरभित्र विशाल रेक्टरको
भुइँचालो पालेर
त्यही समाचार सुनिरह्यौं
ऊसँगै त्यही समाचार
हामी पनि सुनिरह्यौं ।

ऊसँगै हाम्रो पनि
एउटा अत्यासलाग्दो भविष्य
यही बस्तीमा लम्पसार सुतेको छ
त्यो त्यही भविष्य हो
अब उसको छोराले
आफ्नै बाबुको हत्याराको
जन्मदिनमा खुशियाली मनाउँछ
म यस घडीमा यही अनर्थ सोचिरहेछु
अब उसको छोराले
आफ्नै बाबुको हत्याराको
मृत्युमा शोक मनाउँछ
कपाल काट्छ
नून बार्छ
यो कुनै दन्तेकथा होइन
म वर्तमान बोलिरहेछु ।

जब हामी हिंड्ने गरेको सडक
पाइला–पाइलामा भासिन्छ
प्रत्येक दिनहरू हाम्रो विपनाको
गैह्रीखेतमा
बाढी बनेर पस्छन्
के बाँकी रह्यो अब
हारिरहेकी तिमी
हारीरहेका हामीहरू
जित्नेलाई पो हार्नको डर
हार्नेहरूले बारम्बार धावा बोले हुन्छ
हामीले पनि बोले हुन्छ
काँढा टेकेर बाँच्न सिकेका हामीहरू
झीरले जिब्रो छेडेर हाँस्न सिकेका
हामीहरू
अब अर्कै बाटो खोज्नुपर्छ
अब आफ्नै बाटो रोज्नुपर्छ ।



जलजला

विश्वास पहाडमा पनि फुल्दोरहेछ
आस्था शिखरमा पनि झुल्दोरहेछ
मानिसहरू तिमीसँग हातेमालो गरेर
मृत्युसँग सुन्दर खेल खेल्दा रहेछन्
जून र घामसँग खेलेझैं
बादल र कुहिरोसँग लुकेझैं
जलजला । तिमी त पहाड हौ
मेरो देशका हजारौं पहाडहरूमध्ये
साँच्चै फरक पहाड
मैले तिम्रा गीतहरू सुनेको छु
धेरै पटक आकाश खुलेको बेला
क्षितिजमा रक्तिम आभा पोखिएको बेला
कतै जलजला यस्तै होला भनेर
पश्चिमतिर फर्केर हेरेको छु

जलजला काख फराकिलो पार्नुपर्छ
यात्रा अझै लामो छ
जूनसँग अँगालो हालेर
नाच्ने दिन अझै–अझै टाढा छ

यात्रामा भेटिएका
जूनकीरीसँग रमाएर बस्नु हुन्न
विषालु हातहरू वरिपरिबाट
तिमीलाई छाम्दैछन्
तिम्रो छातीभित्र जीवनको खानी छ
तिम्रो हृदयभित्र विश्वासको सगरमाथा छ
जलजला, मलाई अचेलहुँदो
तिम्रो शिखरको उचाइमा चढेर
एकपटक पूर्वतिर हेर्न मन लागेको छ
तिम्रो सुन्दर गीत रच्न मन लागेको छ
कटक्क मन काटिने गरी
तन्नेरीहरू सात समुद्रपारीबाट
बिकलाङ्ग शरीर लिएर फर्किरहेछन्
र हेरिरहेछन् तिम्रो उँचाइलाई
उनीहरूलाई यतै बाँच्न सिकाउनुपर्छ
गल्लावालको पछि
मैनबत्ती झैं पग्लिएर
भविष्यको मृगतृष्णामा
यौवनसँगै जीवनलाई जलाउँदै
पराया देशतिर जुलुसझैं ताँती लाग्दैछन् चेलीहरू
उनीहरूलाई यहीं बाँच्न सिकाउनुपर्छ
जलजला, तिम्रो शिखरलाई चुमेर
मलाई पनि अचेलभरि
राना कान्छाको अनुहार कोर्न मन लागेको छ
बिल्टु थारूको अनुहार फेर्न मन लागेको छ ।

जलजला, तिमी इतिहासलाई बदल्न खोज्ने पहाड
वर्तमानलाई धावा बोलिरहेछौ
मैले पनि बस्तीलाई यतिबेला खण्डहर देखेको छु
तिम्रा चम्किएका आँखाझैं
मैले पनि बस्तीमा आगो सल्केको देखेको छु
तिमी महाभारत हुँदै मेरो बस्तीतिर फैलनुपर्छ
चुरे हुँदै मेरो बस्तीतिर तन्कनुपर्छ
म पनि वर्तमानका विरूद्धमा सर्जमिन बकिरहेछु
म पनि यही खण्डहर बस्तीबाट
एउटा सपना साँचिरहेछु
म पनि यही जलेको बस्तीबाट
सुन्दर भविष्य खोजिरहेछु ।

साहित्य सन्ध्या, वर्ष १, अंक १०, पूर्णाङ्क १०, २०५८ भाद्र


प्रिय मान्छेका गीतहरू

मैले धेरै गीतहरू सुनें
मान्छेहरूका गीत
त्यतिमात्र सुनिनँ,
मान्छेहरूले गाए
मान्छेले मान्छेलाई सिनो बनाएर
खानेहरूको गीत
मैले धेरै गीतहरू सुनें ।

सुनेका गीतहरूमा खोजें
मेरा प्रिय निष्ठाका गीतहरू
तर थोरै भेटें
मेरा प्रिय गीतहरू
अलिकति पानाहरूमा भेटें
प्रिय मान्छेका गीतहरू
धेरै धेरै सोचें
किन लेखिए ?
यति धेरै किताबहरूमा
मान्छे खाने मान्छेका गीतहरू
मलार्इ निष्ठाका गीत गाउन मन लाग्यो
र आक्रोशित भएर गाएँ
आस्थाका गीतहरू
मेरा प्रिय मान्छेका गीतहरू ।

जंगलका गीतहरू भन्दा पनि
किन लेखिए किताबहरूमा
त्यति नराम्रा मान्छेका गीतहरू
ती गीतहरूभन्दा
कति राम्रा छन् खेतबारीका गीतहरू
दानापानीका निम्ति
विवेक स्खलित गर्नेहरूका
टाँगिए तस्वीरहरू
भित्ताहरूमा
चोकहरूमा
म कसरी सहन्छु ?
र मैले गाएँ
असल मान्छेका गीतहरू
प्रिय मान्छेका गीतहरू ।

त्यति धेरै किताबहरूमा
यदि उसले
खराब मान्छेका गीत नगाएको भए
म यो गीत किन गाउँथें ?
तर शहरका चोकहरूमा
बैठकका भित्ताहरूमा
बस्तीका सिरानहरूमा
मान्छे खाने मान्छेका
गीतहरू लेखिए
तस्वीरहरू टाँगिए
अब मैले लेख्नैपर्छ
असल मान्छेका गीतहरू
मैले गाउनैपर्छ
प्रिय मान्छेका गीतहरू ।

जनएकता साप्ताहिक २०५८ माघ २२ गते


नागरिक

ऊ हाम्रै शहरमा बस्छ
यतै वरिपरि बस्छ
तर देश जलाउँछ
र आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो ।

कौसिकी कविता पात्रो – २०५९

भविष्यका लागि

सदियौंदेखि अचानो बनेर
आफन्तहरू पीडा हाँसिरहेछन्,
पुस माघको ठिहीमा
चिसो हिउँले काटिएको मन
भविष्यको पर्खालमा टाँगेका छौ,
सिरक ओढेर छेपाराहरू
सपना बाँडिरहेछन्,
पहिले शान्तिको कुरा गर्छन्
र नभए क्रान्तिका कुरा गर्छन्,
अर्कोतिर आफ्नै आँखा अगाडि
गान्धीको लौरो टेकेर हिटलरहरू
गोप्य बैठक बसिरहेछन्,
हिजो गाउँमा मात्र गनाउने बारूद
शहरमै पस्न थालेको छ,
अब मानिस हराएको खबर आउनु
कुनै अनौठो घटना रहेन
मानिस मारिएको खबर आउनु
कुनै नौलो समाचार रहेन,
मीठो सपना बोकेका
त्रसित अनुहारहरूको
एउटा कोलोनीमा बसेको छु
कोठाभरि प्रश्नको अँध्यारोले छोप्छ
म बाँचेको वर्तमानमा
अँध्यारो छाम्न रात पर्खनै पर्दैन ।

नजिकै जंगलहरू छन्
वसन्तको सुरूआतमै
त्यहाँबाट लासहरूको गन्ध आउँछ,
जंगलबाट गोलीको आवाज आएपछि
हराएका आफन्तहरूको सम्झनामा शोक मनाउँछौं
हामी देखिरहेका छौं
आफन्तका अस्मिताहरू लुटिएका छन्,
चेतनाले हिल्याएको खेतमा
उज्यालो रोपिरहेका कलिला भाइहरू
सदाका लागि निमोठिएका छन्,
यो समयमा
म यस कोलोनीबाट
तिम्रा निम्ति
नारा बाहेक के लेख्न सक्छु ?
के सुनाउन सक्छु ?
सुन्दरताका नाममा
सत्ताको स्वार्थ रोप्ने कविताभित्र
मानिसलार्इ सडक बनाएर
निर्घात अरूले कुल्चँदा
अलिकति पनि दुख्दैन भने
म उसका आँखामा
नारा लेख्न मन पराउँछु ।

रेडियोले बोलेको कुरा
कटारी हुँदै सोलुसम्म
नून खेप्ने भरिया दाइ
फिस्स हाँसेर उडाउँछन्,
अब कसलाई थाहा छैन
अखबार पढ्नु र
एकनास बगरमा टोलाउनु
कुनै अन्तर छैन,
टेलिभिजनले नाटक देखाइरहेछ कि समाचार
बुझ्न समय लाग्दैन,
जंगलबाट बस्तीतिर छिरेका नारासँग
क्रमशः विश्वास टुट्दैछ,
तर पनि सपना कोर्न छाड्नुको कुनै अर्थ छैन,
आन्दोलनको डरले
शववाहनमा सुतेर
सिंहदरबारभित्र पस्ने शासकले
आफ्नो उज्वल भविष्यको पक्षमा
विज्ञापन गरिरहेको बेला,
हाम्रो प्रिय जंगलमा
विदेशी गिद्धहरू आयात गर्ने
प्रस्ताव गरिएको बेला,
हामी प्वाल परेको देशलाई
टाल्ने यो जना बनाइरहेछौं,
जहिलेसम्म रहन्छ रगत शरीरमा
हामी लडिरहन्छौं भविष्यका लागि
कोही जुलुस भएर लड्छौं
कोही नारासँगै लड्छौं
या कविता भएरै लड्छौं
मानौं हामी लड्नै जन्मिएका हौं
हामी भविष्यका लागि लड्छौं ।


नादविन्दु, वर्ष ५, पूर्णाङ्क ५, २०६० असोज

कलिला जूनहरूको श्रद्धाञ्जलीमा

फेरि फूलहरू रोप्नु थियो
भोलि चढाउने श्रद्धाञ्जलीका लागि ।

परार साल बगैंचालाई बढाएँ
र रोपेँ केही अजम्बरी फूलहरू
आमाले माग्नुभएको थियो
केही थुङ्गा फूलहरू मन्दिरमा चढाउन
छानेर राम्रा फूलहरू
असाध्ये दिन मन थियो
तर यसरी सोचेँ
उनीहरू ढल्नु
सगरमाथा ढल्नु हो
मेरो आस्था ढल्नु हो
त्यस वर्ष,
छातीभरि पालेका फूलहरू
कलिला जूनहरूको श्रद्धाञ्जलीमा चढाएँ ।

पोहोर साल
बगैंचालाई फराकिलो पारेँ
र धान रोप्ने खेतमा
राम्रा जातका फूलहरू रोपेँ
छोरीले मागेकी थिई
केही थुङ्गा फक्रेका फूलहरू
चुल्ठोमा लाउन
मैले त्यस वर्ष पनि
एक थुङ्गा फक्रेको फूल
आफ्ना लागि राखिनँ,
कलिला जूनहरूको श्रद्धाञ्जलीमा
मेरो बगैंचा मरूभूमिझैं रित्तियो ।

यसपटक
एकै छिमल हुर्केका
सबै साथीहरू
उज्यालो खेप्नका लागि
लामो यात्रा रोजेछन्
म सोचिरहेको छु
उनीहरूको आस्था स्खलित हुनु
सभ्यता भत्कनु हो

अब कसरी पुग्छ ?
यति थोरै जग्गामा रोपेका फूलहरूले
कलिला जूनहरूका लागि
आगामी वर्षको श्रद्धाञ्जली चढाउन ?

फेरि फूलहरू रोप्नु थियो
भोली चढाउने श्रद्धाञ्जलीका लागि ।

समष्टि, वर्ष २३, अंक ६, २०६० जेठ―असार

उज्यालो हुनुअघि

राष्ट्रलाई बधस्थल बनाउने
सपथ खाएर
मान्छे जस्तै, मान्छेका सिकारीहरू
हिजैमात्र
शहरबाट गाउँतिर हिँडे
मानौं, गाऊँ उनीहरूको शत्रु हो
उज्यालो गाऊँ
उनीहरू देख्नै सक्दैनन्
आमा, हिजै मात्र
शहरबाट केही हुल मानिसहरू
गाउँ मार्न हिँडेका छन्
उज्यालो हुनुअघि
सधैं सधैं सबैतिर
ऋषिसर यस्तै हुन्छ भन्थे
आमा, कुखुराका भालेहरू पाल्नु
अब गाऊँमा चाँडै बिहान बोलाउनुपर्छ ।

गोमन सर्पजस्तै
विषालु मान्छेहरू
उज्यालो मार्न
शहरबाटै गाऊँ पसेका छन्
यसपटक शहरले
गाऊँकै मान्छे किनेर
गाऊँ मार्न पठायो
आमा, मैले इतिहासमा पढेको छु
उज्यालो हुनुभन्दा अघि
सबैतिर सधैं यस्तै हुन्छ
हाम्रा खोलाहरूमा पानी होइन
रगतहरू बग्छन्
फँडिर र ऐंसेलुका झुप्पाहरूमा
मासुका चोक्टाहरू झुण्डन्छन्
आमा, कुखुराका भालेहरू पाल्नु
उज्यालो हुनुअघि
सबैतिर सधैं–सधैं यस्तै हुन्छ ।

उनीहरू गाऊँमा आएपछि
बालुन खेल्नु अपराध हो
सँगीनी गाउनु अपराध हो
वल्लो डाँडा र पल्लो डाँडा
मन खोलेर दोहोरी गाउनु
साँच्चै साँच्चै अपराध हो
शहरमा बस्ने मान्छेका शिकारीहरूले
सत्ताको डबकामा ह्वीस्की ख्वाएर
यो वर्ष गाऊँकै मान्छेहरूलाई
गाऊँ मार्न पठाए
अब प्रतिकारमा गाऊँहरू उठिरहेछन्
युगौंदेखि सुतेका
मगर कान्छाहरू उठे
च्याङ्वा र दिलमायाहरू उठे
उज्यालोको पक्षमा
दृढताको सगरमाथा छातीमा पालेर
गाऊँलेहरूले सर्जिमिन बकिरहेछन्
आमा, उज्यालोलाई स्वागतको तयारीमा
अँध्यारै उठून् भाइहरू
नयाँ मान्छेलार्इ दिने सौगातका लागि
बगैंचामा फूल खोज्न
चाँडै उठून् बहिनीहरू
र उज्यालोको प्रतीक्षामा
गाऊन् सुन्दर गीतहरू
आमा, कुखुराका भालेहरू पाल्नु,
अब गाऊँमा चाँडै बिहान बोलाउनुपर्छ ।

बुधवार साप्ताहिक, वर्ष ८, अंक ३३, २०५९ भदौ
स्वयम्भूका आँखासँग

प्रिय कवि "इच्छुक"
इतिहास भएका ती दिनहरू
तिम्रो हत्याको केही महिनाअघि
हामी एकसाथ बसेर
तिम्रा एकजोडा भूमिगत हातहरूले
अनिँदा सपनाहरू कोरेको यो ठाउँ
स्वयम्भूको त्यही आँखामुनि
म यतिबेला
स्मृतिमा खोजिरहेछु ।

प्रिय कवि "इच्छुक"
जब तिम्रो हत्याको खबर
कुनै वेगवान हुण्डरीझैं
गाउँ र शहर पुग्यो
उज्यालो आकाश खोज्नेहरूका
एकसाथ परेला भिजे,
अभावले थाकेका गाऊँहरू
एकसाथ मसँगै रोए,
तिम्रो हत्याको खबरमा
अखबारहरू बिके,
तिमीले जसको भविष्य
कालीगण्डकीमा शालीग्राम खोजेझैं
मृत्युपर्यन्त खोजिरह्यौ,
हो, त्यसदिन
तिम्रै हत्याको खबरमा
गरिबी आँसुहरू एक गण्डकी बगे
साना नानीहरूले शोकगीतहरू गाए
प्रिय कवि "इच्छुक"
हो, यो सबै तिम्रो हत्याको खबरमा ।

मैले तिम्रो हत्यापछि
एकदिन स्वयम्भूका
धारिला आँखालाई सोधें
पुरानो झोला च्यापेर
दुब्लो शरीर बोक्दै एउटा घाम
हिजो अस्ति जस्तै,
यता घुम्छ कि घुम्दैन ?
मीठो भविष्य बोकेर एउटा जून
अचेल यता आउँछ कि आउँदैन ?
उसको हत्याका डोबहरू
तिमीले कतै देख्यौ कि देखेनौ ?
यो उचाइमा बसेर
मेरो प्रिय कविको लास
तिमीले कतै चिन्यौ कि चिनेनौ ?
भन स्वयम्भुका आँखाहरू ।
मेरो प्रिय कवि मारिँदाको साक्षी
पक्कै तिमी हुन सक्छौ
तिमीले उसलाई कतै देख्यौ कि देखेनौ ?

कलम, वर्ष १०, अंक १, पूर्णाङ्क ३२, २०५९ मंसिर―माघ


बाटाहरू – १

हामी अनिँदो बसेर रातभर
दिनको कुरा गर्थ्यौं
ऊ बन्द ढोकाभित्र बसेर दिनभर
रातको कुरा गर्थ्यो,
हामी भोलीका निम्ति
जूनको कुरा गर्थ्यौं,
ऊ कुनामा बसेर
अँध्यारोको गीत गाउँथ्यो,
उसले बिस्तारै–बिस्तारै
पसिनाको स्विमिङ् पुल
बनाउने कुरा सोच्यो,
अनाथ मानिसको रातो रगतलाई
होलीमा खेल्ने लोलाको
रातो पानीकै मूल्यमा हेर्‍यो
त्यही बिन्दुबाट कोरिए,
उसका र हाम्रा अलग–अलग नक्साहरू
जीवनका नयाँ बाटाहरू ।

हामीले दुखिया थारूको सपना कोर्र्यौं
र उसको भोको पेट अघाउने
योजना कोर्र्यौं
काजीबाको बिपना कोर्र्यौं
र उनको अजीर्ण पेटबाट
अलिकति घटायौं
र उतातिर जोड्यौं
ऊ हामीसँग झस्कियो,
सडकमा सपना हुर्काइरहेका
बच्चाहरूको भविष्य देखेर
चिन्ता लेख्यौं,
ऊ हामीसँग तर्सियो,
त्यही बिन्दुबाट कोरिन थाले
हाम्रा लागि नयाँ बाटाहरू
नयाँ योजनाहरू
हामीले उसका विरूद्धमा
यसरी कोर्र्यौं
हामीले किरिङमिरिङ
जीवनका नयाँ नक्साहरू
अलग–अलग बाटाहरू ।

कविता पूर्णाङ्क ७९, २०५९ पुष―चैत्र

बाटाहरू – २

पिचासहरू हेडलाइट बालेर
अगाडितिर बाटो देखाइरहेछन्
र आफ्नो बाटो छोडेर छेपाराहरू
सल्लाको मुढामा घाम ताप्दै
स्वीकृतिको टाउको हल्लाइरहेछन्
मलाई घिन लाग्छ उनीहरूको बाटो
त्यही बाटोको भ्रममा
हाम्रा सपनाहरू लुटिए
हामी लुटिएको सपनाको
मलामी हिँडिरहेछौं
मैले देखिरहेको छु–
हाम्रो अघिल्तिर
शिकार ढुक्दै गरेको कालो नाग
टाउको घुमाइरहेछ
र कुबाटोमा हिँड्नेहरूको सुरक्षार्थ
हिसाबकिताब मिलाइरहेछ,
कालो नागलाई थाहा छ,
बच्चालाई हालिदिएको टिफिन चोरेर खानेहरू
ठूलो बाटो हिँड्दैनन्
र सिंहासनमा बस्न आउनेहरू
यो बाटो हिँड्दैनन्
र जानेहरू पनि हत्याकाण्ड मच्चाएर
कुबाटोबाटै जान्छन्
महलको टुप्पाबाट गिद्धहरू
प्वाँखको दूरबीन लगाइरहेछन्
र हामी हिँडेको बाटोलाई हेर्दै
जोड–घटाउ मिलाइरहेछन्,
जब कुबाटोमा लेउ लाग्छ
उनीहरू एकसाथ हाम्रो बाटोमा झम्टन्छन्
र क्रुर युद्ध लड्छन्,
हामीले तयार हुनुपर्छ त्यो युद्धको लागि
हामीले जोगाउनुपर्छ
आफू हिँड्ने बाटोलाई
हाम्रो प्रिय बाटोलाई ।

बाटाहरू – ३
सेता लुगा लगाएर स्यालहरू
पशुपालन गर्ने योजनाको
प्रस्ताव पेश गरिरहेछन्
रूखको कापमा बसेर उल्लुहरू
पान चपाउँदै,
देश बनाउने सपना बाँडिरहेका छन्
भीड ताली पिटिरहेको छ
त्यो क्रूर यथार्थलाई
म नेपथ्यबाट हेर्छु
र छाम्छु आफू वरिपरि
नजिकै केही हातपर
गोली लागेर ढलेको
वीर युवकको छातीमाथि टेकेर
उभिएको एउटा नायक
कन्चटमा बन्दुक ताकेर
भोलिको सत्ता मागिरहेछ
मूल बाटोको किनारमा छन्
मैले खोजेका सारथीहरू
म जोड–जोडले चिच्याउँछु
र निमन्त्रणा गर्छु
तर किन ?
किनारमा बसिरहेछन् उनीहरू
मैले खोजेका सारथीहरू
जो यो बाटो हिँड्न योग्य छन्
तर किनारमा उभिइरहेछन् ।

किनारमा उभिएर
उनीहरूले मेरा अगाडि एउटा बाटो देखाए
र भने–
यो बाटो कस्तो छ ?
उनीहरूले बाटोको प्रशंसा गरेनन्
चुनावी नेताहरूले जस्तो
विज्ञापनहीन एउटा सुन्दर बाटो
मेरो अघिल्तिर थियो
जसलाई म खोजिरहेको थिएँ वर्षौंदेखि
हामीले किनार सफा गर्र्यौं
त्यही बाटोमा हामीले
सृष्टिको नौलो कथा भन्यौं
विधवा आकाश ओढेर
कैयौं रात सुन्दर भविष्य रच्यौं
आस्थाका कुराहरू गर्‍यौं
अजम्बरी धातुले बनेको बाटो
मैले कल्पना गरेभन्दा बाहिर
मैले भेट्टाएँ एउटा सुन्दर बाटो
त्यही थियो मेरो प्रिय बाटो ।

अक्षलोक, पूर्णाङ्क २३, २०६० वैशाख

यात्राको एउटा दृश्य

हिजै मात्र
हामीलाई बाटो देखाएर
सिंहदरबार पसेपछि
एउटा यात्रामा थाकेर
भर्खरै मात्र उनीहरू
टुकुचाको पानी पिउँदै–पिउँदै
दरबारमार्गको बाटो
उत्तरतिर लागेपछि
उनीहरूकै कारणले
इतिहासमा फेरि एकपटक
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

बितेका केही वर्ष
गद्दारीको बाली
राम्रैसित फल्यो
बाली भित्र्याउनेहरू
दरबारतिर खेताला भित्र्याइरहेछन्
जनताको आँसुमा सर्वत घोल्दै
मान्छेको जिब्रो र गिदीलाई परिकार बनाएर
उनीहरू भोज लगाइरहेछन्
कमलपित्तको रोगीझैं पहेंलिएर
हिजोका मेरा सहयात्रीहरू
त्यही भोजमा सामेल हुँदै
मुर्दा हाँसो हाँसिरहेछन्
बितेको वर्ष,
गद्दारीको बाली राम्रैसित फल्यो
उनीहरूले भर्खरै मात्र
हाम्रो विवेकलाई धरौटी राखेर
कालो स्वार्थको भर्र्याङ् चढेपछि
हाम्रो विश्वासको छातीमा
तिखो छुरी रोपेपछि
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

मलाई अचेलभरी
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन
आफ्नो टाउको
पैसामा साट्न पसल थापिरहेका
हिजोका नातेदारहरू
भेटिन्छन् बाटामा
मर्न लागेकासँग
अलिकति बोल्न
अलिकति हाँस्न
कति गाह्रो छ,
मलार्इ अचेलभरि
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन,
हाम्रो मीठो सपनालाई
बलात्कार गरेर
भर्खरै मात्र
कमलपित्तका रोगीहरू
दरबारमार्गको बाटो
उत्तरतिर लागेका छन्
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

संस्कृति, अंक ५, २०६० असोज

एउटा पुजारीको आत्मव्यथा

म प्रत्येक बिहान
शहीदलाई पूजा गर्न शहीदगेट जान्छु
तर शहीदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
शहीदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ
म शहीदगेटको एउटा पीडित पुजारी ।

भविष्यका निम्ति मर्नेहरूको सम्मानमा
वनफूल बोकेर
सैलुङ लेकको नागी चढ्न तयार छु
तर घृणा लाग्ने इतिहासलाई
म मालाले सजाउन चाहन्नँ
अब शहीदको पूजा गर्न
शहीदगेट नआए पनि हुन्छ
अब हाम्रै गाउँका नागीहरूमा
शहीदगेट बनाए हुन्छ
फेरि मैले सपना देखिरहेको छु
शहीदहरूको टाउको माथि
फेरि कुनै रात
इदी अमिनहरू
सिंहासन बनाउने योजना कोरिरहेका छन्
म शहीदगेटको एउटा पीडित पुजारी ।

अझै घोडा चढेर
आक्रोशित मुद्रामा
शहिदगेटका सालिकहरूलाई
जंगबहादुरहरू
नेपथ्यबाट घुरिरहेछन्
प्रत्येक रात टुँडिखेलमा
मेरो आस्था कुल्चने योजनाको
बैठक चल्छ
बैठकको एउटा दृश्यमा
नरशमशेरले औंला ठड्याएको
मैले धेरैपटक देखेको छु
अब मैले बनाउनुपर्छ
हतियार बोकेर उभिएको
शहीदको नयाँ शालिक
र, राख्नुपर्छ
धरहराको उचाइमा
या आफ्नै गाउँका नागीहरूमा
म शहीदगेटको एउटा पीडित पुजारी ।


सपना
अपराधीहरू
जेलको पर्खाल बाहिर
बेरोकटोक घुमिरहेछन्
र शहरका चोकहरूमा
दुष्टकथा
हामीलाई स–गर्व सुनाइरहेछन्,
भ्रष्टाचारको आरोपमा
जागिर खुस्किएको भलाद्मी
गरिबी निवारणको कार्यक्रम
मेरै सामु फलाक्छ
धेरै समय भइसक्यो
म उनीहरू सँगसँगै छु ।

अन्धाहरू अघि लागेर
बाटो देखाउने दुःस्वप्न बाँडिरहेछन्,
ड्राइभरहरू,
गन्तव्यमा पुग्ने विश्वास नपालेरै
यात्रुहरू बोलाइरहेछन्
पहेंलो वस्त्रभित्र लुकाइएका छन्
स्वार्थका छुरीहरू
सगरमाथाको यात्रामा
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।

आन्दोलनको नाममा
घाम तापेर समय काट्ने
क्रान्तिकारीहरू
पार्टी अफिसको छतमा बसेर
भोलिको भविष्य सुँघिरहेछन्,
मन्दिरको यात्रामा पाइतो सरेर
एक राते मेला धाइरहेछन्
आस्थाको झोला बोकेका केही पाखण्डीहरू
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।

मसँग एउटा सपना छ–
यी सबैसँग बाटोमा
भोलिदेखि
सँगसँगै हिँड्न नपरे हुन्थ्यो

यी सबै सबैसँग
त्यही यात्रामा सँगै हिँड्ने
केही निर्दोष अनुहारहरू छन्
भोलिको यात्रामा
म जस्तै, उनीहरू पनि खोजिरहेछन्
झर्झराउँदा आँखा भएका मान्छेहरू
निर्दोष अनुहारको सम्झनामा
हो, म अचेल
धेरै धेरै रात रोएको छु
म उनीहरूसँग पनि सँगसँगै छु
अब मात्र एउटै सपना छ ।

Ο

यात्राको एउटा दृश्य




(कवितासङ्ग्रह)





मातृका पोखरेल









विवेक सिर्जनशील प्रकाशन प्रा.लि.

कृति ः यात्राको एउटा दृश्य
विधा ः कवितासङ्ग्रह
लेखक ः मातृका पोखरेल
प्रकाशक ः विवेक सिर्जनाशील प्रकाशन प्रा.लि.
अनामनगर, काठमाडौँ, फोन ४७७१७०४
प्रकाशित प्रति - एघार सय
प्रकाशन - पुस, २०६०
आवरण - के.के. कर्माचार्य
कम्प्युटर - प्रारम्भ कम्प्युटर सेवा
डिल्लिबजार, काठमाडौँ, फोन ४४२१६५७
मुद्रण:- कान्तिपुर अफसेट प्रिर्न्र्टस अनामनगर, काठमाडौँ ।
साधारण मूल्य रु-३०/-
संस्थागत मूल्य रु- १५०/-













यात्रा, आस्था र केही आभारहरू

मैले एउटा यात्रा रोजेको छु । आफैले रोजेको यात्रामा विस्तारो हिँड्ने यात्री भए पनि त्यो यात्राप्रति म कहिलेकाहीँ गौरवले अगाध प्रफुल्लित र रोमाञ्चित हुन्छु । यी कविताभित्रका धेरै गल्छेँडाहरूमा मैले त्यही यात्राको गीत गाएको छु ।
आफन्तका मनहरू विखण्डित छन् । सबैले आस्था भत्किएको कुरा गरिरहेका छन् । निश्चय नै डेढ दशकभित्रको कालखण्डमा धेरै आस्था पुरुषहरूले आफैले बनाएको उचाइलाई आफैले होच्याए । हिजैदेखि देख्न थालेका उज्याला सपनाहरू झन टाढाटाढा भइरहेका छन् । यी केही यथार्थहरू हुन् र अलि बढी हल्लाहरू पनि हुन् । तर यी कारणहरूले मैले मेरो आस्था भत्काउनुपर्ने कुनै कारण देखिन, मात्र ठेस ठानेको छु । ठाउँ ठाउँमा यी पीडाहरू अभिव्यक्त भए पनि यसले नकारात्मक शिक्षा नदेओस् भन्ने कुराप्रति सचेत हुनु आफ्नो कर्तव्य ठानेको छु । यही बीचमा छातीभित्र आस्थाका नयाँ पर्वतहरू पनि रोपिएका छन्, यसभित्र कतैकतै प्रशंसाहरू पनि गाएको छु ।
कथित कलाका नाममा कविताहरूलाई अस्वाभाविक रङ्ग दलेर अमुर्त र रहस्यमय बनाउन त्यति उचित लागेन ।
म यहाँ धेरै कुराहरू बोल्न चाहन्न । कविताहरूले नै धेरै कुरा बोलिदिए हुन्थ्यो भन्ने इच्छा पाल्नु अर्घेलाई हुनेछैन जस्तो लाग्छ ।
कविताहरू पढेर मन्तव्य लेखिदिने अग्रज साहित्यकारहरू यज्ञनिधि दाहाल र डा. ताराकान्त पाण्डेयज्यूप्रति कृतज्ञतापूर्वक आभार व्यक्त गर्दछु । साहित्यसिर्जनामा लागिरहन निरन्तर प्रेरणा दिने मेरी जीवनसंगिनी अन्जुलाई नसम्झनु साँच्चै अन्याय हुनेछ । प्रकाशनको महत्वपूर्ण जिम्मा उठाइदिने विवेक सिर्जनशील प्रकाशन, यो कार्यमा विविध सहयोग पुर्‍याइदिनु हुने मित्रहरू भगवति प्रर्साई, पुण्य घिमिरे, सुरेन्द्र चालिसे र सिर्जनाका लागि समय जुटाइदिने बहिनी विमला लाई पनि मैले भुल्नु हुँदैन ।


मातृका पोखरेल






कविताक्रम
१. फरक आँखाका यात्रीहरू
२. दुश्मनहरू सुरक्षित रहेको बेला
३. अँध्यारोका विरूद्धमा
४. यसपटक दशैंमा
५. उसले पनि हाम्रै जस्तो कुरा गर्छ
६. दुख्ने मनहरूसँग
७. म तिम्रा कविताको विरूद्धमा लेख्छु
८. सर्प पूजा
९. अब आफ्नै बाटो रोज्नुपर्छ
१०. जलजला
११. प्रिय मान्छेका गीतहरू
१२. नागरिक
१३. भविष्यका लागि
१४. कलिला जूनहरूको श्रद्धान्जलीमा
१५. उज्यालो हुनुअघि
१६. स्वयम्भूका आँखासँग
१७. बाटाहरू – १
१८. बाटाहरू – २
१९. बाटाहरू – ३
२०. यात्राको एउटा दृश्य
२१. एउटा पुजारीको आत्मव्यथा
२२. सपना




फरक आँखाका यात्रीहरू
उनीहरूले मर्स्याङ्दीको छाल हेरे
वरिपरिको हरियाली हेरे
आपसमा सल्लाह गरे
यिनै चिजको कविता कोरौं
तर मैले भनें,
मर्स्याङ्दीको छालमा
शोभाकान्तको रगत भेटें
वरिपरिको हरियालीमा
आस्थाको बगैंचा भेटें ।

उनीहरूले मर्स्याङ्दीको छातीमा उभिएको
पहराको कुरा गरे
मैले त्यो पहरामा
शोभाकान्तको विश्वास खोजें
उनीहरूले मर्स्याङ्दीको प्रवाहमा दौडेको
निर्मल पानीको कुरा गरे
मैले त्यो पानीमा
शोभाकान्तको निर्मल मन खोजें
हामी फरक आँखाका यात्रीहरू
मर्स्याङ्दीको किनारतिर
उनीहरू त्यस्तै त्यस्तै कुरा देख्छन्
म बेग्लै बेग्ले कुराहरू भेट्छु
उनीहरू पहेंला आँखाले हेरिरहेछन्
म नीला आँखाले देखिरहेछु
हामी मर्स्याङ्दी किनारका यात्रीहरू ।

उनीहरूले मर्स्याङ्दीको भित्ताबाट
ठोकिँदै तल झरेका
सेता झर्नाका कुराहरू गरे
मैले त्यो झर्नामा
शोभाकान्तका ढुकढुकीहरू भेटें
उनीहरूले हरिया खेतहरूको कुरा गरे
मैले खेतका आलीतिर
शोभाकान्तका पाइतालाका डोबहरू खोजें
र प्रत्येक झुप्राहरूमा खोजें
उसको दुब्लो शरीरको अस्तित्व ।
साथीहरू । अन्यथा नठान्दा हुन्छ
म यो मौसममा/यो ठाउँमा
हरियालीका कविता लेख्न सक्दिनँ
सेता झर्नाका कविता लेख्न सक्दिनँ
हामी मर्स्याङ्दी किनारका यात्रीहरू
हामी फरक आँखाका यात्रीहरू ।

विद्युत्तरङ्ग, वर्ष ५, अंक ५, २०५८ भदौ













दुश्मनहरू सुरक्षित रहेको बेला

मलाई थाहा छ–
तिमी जुलुससँग डराउँछौ
नारा र हडतालसँग पनि डराउँछौ
अचेलभरि माओवादीहरूसँग झन् धेरै डराउँछौ
तर जब प्रवीण गुरूङको हत्यारा
तिमी राम्रोसँग चिन्छौ
र डराइ–डराइकन
गोप्य र तथ्य सूचना दिन्छौ
अनि यो देशको सरकार
सूचना दिने मान्छे सोध्छ
र तिमीलाई खोज्छ
जब तिमी हत्यारा चिनेबापत
अपराधी ठहरिन्छौ
भन माइला । नढाँटी भन
त्यतिबेला तिमीलाई
माओवादी र सरकारमध्ये
माओवादीनै आफ्नो जस्तो लाग्छ ।

एउटै घरबाट उही समस्यामा
भाइ साइँलो माओवादी भएर जंगल पस्छ
तिमी मकै र सातु बोकेर शहर पस्छौ
र खान्छौ पुलिसको जागिर
तिमी साहिंलालाई गोली ताक्छौ
साइँलो तिमीलाई निशाना दाग्छ ।
अचेलभरी रोल्पा र रूकुमतिर
तिमीहरू जस्तैलाई पठाइन्छ
माइला! नढाँटी भनेको
तिमी आफ्नै भाइहरूलाई हानिरहेका छौ
तिमी आफ्नै आफ्नैलाई मारिरहेछौ ।

तिम्रा दुवै आमाका
शोक मनाउने आँखाहरू
मैले उस्तै रंगका देखें
तिमीहरूको सम्झनामा
आँशुका ढिक्काहरू
चाउरी परेका गालाका
उस्तै गराहरू हुँदै खस्दा रहेछन्
तिम्रा घरका दलानहरू उस्तै रहेछन्
उस्तै चुहिने छानाहरू छन्
बाबुका गालाहरू
उस्तै ख्याउटे र चाउरी परेछन्
कहाँ पाउनु अट्टालीका माथि बसेर
तिमीहरूको मृत्युमा शोक मनाउन
तिमीहरूको मृत्युको खबर पुगेकै दिन
मकैको बीउसँगै बारीमा आँशु रोप्दा रहेछन्
खेतमा आँशुमै हिलो मुछ्दा रहेछन्
बहिनीहरूले उसैगरी
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलाई लुकाउनुपर्छ
साइँला! तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेछन्
साइँला! सुरक्षित बाँचिरहेछन् ।


सहयात्री, वर्ष २, अंक २, पूर्णाङ्क ३, २०५७ असोज

अँध्यारोका विरूद्धमा

अँध्यारोले मलाई लखेट्दै आयो
म भाग्दै गएँ
अझै दौडँदै गएँ
झनै ठूलो विश्वास बोकेर
ऊ मलार्इ झम्टँदै आयो
मेरो भोगाइकै समदूरीमा
बन्दुक, तरबार र बमगोला
सबै सबै चीज बोकेर
ऊ मलाई लखेट्दै आयो ।

जब म दौडँदै थिएँ अँध्यारोमा
नदेखेर गोरेटो
भीर, पहरा र कन्दरामा
कतैतिर एउटा मैनबत्ती पाएँ
र, मैले त्यो बालें
अँध्यारो मसँग झस्क्यो
ऊ मसँग तर्क्यो
मैले त्यही दिनदेखि थाहा पाएँ
अँध्यारो बत्तीहरूसँग डराउँदोरहेछ
ऊ उज्यालोसँग भाग्दोरहेछ ।

त्यसपछि म अँध्यारोसँग भाग्न छोडें
मैले वरिपरि बत्तीहरू खोजें
थुप्रै–थुप्रै प्रकारका बत्तीहरू
अँध्यारोका विरूद्धमा
जब म ठिङ्ग उभिएँ
उसले मलाई खेद्न सकेन
बत्ती बोकेर जब मैले
लखेटिएको स्वाभिमान खोज्न
एउटा सानो गोरेटो पहिल्याएँ
ऊ मसँग तर्कँदै गयो
यो खबर मैले सबैलाई सुनाएँ
हो । त्यही दिनदेखि
मेरा आफन्तहरूसँग साथ लागेर
बत्ती बोकेर त्यही गोरेटोबाट
म उज्यालोको खोजीमा हिंडें ।

अंशु, साहित्यिक त्रैमासिक, वर्ष १, अंक १, २०५७ असोज


यसपटक दशैंमा

यसपटक दशैंमा घर जाँदा
मैले ढाक्रेहरूको अनुहारमा देश देखें
उनीहरूको जीवनमै देश भेटें,
सत्य हो, नढाँटी भनेको
उनीहरूको सानो ढाकरमैं देश देखें ।

बाटामा ढाक्रे दाइहरूले सोधे
भाइ, देश कस्तो छ ?
मैले उनीहरूकै ढाकरपछि झुण्डेको
केही पकाउँदा कमेरो माटोले टाल्नुपर्ने,
सिलिबरे भाँडो देखाउँदै भनें
दाइ, देश तपाइँकै भाँडोजस्तो छ
उनीहरूले निधार खुम्च्याएर भने
भाइ, देश त टिठलाग्दो पो रहेछ ।

उनीहरूले ढिंडो ओडाल्दै गर्दा
मजुवा बिसौनीमा सोधे
भाइ, देशको रूप कस्तो छ ?
मैले टारी खेततिर देखाउँदै भनें
ऊ त्यही सिमाना सर्दै–सर्दै आएको,
पल्ला गाउँको जिम्वालले मिचेको
सत्ते होला दाइ!
देश तपाइँकै गैह्री खेतजस्तो छ
उनीहरूले निधार खुम्च्याएर भने
भाइ! देश त दुःखलाग्दो पो रहेछ ।

साहुको घरनेर पुगेर
ढाक्रे दाइहरूले भारीलाई टेको दिँदै सोधे
भाइ! देशले पनि ऋण खान्छ ?
मैले व्यथा सुनाएँ
दाइ, देशले खाएको ऋणले
हाम्रो घर–दलान नै बन्दकी छ रे
हाम्रो घर–दलान मात्र होइन
तारेभिर पनि डुब्छ रे ।
ढाक्रे दाइहरू रिसले तातेर भने
भाइ! देश त पोल्दो पो रहेछ ।

मैले उनीहरूको अनुहारमा हेरें
चिउँडोबाट दुखिरहेको देश
तप्प–तप्प बगिरहेको थियो
उनीहरूले मलाई हेरिरहेका थिए
म उनीहरूलाई हेरिरहेको थिएँ
यसपटक दशैंमा घर जाँदा ।

मूल्यबोध, वर्ष २, अंक १, २०६१ कार्त्तिक



उसले पनि हाम्रैजस्तो कुरा गर्छ

हिजो उसले बोकेको रातो किताबले
बस्तीहरू ब्यूँझिएर उठे,
उसले बोकेको रातो झण्डाले
बस्तीहरू जोशिएर उठे,
हो, हिजो उसको योजना
कति सुन्दर थियो
सुन्दर रक्तिमलाई छुन
जब उसले
बाटो तय गरेको नक्सा कोर्थ्यो
साँच्चै सुखद थियो भविष्य
उसको योजनाले
मानिसहरू अघि बढे
बस्तीले मोर्चा कस्यो
चुरे, महाभारत र सगरमाथाले झुकेर सलाम गरे ।

आज ऊ त्यस्तो छैन
फरक–फरक कुराहरू गर्छ
कसलाई के भन्दा हुन्छ
ऊ त्यस्तै–त्यस्तै कुराहरू गर्छ
कहिले मीठा कुराहरू गर्छ
कहिले नमीठा कुरा पनि गर्छ
बस्तीलाई आतंकित बनाउँदै
रातो किताब बोकेरै
कहिले कालो ओडारभित्र पस्छ
र त्यहाँ बुझिने–बुझिने कुरा गर्छ
कहिले मसँग आएर
नबुझिने–नबुझिने कुराहरू गर्छ ।
रातो किताब बोकेर कहिले ऊ
कालो ओडारको पक्षमा बोल्छ
कालो ओडारसँग कुरा नमिले
कहिले क्रान्तिका कुरा पनि गर्छ
कहिले विद्रोहकै भाषा बोल्छ
कहिले हाम्रैजस्तो कुरा गर्छ
कालो ओडारभित्र
लेन–देनमा तलमाथि परे
जंगल पस्ने कुरा गर्छ
कहिलेकाहीं बस्तीलार्इ
असल कुरा गरेको हो कि भन्ने
राम्रै खालको भ्रम पार्छ
जे–जति कुराहरू गर्छ
रातो किताब बोकेरै गर्छ
रातो झण्डा ओढेरै गर्छ ।

अचेल ऊ
रातो किताब बोकेरै
मान्छे किन्ने कुरा गर्छ
हाम्रो साझा सम्पत्ति
अर्कैलार्इ दिने कुरा गर्छ
अचेलभरि ऊ
बस्ती–बस्तीहरूमा
रातो किताबको पानाका प्रत्येक चेपभित्र
लालपूर्जा बोकेर हिँड्छ
रक्तिम क्षितिजलाई छुने
सुन्दर योजनाको नक्सा बेचेर
घरको तला थप्छ
रातो किताबमा कदापि त्यस्तो थिएन
साह्रै अन्यथा भयो
बस्ती भ्रमले सुस्ताएको छ
म क्रोधले थकित छु
म उसको भूमिकाले
नयाँ–नयाँ अनिष्टताहरू सोचिरहेछु
ऊ मेरो हिजोको सहयात्री
मेरो प्यारो मित्र
उसले रातो किताब बोकेकै भए पनि
रातो झण्डा ओढेकै भए पनि
ऊ फरक मान्छे हुँदै गयो
ऊ बेग्लै जातमा फेरिँदै गयो
अचेल मैले उसैका विरूद्धमा
नयाँ–नयाँ मान्छेहरूसँग
नयाँ मोर्चा कस्नुपर्ने भयो
नयाँ योजना कोर्नुपर्ने भयो ।

साहित्यसन्ध्या, वर्ष १, अंक ३, २०५७ माघ

दुख्ने मनहरूसँग

मन ठाउँ–ठाउँमा दुख्छ
घुम्ती–घुम्तीमा दुख्छ
कुनै चाडपर्वको बेला
गरिबको आँगनमा दुख्छ
कहिले अभावको अँगेनामा दुख्छ
बहिनीहरूको घाँघरमा पनि दुख्छ
भाइहरूको कमेजमा पनि दुख्छ
के गर्ने यो मन यस्तै छ
प्रत्येक पाइला–पाइलामा दुख्छ ।

कहिले जागिर खोजेर लखतरान भएको
भोलिको एउटा कर्णधारले
प्रत्येक छाकको गाँस काटेर किनेको
‘गोरखापत्र’ र ‘कान्तिपुर’का पानाको
‘आवश्यकता’का विज्ञापनहरू कटिङ गर्दै
सुरक्षित फायल गरेर
मलिन हाँसो हाँस्दा
सत्य होला, नढाँटी भनेको
यो मन त हुरूक्कै हुने गरी दुख्छ ।

दुख्ने कुराको वयान
वर्तमानमा जति गरे पनि हुन्छ
दुख्न त कति हो कति
धेरै–धेरै दुखेको बेलाको कुरा गरौं
त्यस्तै त्यस्तै एकदिन
आफ्नो छोरीको विवाह गर्न
आँखनमा बसेर दाइजोको हिसाब गर्दै
रून्चे अनुहार लगाउने
छोरीको बाबुको अनुहार देख्दा
यो मन दुख्नसम्म दुख्यो
निन्द्रै नलाग्ने गरी दुख्यो
यो मन साह्रै–साह्रै दुख्यो ।

यसै यसै गरी
परार साल मन
टनकपुर भएर दुख्यो
त्यो वर्ष मन कालीतिरै दुखिरह्यो
अर्को वर्ष मेचीमा दुख्यो
र मन हिल्याएको खेत
रोपाइँ नगरी फर्क्यो
र, त्यो दुखाइ नसुस्ताउँदै
अस्ति मन फेरि लक्ष्मणपुर बनेर दुख्यो ।

अचेलभरि मन,
अन्धकारबाट मुक्ति खोज्ने
खारातिरका कोपिलाहरूलार्इ
निस्तब्ध रातमा हत्या गरेर
सामूहिक चिहान बनाएको खबरले
हुरूक्कै हुने गरी दुख्छ
कहिले मन
देवी खड्काको बाबुसँगै दुख्छ
च्याङ्वा लामाको परिवार भएरै दुख्छ
शिव खड्काकी आमा बनेरै दुख्छ
कहिलेकाहीं यस्तो लाग्छ
नेपाल घाउ नै घाउको देश हो
म घाउ नै घाउ भएको देशको नागरिक हुँ ।

मलाई त दुख्यो दुख्यो
यी सबै सबै देखेर पनि
दुख्दै नदुख्ने मन देखेर
साँच्चै यो मन साह्रै साहै दुख्छ
अचेलभरि नदुख्ने मनहरूसँग
साइनो तोडौंतोडौं जस्तो लाग्छ
मेरो मन त साह्रै साह्रै दुख्छ
तिमीलाई मेरै जसरी दुख्छ कि दुख्दैन ?
दुख्छ भने आऊ
हामी एउटा राम्रो सल्लाह गरौं
एउटा राम्रो काम गरौं ।

झिसमिसे, वर्ष २३, पूर्णाङ्क ३६, वैशाख/जेठ/असार, २०५८


म तिम्रा कविताको विरूद्धमा लेख्छु

एक गाँस पाउने आशामा
एउटा निर्वस्त्र नाङ्गो मान्छेलाई
सभ्य मान्छे भन्दै तिमी जब कविता लेख्छौ
अलिकति दान पाउने लोभमा
जब तिमै पैसावालहरूको अर्चना गाउँछौ
मैले कविताको मूल्य राखन
तिम्रा कविताकै विरूद्धमा
कविता लेख्नैपर्छ
तिम्रो नियतकै विरूद्धमा
कविता लेख्नैपर्छ
तिमी पसिनाका थोपाहरूमा कुँदिएका कविता
जसरी मन पराउँदैनौ
म पनि सिंगमरमरको भर्‍याङ चढ्दै
कुनै सजाइएको बैठकमा
मेरा प्रिय पसिनाका थोपाहरू
कुल्चने योजनामा सरिक कविता
त्यसैगरी घृणा गर्छु
म तिम्रा कविताको मृत्यु घोषणा गर्छु
म तिम्रा कविताकै विरूद्धमा लेख्छु ।

मैले पढिराखेको छु
पल्टु थारूले दिएको
गुन्द्री र मान्द्रो ओछ्याएर
जब तिम्रा रातहरू बित्थे
कति सुन्दर थिए कविता
मैते कामीले दिएको
भुटेको मकै खाएर
जब तिमी भोक मार्थ्यौ
त्यसपछि लेखेको कविता
नेपालको आफ्नै कविता हुन्थ्यो
तिमी नेपाल फेर्ने कविता लेख्थ्यौ
कति सुन्दर थियो कविता
हिजोआज तिमी त्यही कवि
पजेरो चढेर शहर घुम्छौ
जनताका झुप्रामा रमाउने तिमी
बैंककबाट सिंगमरमर झिकाउँछौ
र दरबार बनाउँछौ ।

अचेल जनता तिम्रा कविता बुझ्दैनन्
तिमी दरबारकै जस्तो कविता लेख्छौ
या जनताले नबुझ्ने कविता लेख्छौ
हरेक वस्तुका दुई कित्ताहरूझैं
अचेल तिमी एउटा कित्ताको पक्षमा लेख्छौ
म अर्कै कित्ताको पक्षमा बोल्छु
तिमी नौनीझैं नरम हातहरूको पक्षमा लेख्छौ
म ठेला उठेका हातहरूको पक्षमा बोल्छु
हामी फरक बाटोका यात्रीहरू
तिमी मेरो कविताका विरूद्धमा लेख्छौ
म तिम्रा कविताकै विरूद्धमा लेख्छु ।

म यतिबेला
पल्टु थारूको छानो चुहिएको बेला
शासकहरू बस्तीभित्र पसेर
देवी खड्कालाई बलात्कार गरिरहेको बेला
दरबारको अट्टालिकामा घुम्ने
कुनै राजकुमारीका यौनका व्यथाहरू
म कसरी लेख्न सक्छु ?
म मैते कामीको अँगेना नबलेको बेला
आफन्तहरूको दलान उजाडिएको बेला
कसरी लेख्न सक्छु काजीसाहेबको खुशी
नेपालीहरूको आँगन टुक्रिएको बेला
मेची, महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा ?
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतका लागि लेख्छु
म तिम्रै कविताका विरूद्धमा लेख्छु ।


नव कविता, पूर्णाङ्क ५२, शारदीय अंक, २०५८

सर्प पूजा

उसले चेतनाका टाउकाहरूमा
संगीन तेर्स्याउँदै भन्यो
‘प्रजातन्त्र’ जिन्दावाद
बारूदको धुँवा छरेर
शान्तिक्षेत्रको प्रस्ताव राख्यो
र भन्यो
‘शान्ति’ जिन्दावाद
भोका पेट र नाङ्गा आङहरूलाई
गोमन सर्पले झैं डस्दै भन्यो
‘धैर्य’ जिन्दावाद
र आफू नाग भएको घोषणा गर्र्यो
सदियौंदेखि यी बस्तीहरूमा
आफ्नो पूजा गराइरह्यो
प्रजातन्त्र, शान्ति र धैर्यको नाममै
उसका आँखामा गडेकाहरूलाई
एकाएक गरेर डस्यो रगत रहुञ्जेल
रगत सकिएपछिका अस्थिपञ्जरहरू
केहीलाई सेतीका किनारतिर फाल्यो
या कतै भीमान जंगलतिर
या सुखानीतिर
र कैयौं नदेखेका ठाउँहरूमा
तर आफूलाई
नाग भनेर पूजा गराइरह्यो ।

परिवर्तनको गतिलाई लत्याउँदै
हामीले पनि पूजा गरिरह्यौं
यसपटक ऊ हुनसम्म नाङ्गो भयो
सबैले देख्ने गरी नाङ्गियो
र हतार–हतार
डरै डरमा
सदाझैं फेरी हामीलाई भ्रममा राख्ने
नागको आकृतिको उही टोपी भिर्‍यो र झूठा हाँसो हाँस्यो
हामीतिर फर्केर
फेरि प्रजातन्त्रकै कुरा गर्‍यो
ऊ यतिबेला नाटकमा सामेल थियो
हामी सबैले ऊ सर्प भएको ठहर गर्र्यौं
र धेरैतिर खासखुस–खासखुस गर्र्यौं

तर यसपटक पनि
उही खतरा बाँकी नै रह्यो
लाचार हामी सुनिरह्यौं
कहिलेसम्म सुन्छौं ?
तर उही खतरा
अझसम्म सुनिरह्यौं ।


तेस्रो सहस्राब्दी मासिक, वर्ष १, अंक ३, २०५८ जेठ

अब आफ्नै बाटो रोज्नुपर्छ
उसलाई प्रत्येक रात सपनामा
विषालु सर्पले लखेट्छ
र विपनाहरूमा डस्छ
ऊ शहरमा बस्छे
र जंगलको अनुभूति गर्छे
आफन्तहरूको संवेदना छाम्छे
र ढुंगाको आकृति भेट्छे
ऊ हाम्रै शहरमा बस्छे
यतैकतै वरिपरि बस्छे ।

उसले आज बिहानै समाचार सुनी
जंगबहादुरहरू,
माथवर सिंहहरूको हत्यारा खोज्ने
आयोग बनाइरहेछन्
उसले एकाएक कान थुनी
र भनी
यस्ता अनिष्ट समाचारहरू
मैले जीवनमै भोगेकी छु
र बेसरोकारको भुजेलसँग
मुद्दा लडेकी छु
हामी पनि उसकै अतीतझैं
घरभित्र विशाल रेक्टरको
भुइँचालो पालेर
त्यही समाचार सुनिरह्यौं
ऊसँगै त्यही समाचार
हामी पनि सुनिरह्यौं ।

ऊसँगै हाम्रो पनि
एउटा अत्यासलाग्दो भविष्य
यही बस्तीमा लम्पसार सुतेको छ
त्यो त्यही भविष्य हो
अब उसको छोराले
आफ्नै बाबुको हत्याराको
जन्मदिनमा खुशियाली मनाउँछ
म यस घडीमा यही अनर्थ सोचिरहेछु
अब उसको छोराले
आफ्नै बाबुको हत्याराको
मृत्युमा शोक मनाउँछ
कपाल काट्छ
नून बार्छ
यो कुनै दन्तेकथा होइन
म वर्तमान बोलिरहेछु ।

जब हामी हिंड्ने गरेको सडक
पाइला–पाइलामा भासिन्छ
प्रत्येक दिनहरू हाम्रो विपनाको
गैह्रीखेतमा
बाढी बनेर पस्छन्
के बाँकी रह्यो अब
हारिरहेकी तिमी
हारीरहेका हामीहरू
जित्नेलाई पो हार्नको डर
हार्नेहरूले बारम्बार धावा बोले हुन्छ
हामीले पनि बोले हुन्छ
काँढा टेकेर बाँच्न सिकेका हामीहरू
झीरले जिब्रो छेडेर हाँस्न सिकेका
हामीहरू
अब अर्कै बाटो खोज्नुपर्छ
अब आफ्नै बाटो रोज्नुपर्छ ।



जलजला

विश्वास पहाडमा पनि फुल्दोरहेछ
आस्था शिखरमा पनि झुल्दोरहेछ
मानिसहरू तिमीसँग हातेमालो गरेर
मृत्युसँग सुन्दर खेल खेल्दा रहेछन्
जून र घामसँग खेलेझैं
बादल र कुहिरोसँग लुकेझैं
जलजला । तिमी त पहाड हौ
मेरो देशका हजारौं पहाडहरूमध्ये
साँच्चै फरक पहाड
मैले तिम्रा गीतहरू सुनेको छु
धेरै पटक आकाश खुलेको बेला
क्षितिजमा रक्तिम आभा पोखिएको बेला
कतै जलजला यस्तै होला भनेर
पश्चिमतिर फर्केर हेरेको छु

जलजला काख फराकिलो पार्नुपर्छ
यात्रा अझै लामो छ
जूनसँग अँगालो हालेर
नाच्ने दिन अझै–अझै टाढा छ

यात्रामा भेटिएका
जूनकीरीसँग रमाएर बस्नु हुन्न
विषालु हातहरू वरिपरिबाट
तिमीलाई छाम्दैछन्
तिम्रो छातीभित्र जीवनको खानी छ
तिम्रो हृदयभित्र विश्वासको सगरमाथा छ
जलजला, मलाई अचेलहुँदो
तिम्रो शिखरको उचाइमा चढेर
एकपटक पूर्वतिर हेर्न मन लागेको छ
तिम्रो सुन्दर गीत रच्न मन लागेको छ
कटक्क मन काटिने गरी
तन्नेरीहरू सात समुद्रपारीबाट
बिकलाङ्ग शरीर लिएर फर्किरहेछन्
र हेरिरहेछन् तिम्रो उँचाइलाई
उनीहरूलाई यतै बाँच्न सिकाउनुपर्छ
गल्लावालको पछि
मैनबत्ती झैं पग्लिएर
भविष्यको मृगतृष्णामा
यौवनसँगै जीवनलाई जलाउँदै
पराया देशतिर जुलुसझैं ताँती लाग्दैछन् चेलीहरू
उनीहरूलाई यहीं बाँच्न सिकाउनुपर्छ
जलजला, तिम्रो शिखरलाई चुमेर
मलाई पनि अचेलभरि
राना कान्छाको अनुहार कोर्न मन लागेको छ
बिल्टु थारूको अनुहार फेर्न मन लागेको छ ।

जलजला, तिमी इतिहासलाई बदल्न खोज्ने पहाड
वर्तमानलाई धावा बोलिरहेछौ
मैले पनि बस्तीलाई यतिबेला खण्डहर देखेको छु
तिम्रा चम्किएका आँखाझैं
मैले पनि बस्तीमा आगो सल्केको देखेको छु
तिमी महाभारत हुँदै मेरो बस्तीतिर फैलनुपर्छ
चुरे हुँदै मेरो बस्तीतिर तन्कनुपर्छ
म पनि वर्तमानका विरूद्धमा सर्जमिन बकिरहेछु
म पनि यही खण्डहर बस्तीबाट
एउटा सपना साँचिरहेछु
म पनि यही जलेको बस्तीबाट
सुन्दर भविष्य खोजिरहेछु ।

साहित्य सन्ध्या, वर्ष १, अंक १०, पूर्णाङ्क १०, २०५८ भाद्र


प्रिय मान्छेका गीतहरू

मैले धेरै गीतहरू सुनें
मान्छेहरूका गीत
त्यतिमात्र सुनिनँ,
मान्छेहरूले गाए
मान्छेले मान्छेलाई सिनो बनाएर
खानेहरूको गीत
मैले धेरै गीतहरू सुनें ।

सुनेका गीतहरूमा खोजें
मेरा प्रिय निष्ठाका गीतहरू
तर थोरै भेटें
मेरा प्रिय गीतहरू
अलिकति पानाहरूमा भेटें
प्रिय मान्छेका गीतहरू
धेरै धेरै सोचें
किन लेखिए ?
यति धेरै किताबहरूमा
मान्छे खाने मान्छेका गीतहरू
मलार्इ निष्ठाका गीत गाउन मन लाग्यो
र आक्रोशित भएर गाएँ
आस्थाका गीतहरू
मेरा प्रिय मान्छेका गीतहरू ।

जंगलका गीतहरू भन्दा पनि
किन लेखिए किताबहरूमा
त्यति नराम्रा मान्छेका गीतहरू
ती गीतहरूभन्दा
कति राम्रा छन् खेतबारीका गीतहरू
दानापानीका निम्ति
विवेक स्खलित गर्नेहरूका
टाँगिए तस्वीरहरू
भित्ताहरूमा
चोकहरूमा
म कसरी सहन्छु ?
र मैले गाएँ
असल मान्छेका गीतहरू
प्रिय मान्छेका गीतहरू ।

त्यति धेरै किताबहरूमा
यदि उसले
खराब मान्छेका गीत नगाएको भए
म यो गीत किन गाउँथें ?
तर शहरका चोकहरूमा
बैठकका भित्ताहरूमा
बस्तीका सिरानहरूमा
मान्छे खाने मान्छेका
गीतहरू लेखिए
तस्वीरहरू टाँगिए
अब मैले लेख्नैपर्छ
असल मान्छेका गीतहरू
मैले गाउनैपर्छ
प्रिय मान्छेका गीतहरू ।

जनएकता साप्ताहिक २०५८ माघ २२ गते


नागरिक

ऊ हाम्रै शहरमा बस्छ
यतै वरिपरि बस्छ
तर देश जलाउँछ
र आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो ।

कौसिकी कविता पात्रो – २०५९

भविष्यका लागि

सदियौंदेखि अचानो बनेर
आफन्तहरू पीडा हाँसिरहेछन्,
पुस माघको ठिहीमा
चिसो हिउँले काटिएको मन
भविष्यको पर्खालमा टाँगेका छौ,
सिरक ओढेर छेपाराहरू
सपना बाँडिरहेछन्,
पहिले शान्तिको कुरा गर्छन्
र नभए क्रान्तिका कुरा गर्छन्,
अर्कोतिर आफ्नै आँखा अगाडि
गान्धीको लौरो टेकेर हिटलरहरू
गोप्य बैठक बसिरहेछन्,
हिजो गाउँमा मात्र गनाउने बारूद
शहरमै पस्न थालेको छ,
अब मानिस हराएको खबर आउनु
कुनै अनौठो घटना रहेन
मानिस मारिएको खबर आउनु
कुनै नौलो समाचार रहेन,
मीठो सपना बोकेका
त्रसित अनुहारहरूको
एउटा कोलोनीमा बसेको छु
कोठाभरि प्रश्नको अँध्यारोले छोप्छ
म बाँचेको वर्तमानमा
अँध्यारो छाम्न रात पर्खनै पर्दैन ।

नजिकै जंगलहरू छन्
वसन्तको सुरूआतमै
त्यहाँबाट लासहरूको गन्ध आउँछ,
जंगलबाट गोलीको आवाज आएपछि
हराएका आफन्तहरूको सम्झनामा शोक मनाउँछौं
हामी देखिरहेका छौं
आफन्तका अस्मिताहरू लुटिएका छन्,
चेतनाले हिल्याएको खेतमा
उज्यालो रोपिरहेका कलिला भाइहरू
सदाका लागि निमोठिएका छन्,
यो समयमा
म यस कोलोनीबाट
तिम्रा निम्ति
नारा बाहेक के लेख्न सक्छु ?
के सुनाउन सक्छु ?
सुन्दरताका नाममा
सत्ताको स्वार्थ रोप्ने कविताभित्र
मानिसलार्इ सडक बनाएर
निर्घात अरूले कुल्चँदा
अलिकति पनि दुख्दैन भने
म उसका आँखामा
नारा लेख्न मन पराउँछु ।

रेडियोले बोलेको कुरा
कटारी हुँदै सोलुसम्म
नून खेप्ने भरिया दाइ
फिस्स हाँसेर उडाउँछन्,
अब कसलाई थाहा छैन
अखबार पढ्नु र
एकनास बगरमा टोलाउनु
कुनै अन्तर छैन,
टेलिभिजनले नाटक देखाइरहेछ कि समाचार
बुझ्न समय लाग्दैन,
जंगलबाट बस्तीतिर छिरेका नारासँग
क्रमशः विश्वास टुट्दैछ,
तर पनि सपना कोर्न छाड्नुको कुनै अर्थ छैन,
आन्दोलनको डरले
शववाहनमा सुतेर
सिंहदरबारभित्र पस्ने शासकले
आफ्नो उज्वल भविष्यको पक्षमा
विज्ञापन गरिरहेको बेला,
हाम्रो प्रिय जंगलमा
विदेशी गिद्धहरू आयात गर्ने
प्रस्ताव गरिएको बेला,
हामी प्वाल परेको देशलाई
टाल्ने यो जना बनाइरहेछौं,
जहिलेसम्म रहन्छ रगत शरीरमा
हामी लडिरहन्छौं भविष्यका लागि
कोही जुलुस भएर लड्छौं
कोही नारासँगै लड्छौं
या कविता भएरै लड्छौं
मानौं हामी लड्नै जन्मिएका हौं
हामी भविष्यका लागि लड्छौं ।


नादविन्दु, वर्ष ५, पूर्णाङ्क ५, २०६० असोज

कलिला जूनहरूको श्रद्धाञ्जलीमा

फेरि फूलहरू रोप्नु थियो
भोलि चढाउने श्रद्धाञ्जलीका लागि ।

परार साल बगैंचालाई बढाएँ
र रोपेँ केही अजम्बरी फूलहरू
आमाले माग्नुभएको थियो
केही थुङ्गा फूलहरू मन्दिरमा चढाउन
छानेर राम्रा फूलहरू
असाध्ये दिन मन थियो
तर यसरी सोचेँ
उनीहरू ढल्नु
सगरमाथा ढल्नु हो
मेरो आस्था ढल्नु हो
त्यस वर्ष,
छातीभरि पालेका फूलहरू
कलिला जूनहरूको श्रद्धाञ्जलीमा चढाएँ ।

पोहोर साल
बगैंचालाई फराकिलो पारेँ
र धान रोप्ने खेतमा
राम्रा जातका फूलहरू रोपेँ
छोरीले मागेकी थिई
केही थुङ्गा फक्रेका फूलहरू
चुल्ठोमा लाउन
मैले त्यस वर्ष पनि
एक थुङ्गा फक्रेको फूल
आफ्ना लागि राखिनँ,
कलिला जूनहरूको श्रद्धाञ्जलीमा
मेरो बगैंचा मरूभूमिझैं रित्तियो ।

यसपटक
एकै छिमल हुर्केका
सबै साथीहरू
उज्यालो खेप्नका लागि
लामो यात्रा रोजेछन्
म सोचिरहेको छु
उनीहरूको आस्था स्खलित हुनु
सभ्यता भत्कनु हो

अब कसरी पुग्छ ?
यति थोरै जग्गामा रोपेका फूलहरूले
कलिला जूनहरूका लागि
आगामी वर्षको श्रद्धाञ्जली चढाउन ?

फेरि फूलहरू रोप्नु थियो
भोली चढाउने श्रद्धाञ्जलीका लागि ।

समष्टि, वर्ष २३, अंक ६, २०६० जेठ―असार

उज्यालो हुनुअघि

राष्ट्रलाई बधस्थल बनाउने
सपथ खाएर
मान्छे जस्तै, मान्छेका सिकारीहरू
हिजैमात्र
शहरबाट गाउँतिर हिँडे
मानौं, गाऊँ उनीहरूको शत्रु हो
उज्यालो गाऊँ
उनीहरू देख्नै सक्दैनन्
आमा, हिजै मात्र
शहरबाट केही हुल मानिसहरू
गाउँ मार्न हिँडेका छन्
उज्यालो हुनुअघि
सधैं सधैं सबैतिर
ऋषिसर यस्तै हुन्छ भन्थे
आमा, कुखुराका भालेहरू पाल्नु
अब गाऊँमा चाँडै बिहान बोलाउनुपर्छ ।

गोमन सर्पजस्तै
विषालु मान्छेहरू
उज्यालो मार्न
शहरबाटै गाऊँ पसेका छन्
यसपटक शहरले
गाऊँकै मान्छे किनेर
गाऊँ मार्न पठायो
आमा, मैले इतिहासमा पढेको छु
उज्यालो हुनुभन्दा अघि
सबैतिर सधैं यस्तै हुन्छ
हाम्रा खोलाहरूमा पानी होइन
रगतहरू बग्छन्
फँडिर र ऐंसेलुका झुप्पाहरूमा
मासुका चोक्टाहरू झुण्डन्छन्
आमा, कुखुराका भालेहरू पाल्नु
उज्यालो हुनुअघि
सबैतिर सधैं–सधैं यस्तै हुन्छ ।

उनीहरू गाऊँमा आएपछि
बालुन खेल्नु अपराध हो
सँगीनी गाउनु अपराध हो
वल्लो डाँडा र पल्लो डाँडा
मन खोलेर दोहोरी गाउनु
साँच्चै साँच्चै अपराध हो
शहरमा बस्ने मान्छेका शिकारीहरूले
सत्ताको डबकामा ह्वीस्की ख्वाएर
यो वर्ष गाऊँकै मान्छेहरूलाई
गाऊँ मार्न पठाए
अब प्रतिकारमा गाऊँहरू उठिरहेछन्
युगौंदेखि सुतेका
मगर कान्छाहरू उठे
च्याङ्वा र दिलमायाहरू उठे
उज्यालोको पक्षमा
दृढताको सगरमाथा छातीमा पालेर
गाऊँलेहरूले सर्जिमिन बकिरहेछन्
आमा, उज्यालोलाई स्वागतको तयारीमा
अँध्यारै उठून् भाइहरू
नयाँ मान्छेलार्इ दिने सौगातका लागि
बगैंचामा फूल खोज्न
चाँडै उठून् बहिनीहरू
र उज्यालोको प्रतीक्षामा
गाऊन् सुन्दर गीतहरू
आमा, कुखुराका भालेहरू पाल्नु,
अब गाऊँमा चाँडै बिहान बोलाउनुपर्छ ।

बुधवार साप्ताहिक, वर्ष ८, अंक ३३, २०५९ भदौ
स्वयम्भूका आँखासँग

प्रिय कवि "इच्छुक"
इतिहास भएका ती दिनहरू
तिम्रो हत्याको केही महिनाअघि
हामी एकसाथ बसेर
तिम्रा एकजोडा भूमिगत हातहरूले
अनिँदा सपनाहरू कोरेको यो ठाउँ
स्वयम्भूको त्यही आँखामुनि
म यतिबेला
स्मृतिमा खोजिरहेछु ।

प्रिय कवि "इच्छुक"
जब तिम्रो हत्याको खबर
कुनै वेगवान हुण्डरीझैं
गाउँ र शहर पुग्यो
उज्यालो आकाश खोज्नेहरूका
एकसाथ परेला भिजे,
अभावले थाकेका गाऊँहरू
एकसाथ मसँगै रोए,
तिम्रो हत्याको खबरमा
अखबारहरू बिके,
तिमीले जसको भविष्य
कालीगण्डकीमा शालीग्राम खोजेझैं
मृत्युपर्यन्त खोजिरह्यौ,
हो, त्यसदिन
तिम्रै हत्याको खबरमा
गरिबी आँसुहरू एक गण्डकी बगे
साना नानीहरूले शोकगीतहरू गाए
प्रिय कवि "इच्छुक"
हो, यो सबै तिम्रो हत्याको खबरमा ।

मैले तिम्रो हत्यापछि
एकदिन स्वयम्भूका
धारिला आँखालाई सोधें
पुरानो झोला च्यापेर
दुब्लो शरीर बोक्दै एउटा घाम
हिजो अस्ति जस्तै,
यता घुम्छ कि घुम्दैन ?
मीठो भविष्य बोकेर एउटा जून
अचेल यता आउँछ कि आउँदैन ?
उसको हत्याका डोबहरू
तिमीले कतै देख्यौ कि देखेनौ ?
यो उचाइमा बसेर
मेरो प्रिय कविको लास
तिमीले कतै चिन्यौ कि चिनेनौ ?
भन स्वयम्भुका आँखाहरू ।
मेरो प्रिय कवि मारिँदाको साक्षी
पक्कै तिमी हुन सक्छौ
तिमीले उसलाई कतै देख्यौ कि देखेनौ ?

कलम, वर्ष १०, अंक १, पूर्णाङ्क ३२, २०५९ मंसिर―माघ


बाटाहरू – १

हामी अनिँदो बसेर रातभर
दिनको कुरा गर्थ्यौं
ऊ बन्द ढोकाभित्र बसेर दिनभर
रातको कुरा गर्थ्यो,
हामी भोलीका निम्ति
जूनको कुरा गर्थ्यौं,
ऊ कुनामा बसेर
अँध्यारोको गीत गाउँथ्यो,
उसले बिस्तारै–बिस्तारै
पसिनाको स्विमिङ् पुल
बनाउने कुरा सोच्यो,
अनाथ मानिसको रातो रगतलाई
होलीमा खेल्ने लोलाको
रातो पानीकै मूल्यमा हेर्‍यो
त्यही बिन्दुबाट कोरिए,
उसका र हाम्रा अलग–अलग नक्साहरू
जीवनका नयाँ बाटाहरू ।

हामीले दुखिया थारूको सपना कोर्र्यौं
र उसको भोको पेट अघाउने
योजना कोर्र्यौं
काजीबाको बिपना कोर्र्यौं
र उनको अजीर्ण पेटबाट
अलिकति घटायौं
र उतातिर जोड्यौं
ऊ हामीसँग झस्कियो,
सडकमा सपना हुर्काइरहेका
बच्चाहरूको भविष्य देखेर
चिन्ता लेख्यौं,
ऊ हामीसँग तर्सियो,
त्यही बिन्दुबाट कोरिन थाले
हाम्रा लागि नयाँ बाटाहरू
नयाँ योजनाहरू
हामीले उसका विरूद्धमा
यसरी कोर्र्यौं
हामीले किरिङमिरिङ
जीवनका नयाँ नक्साहरू
अलग–अलग बाटाहरू ।

कविता पूर्णाङ्क ७९, २०५९ पुष―चैत्र

बाटाहरू – २

पिचासहरू हेडलाइट बालेर
अगाडितिर बाटो देखाइरहेछन्
र आफ्नो बाटो छोडेर छेपाराहरू
सल्लाको मुढामा घाम ताप्दै
स्वीकृतिको टाउको हल्लाइरहेछन्
मलाई घिन लाग्छ उनीहरूको बाटो
त्यही बाटोको भ्रममा
हाम्रा सपनाहरू लुटिए
हामी लुटिएको सपनाको
मलामी हिँडिरहेछौं
मैले देखिरहेको छु–
हाम्रो अघिल्तिर
शिकार ढुक्दै गरेको कालो नाग
टाउको घुमाइरहेछ
र कुबाटोमा हिँड्नेहरूको सुरक्षार्थ
हिसाबकिताब मिलाइरहेछ,
कालो नागलाई थाहा छ,
बच्चालाई हालिदिएको टिफिन चोरेर खानेहरू
ठूलो बाटो हिँड्दैनन्
र सिंहासनमा बस्न आउनेहरू
यो बाटो हिँड्दैनन्
र जानेहरू पनि हत्याकाण्ड मच्चाएर
कुबाटोबाटै जान्छन्
महलको टुप्पाबाट गिद्धहरू
प्वाँखको दूरबीन लगाइरहेछन्
र हामी हिँडेको बाटोलाई हेर्दै
जोड–घटाउ मिलाइरहेछन्,
जब कुबाटोमा लेउ लाग्छ
उनीहरू एकसाथ हाम्रो बाटोमा झम्टन्छन्
र क्रुर युद्ध लड्छन्,
हामीले तयार हुनुपर्छ त्यो युद्धको लागि
हामीले जोगाउनुपर्छ
आफू हिँड्ने बाटोलाई
हाम्रो प्रिय बाटोलाई ।

बाटाहरू – ३
सेता लुगा लगाएर स्यालहरू
पशुपालन गर्ने योजनाको
प्रस्ताव पेश गरिरहेछन्
रूखको कापमा बसेर उल्लुहरू
पान चपाउँदै,
देश बनाउने सपना बाँडिरहेका छन्
भीड ताली पिटिरहेको छ
त्यो क्रूर यथार्थलाई
म नेपथ्यबाट हेर्छु
र छाम्छु आफू वरिपरि
नजिकै केही हातपर
गोली लागेर ढलेको
वीर युवकको छातीमाथि टेकेर
उभिएको एउटा नायक
कन्चटमा बन्दुक ताकेर
भोलिको सत्ता मागिरहेछ
मूल बाटोको किनारमा छन्
मैले खोजेका सारथीहरू
म जोड–जोडले चिच्याउँछु
र निमन्त्रणा गर्छु
तर किन ?
किनारमा बसिरहेछन् उनीहरू
मैले खोजेका सारथीहरू
जो यो बाटो हिँड्न योग्य छन्
तर किनारमा उभिइरहेछन् ।

किनारमा उभिएर
उनीहरूले मेरा अगाडि एउटा बाटो देखाए
र भने–
यो बाटो कस्तो छ ?
उनीहरूले बाटोको प्रशंसा गरेनन्
चुनावी नेताहरूले जस्तो
विज्ञापनहीन एउटा सुन्दर बाटो
मेरो अघिल्तिर थियो
जसलाई म खोजिरहेको थिएँ वर्षौंदेखि
हामीले किनार सफा गर्र्यौं
त्यही बाटोमा हामीले
सृष्टिको नौलो कथा भन्यौं
विधवा आकाश ओढेर
कैयौं रात सुन्दर भविष्य रच्यौं
आस्थाका कुराहरू गर्‍यौं
अजम्बरी धातुले बनेको बाटो
मैले कल्पना गरेभन्दा बाहिर
मैले भेट्टाएँ एउटा सुन्दर बाटो
त्यही थियो मेरो प्रिय बाटो ।

अक्षलोक, पूर्णाङ्क २३, २०६० वैशाख

यात्राको एउटा दृश्य

हिजै मात्र
हामीलाई बाटो देखाएर
सिंहदरबार पसेपछि
एउटा यात्रामा थाकेर
भर्खरै मात्र उनीहरू
टुकुचाको पानी पिउँदै–पिउँदै
दरबारमार्गको बाटो
उत्तरतिर लागेपछि
उनीहरूकै कारणले
इतिहासमा फेरि एकपटक
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

बितेका केही वर्ष
गद्दारीको बाली
राम्रैसित फल्यो
बाली भित्र्याउनेहरू
दरबारतिर खेताला भित्र्याइरहेछन्
जनताको आँसुमा सर्वत घोल्दै
मान्छेको जिब्रो र गिदीलाई परिकार बनाएर
उनीहरू भोज लगाइरहेछन्
कमलपित्तको रोगीझैं पहेंलिएर
हिजोका मेरा सहयात्रीहरू
त्यही भोजमा सामेल हुँदै
मुर्दा हाँसो हाँसिरहेछन्
बितेको वर्ष,
गद्दारीको बाली राम्रैसित फल्यो
उनीहरूले भर्खरै मात्र
हाम्रो विवेकलाई धरौटी राखेर
कालो स्वार्थको भर्र्याङ् चढेपछि
हाम्रो विश्वासको छातीमा
तिखो छुरी रोपेपछि
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

मलाई अचेलभरी
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन
आफ्नो टाउको
पैसामा साट्न पसल थापिरहेका
हिजोका नातेदारहरू
भेटिन्छन् बाटामा
मर्न लागेकासँग
अलिकति बोल्न
अलिकति हाँस्न
कति गाह्रो छ,
मलार्इ अचेलभरि
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन,
हाम्रो मीठो सपनालाई
बलात्कार गरेर
भर्खरै मात्र
कमलपित्तका रोगीहरू
दरबारमार्गको बाटो
उत्तरतिर लागेका छन्
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

संस्कृति, अंक ५, २०६० असोज

एउटा पुजारीको आत्मव्यथा

म प्रत्येक बिहान
शहीदलाई पूजा गर्न शहीदगेट जान्छु
तर शहीदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
शहीदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ
म शहीदगेटको एउटा पीडित पुजारी ।

भविष्यका निम्ति मर्नेहरूको सम्मानमा
वनफूल बोकेर
सैलुङ लेकको नागी चढ्न तयार छु
तर घृणा लाग्ने इतिहासलाई
म मालाले सजाउन चाहन्नँ
अब शहीदको पूजा गर्न
शहीदगेट नआए पनि हुन्छ
अब हाम्रै गाउँका नागीहरूमा
शहीदगेट बनाए हुन्छ
फेरि मैले सपना देखिरहेको छु
शहीदहरूको टाउको माथि
फेरि कुनै रात
इदी अमिनहरू
सिंहासन बनाउने योजना कोरिरहेका छन्
म शहीदगेटको एउटा पीडित पुजारी ।

अझै घोडा चढेर
आक्रोशित मुद्रामा
शहिदगेटका सालिकहरूलाई
जंगबहादुरहरू
नेपथ्यबाट घुरिरहेछन्
प्रत्येक रात टुँडिखेलमा
मेरो आस्था कुल्चने योजनाको
बैठक चल्छ
बैठकको एउटा दृश्यमा
नरशमशेरले औंला ठड्याएको
मैले धेरैपटक देखेको छु
अब मैले बनाउनुपर्छ
हतियार बोकेर उभिएको
शहीदको नयाँ शालिक
र, राख्नुपर्छ
धरहराको उचाइमा
या आफ्नै गाउँका नागीहरूमा
म शहीदगेटको एउटा पीडित पुजारी ।


सपना
अपराधीहरू
जेलको पर्खाल बाहिर
बेरोकटोक घुमिरहेछन्
र शहरका चोकहरूमा
दुष्टकथा
हामीलाई स–गर्व सुनाइरहेछन्,
भ्रष्टाचारको आरोपमा
जागिर खुस्किएको भलाद्मी
गरिबी निवारणको कार्यक्रम
मेरै सामु फलाक्छ
धेरै समय भइसक्यो
म उनीहरू सँगसँगै छु ।

अन्धाहरू अघि लागेर
बाटो देखाउने दुःस्वप्न बाँडिरहेछन्,
ड्राइभरहरू,
गन्तव्यमा पुग्ने विश्वास नपालेरै
यात्रुहरू बोलाइरहेछन्
पहेंलो वस्त्रभित्र लुकाइएका छन्
स्वार्थका छुरीहरू
सगरमाथाको यात्रामा
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।

आन्दोलनको नाममा
घाम तापेर समय काट्ने
क्रान्तिकारीहरू
पार्टी अफिसको छतमा बसेर
भोलिको भविष्य सुँघिरहेछन्,
मन्दिरको यात्रामा पाइतो सरेर
एक राते मेला धाइरहेछन्
आस्थाको झोला बोकेका केही पाखण्डीहरू
लामै समय भैसक्यो
म उनीहरू सँगसँगै छु ।

मसँग एउटा सपना छ–
यी सबैसँग बाटोमा
भोलिदेखि
सँगसँगै हिँड्न नपरे हुन्थ्यो

यी सबै सबैसँग
त्यही यात्रामा सँगै हिँड्ने
केही निर्दोष अनुहारहरू छन्
भोलिको यात्रामा
म जस्तै, उनीहरू पनि खोजिरहेछन्
झर्झराउँदा आँखा भएका मान्छेहरू
निर्दोष अनुहारको सम्झनामा
हो, म अचेल
धेरै धेरै रात रोएको छु
म उनीहरूसँग पनि सँगसँगै छु
अब मात्र एउटै सपना छ ।

Ο



=========================================================


'यात्राको एउटा दृश्य' (कवितासङ्ग्रह) बारे लेखिएका समिक्षा/समालोचना एवं टिप्पणिहरू :























प्रगतिवाद र कवि मातृका पोखरेलको ‘यात्राको एउटा दृष्य’
—नन्दलाल आचार्य

अ. विषय प्रवेश :
‘मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन, मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो, मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।’– म्याक्सिम गोर्की
साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको  भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मूर्तरूप लिन र न्याय, समानता र स्वतन्त्रताले भरिपूर्ण समाजको स्थापना गर्न सक्दैनन् । प्रगतिवादले माक्र्सवादी दर्शन र चिन्तनको विशिष्ट विचारधारासँग सम्बन्ध राख्दछ जुन राजनीतिमा साम्यवाद कहलाउँछ, सामाजिक एवं आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद कहलाउँछ भने त्यही साहित्यमा भने प्रगतिवाद कहलाउँछ । जीवन र जगत्का वस्तुसत्यलाई यथार्थ तवरले उद्घाटित गर्ने काम यस वादमा हुनेगर्छ । भनिन्छ, प्रगतिवाद आत्मा साम्यवादमा, प्रेरणा राजनैतिक अनुशासनमा र कल्पना सर्वाहाराको सत्ता प्राप्तिमा राखेर अघि बढेको हुन्छ । यसले मानवको शक्तिलाई सर्वोपरी ठान्छ । पूँजीवाद, सामन्तवादजस्ता वर्गप्रति झुकाव राख्ने क्रियाकलापको घोर विरोध गर्छ र वर्गसंघर्षको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्ने अभीष्ट यस वादले लिएको हुन्छ । मूलभूतरूपमा सामाजिक यथार्थवादी दृष्टिकोण, देशभित्र र बाहिरका चेतनामूलक विचारहरू, शोषकलाई घृणा र शोषित वर्गप्रति हार्दिक सहानुभूति, विकृति नाश गरी सकारात्मक परिवर्तनमा उग्र चिन्तन, नारी हक, हितप्रति सचेत, ईश्वर, धर्म, आत्मा, स्वर्ग, नरकजस्ता कुराहरूप्रति वेवास्था गरेर संघर्षशील जीवनलाई उच्च कदर गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ ।
सत्रौँ शताब्दीपछि जन्मिएको र विकसित भएको प्रगतिवादी साहित्यको विकासका क्रममा विश्व कम्युनिष्ट घोषणापत्र (सन् १८४८ मा माक्र्स–एङगेल्सद्वारा जारी)को जगमा उभिएर संगठित रूपमा अघि बढेको साहित्यतर्फको पहिलो संस्था चाहिँ सन् १९३५ मा फ्रान्सको प्यारिसमा पहिलो अधिवेशन भएको ‘प्रोग्रेसिभ राइटर्स यशोसिएसन’ हो जसका पहिलो सभापति इ. एम. फोस्टर भए । भारतमा भने सन् १९३६ मा ‘भारतीय प्रगतिशील लेखक संघ’ जन्मियो । राणा शासकहरूद्वारा गराइएको मकैपर्व, लाइब्रेरी पर्व, सहिदहरू ः दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीहरूको शहादत (१९९७)ले महानन्द सापकोटा, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालजस्ता स्रष्टाहरूमा विद्रोही भाव सञ्चार भयो । नेपालमा चाहिँ नेपाल कम्युनिष्ट पार्टी (२००६)को गठन भएपछि २००७ साल पछिको स्वतन्त्र परिवेशमा जग बस्दै ‘प्रगतिशील लेखक संघ’ (२००९) जन्मिएको इतिहास छ । झर्रोवादी आन्दोलन (२०१३), जनसांस्कृतिक सभा (२०१३), २०२८ को झापा विद्रोह, २०३६ को विद्यार्थी आन्दोलन, २०३८ मा पारिजातको नेतृत्वमा ‘अखिल नेपाल जनसांस्कृतिक संघ’को स्थापना, अखिल नेपाल लेखक संघ आदिले मलजल गर्दै प्रगतिवादी साहित्यिक धार अघि बढेको देखिन्छ । माक्र्सवादी चिन्तनबाट प्रभावित भई समातामूलक समाजको निर्माण गर्न चाहने स्रष्टाले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक आदि तवरले शोषित, पीडितवर्गप्रति सहानुभूति राख्दै आफ्नो अभिव्यक्ति दिएका हुन्छन् । प्रगति (२००७ पछि),  सेवा (२००८), जनयुग (२००९), जनविकास (२०१०), जनसाहित्य (२०११), साहित्य (२०१६) सेवाजस्ता पहिलेका र झिसमिसे, जनादेश, महिमा, कलम, जनआह्वान, योजना, वेदना, नयाँ कोशी, जलजला, दिशानिर्देश, प्रतिभा प्रवाह, मूल्यांकन, जनदिशा, जनविद्रोह, संकल्प, उत्साह, मधुमास, नयाँ संस्कृति, उद्बोधन, प्रतिबिम्बन, प्रबोधन, नौलो जनउभार, पृष्ठभूमि, जनाधार, पूर्वी क्षितिज, जनक्रान्तिजस्ता अहिलेका पत्रपत्रिकाहरूले प्रगतिवादी आवाजलाई वुलन्द पार्दै आएका छन् । यस्ता आन्दोलन, पत्रपत्रिका र संघसंस्थाहरूका अतिरिक्त अन्य पक्षहरूले समेत प्रगतिवादलाई मूर्तरूप दिन प्रत्यक्ष, परोक्ष बल प्रदान गरिरहेका छन् ।
       मूलभूतरूपमा प्रगतिवादी साहित्य माक्र्सवादी दर्शन र चिन्तनबाट प्रेरित र प्रभावित हुन्छ । समतामूलक समाजको स्थापनाको आग्रह सहित वर्गीय दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । पुराना मक्किएका विचार र नयाँ अग्रगामी चिन्तनले प्रेरित विचारका बीच द्वन्द्व हुन्छ । यो काल्पनिक आदर्श र खोक्रो नैतिकताको विपक्षमा उभिन्छ । मूल्यसहितको जीवन जिउने सोचको विकास, विद्रोही एवं क्रान्तिकारी अभिव्यक्तिमा जोड र सरलतामा सलल बगेको जनबोलीको प्रयोगजस्ता पक्षलाई जोड दिई अग्रगामी आवाजलाई गुञ्जायमान गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ ।
       यसरी प्रगतिवादी आवाजलाई बुलन्द गर्नेहरू महानन्द सापकोटा, धरणीधर कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल भूपि शेरचन, धनुषचन्द्र गौतम, श्यामप्रसाद शर्मा, धर्मराज थापा, गोविन्दप्रसाद लोहनी, डी.पी. अधिकारी, भवानी घिमिरे, मदनमणि दीक्षित, आनन्ददेव भट्ट, गोविन्द भट्ट, हृदयचन्द्रसिंह प्रधान, मुक्तिनाथ तिमिल्सिना, खड्गबहादुर सिंह, मोदनाथ प्रश्रित, पारिजात, डा. ऋषिराज बराल, दौलतविक्रम विष्ट, राजेन्द्र सुवेदी, देवी गौतम, खगेन्द्र संग्रौला, रघु पन्त, रुद्र खरेल, रविलाल अधिकारी, गंगा उप्रेती, रमेश विकल, कृष्ण बम मल्ल, तारानाथ शर्मा, गीता केशरी, इस्माली, गोविन्द गिरी प्रेरणा, गणेश रसिक, गम्भीरबहादुर थापा, भवानीप्रसाद शर्मा, रामकुमार श्रेष्ठ, युद्धप्रसाद मिश्र, शान्तनु पन्त नेपाली, यज्ञप्रसाद आचार्य, बालकृष्ण पोखरेल, देवमणि ढकाल, श्यामप्रसाद अधिकारी, कृष्णप्रसाद सर्वाहारा, कृष्ण सेन ‘इच्छुक’, चूडामणि रेग्मी, बिन्दुप्रसाद नेपाली, पूर्णविराम, जसराज किराँती, चैतन्य, घनश्याम ढकाल, दिल सहानी, मित्रलाल पंज्ञानी, जगदीश घिमिरे, युवराज संग्रौला, ईश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, शक्ति लम्साल, निनु चापागाइँ, डा.ताराकान्त पाण्डेय, रमेशप्रसाद भट्टराई, लीलध्वज थापा, वीरेन्द्र खुँजेली, कोषराज रेग्मी, रामप्रसाद ज्ञवाली, डा.जगदीशचन्द्र भण्डारी, डा. नन्दीश अधिकारी, नारायण ढकाल, कविताराम श्रेष्ठ, के.पी. ढकाल, हरिगोविन्द लुइँटेल, खुशीराम पाख्रिन, नेत्रलाल अभागी, अशोक सुवेदी, पुन्य कार्की, डा. गोपिन्द्र पौडेल, देवी नेपाल, पद्मावती सिंह, खेम थपलिया, अनिल पौडेल, रमेश भट्टराई, हीरामणि दुःखी, सुधा त्रिपाठी, अमर गिरी, डा. भवानीप्रसाद पाण्डे, लेखबहादुर कार्की, राममणि पोखरेल, धीरेन्द्र प्रेमर्षि, रामविक्रम थापा, डा. कृष्णराज अधिकारी, प्रभात चलाउने, राजु क्षेत्री, खुमलाल पौडेल, खेमराज खनाल, डा.गोविन्द आचार्य, डा. पशुपतिनाथ तिमल्सेना, डा. विश्नाथ भण्डारी, टीकाराम उदासी, डीजन भट्टराई, भाष्कर, गोबिन्द वर्तमान, पुण्य खनाल, देवेन्द्र थुम्केली, धनप्रसाद सुवेदी श्रमिक, माधव भण्डारी, भरत रोदन साउद, भीम राना भाट, इन्द्र राउत, भोगीराज चाम्लिङ्ग, मधुसूदन गिरी, डा.शिवप्रसाद पौडेल, श्रमशील, डा.देवीप्रसाद गौतम, डा.अच्युतशरण अर्याल, डा.आर.पी. तिमल्सिना, रोहित दाहाल, श्यामकुमार बूढामगर, खेमराज खनाल, प्रभात के. सी., कमल नियोल,  दण्डपाणि न्यौपाने, सुरेश वाग्ले, रीतबहादुर खडका, च्याङ्वा लामा, डी.वी. थापा, रोहित कोइराला, पुष्पराज चौधरी, कमल पुन, हर्षबहादुर मल्ल,  शारदा श्रेष्ठ, मस्त विष्ट, झक्कुप्रसाद पुन, अशोक थापा, कर्ण बानियाँ, बल्लभमणि दाहाल, देवमणि ढकाल, हरिहर खनाल, विनयकुमार कसजु, प्रदीप नेपालजस्ता साहित्यकारहरूको कलमको मसी खर्चिएको भेटिन्छ । त्यसै गरी अन्यको नाम लिनुपर्दा, छायादत्त न्यौपाने बगर, उमेश आचार्य, मोदनाथ मरहठ्ठा, जनार्दन वियोगी, पोषराज पौडेल, दिनेश दुवाल, धनबहादुर मगर, सीता शर्मा, धनेश्वर पोखरेल, सुकुम शर्मा, प्रदीप बालाचन, भीम रानाभाट, गंगा श्रेष्ठ, राजकुमार कुँवर, मणि थापा, सत्य पहाडी, सरला रेग्मी, लक्ष्मी माली, टीकाराम उदासी, राजेश विद्रोहीे, धनप्रसाद सुवेदी, डीपी ढकाल, डी.आर. पोखरेल, तेजविलास अधिकारी, नमुना, एम बटुवा, सीपि गजुरेल, भगवानचन्द्र ज्ञवाली, मोहनलाल चन्द, महेश्वर शर्मा, चेतकान्त चापागाईँ, रविकिरण निर्जीव, सि.बी. आचार्य, सिर्जना ढकाल, बन्दना ढकाल, नुमराज बराल, नारायण परिश्रमी, नारायण मरासिनी, परशुराम कोइराला, पोषराज पौडेल, जीवन शर्मा, राजेन्द्र पौडेल, सीमा शर्मा, हेमनाथ पौडेल, हेमराज पहारी, सरिता तिवारी, नारायण मरासिनी, कृष्णराज अधिकारी, केदार शर्मा ढकाल, पूर्णवहादुर अधिकारी, माधव ढुङ्गेल, माधवप्रसाद सुवेदी, निभा शाह, संगीतस्रोता, पुण्यप्रसाद आचार्य, वेणु आचार्य, रामप्रसाद जैसी, यमबहादुर पौडेल क्षेत्री, यज्ञवहादुर डाँगी, यज्ञश्वर निरौला, यादवराज उपाध्याय, योगराज सापकोटा, देवेन्द्र पौडेल, अनिल श्रेष्ठ, बन्दना ढकाल, भानु भण्डारी, यज्ञराज प्रसाई, दिनेश दुलाल, शोभा थापा, कमला रोका, उषा मगर, सुशिल क्षेत्री, चुनु गुरुङ, गणेश भण्डारी, भरतरोदन साउद, मोदनाथ मरहठ्ठा, वान्तवा वसन्त, जनक महतारा, धनेश्वर पोखरेल, दीपक चिन्तक, अनिल शर्मा, सीता शर्मा, कुसल वोगटी, गणेश शाही, पीपी आचार्य, युवराज काफ्ले, नन्दलाल आचार्य, केएल पीडित, दीपक विश्वकर्मा, अर्जुन ज्ञवाली, ओमकारनाथ ज्ञवाली, कविराज पौडेल, राजभाइ जकमी, यानेन्द्र जी.सी., झकवहादुर मल्ल, खगेन्द्र राना, पञ्चकुमारी परियार, लोकेन्द्र विष्ट, आशा नेपाली, दीपक वि.क., विष्णु भण्डारी, विष्णु वि.क., विन्दा मैनाली, केदार श्रेष्ठ ‘गगन’, रामहरि पौडेल,  रामचन्द्र फुँयाल,  रश्मिला नेपाल, कृष्ण किराँती, होम जवेगु, शारदारमण नेपाल, शैलश पौडेल, हरिहर चापागार्इँ, टंकबहादुर आलेमगरजस्ता सयौँ स्रष्टाहरूले प्रगतिवादी साहित्यमा कलम चलाएका छन् । कसैले दरिलो स्थान बनाएका छन् भने कोहीकोही भने उदियमान् स्रष्टाका रूपमा आफूलाई चिनाउँदै आएका छन् । कोही यस वादमा मात्र रहेर लेख्छन् भने कोही प्रगतिवादका अतिरिक्त अन्यवादमा पनि दखल राख्छन् । यस सानो लेखमा यसै प्रगतिवादी धारामा आधारित भई कलम चलाउने कवि मातृका पोखरेल र उनको कविता संग्रह ‘यात्राको एउटा दृष्य’ बारेमा संक्षिप्त चर्चा गर्ने अभीष्ट राखिएको छ ।

आ. कवि परिचय ः साहित्यकार समाजका गौरवशाली व्यक्ति हुन् । साहित्यकारको कर्मले नै समाज ऋणी हुनुपर्छ । त्यस्तै कविता, कथा र निबन्ध विधामा राम्रो पकड गरेर समाजलाई ऋणी बनाउने बाटोमा निरन्तर लागिपरेका साहित्यकारको नाम हो– मातृका पोखरेल । वि. सं. २०२३ साल असार ९ गते (१९६६ जून २३ सन्) उदयपुर जिल्लाको दुर्गम ठाउँ ठानागाउँ गाविस वडा न–९ मा जन्मेका र हाल काठमाण्डौलाई कर्म थलो बनाउँर्दै आएका साहित्यकार पोखरेल कक्षा आठमा पढ्दै गर्दाको कलिलै उमेरमा नै ‘भानुभक्तको सम्झनामा’ शीर्षकको छन्दोबद्ध कविता लेखेर साहित्यको महासागरमा पौडी खेल्न थालेका हुन् । ‘समीक्षा’ साप्ताहिकमा २०४४ सालमा ‘सूर्य उदाऊ अब’ शीर्षकको कविता पहिलो पटक प्रकाशित रचना हो । एम.ए (नेपाली) सम्मको औपचारिक शैक्षिक ज्ञान हासिल गरेका पोखरेलको स्वाध्यायनको दायरा निकै फराकिलो रहेको उनका बौद्धिक रचनाहरूले पुष्टि गर्दछन् ।
         (१) सेतो दरबारको छेउबाट (कविता संग्रह, २०५७), (२) यात्राको एउटा दृष्य (कविता संग्रह, २०६०), (३) सन्त्रस्त आँखाहरू  (कथा संग्रह, २०६१) र (४) अनुहार (कविता संग्रह, २०६४) जस्ता चार ओटा कविता र कथा विधाका संग्रह निकालेका स्रष्टा पोखरेल बलियो कलम भएका जनपक्षीय साहित्यकार हुन् । जनसरोकारका विषयवस्तु उठान गरी हृदय कल्पाउने क्षमता राख्ने स्रष्टा पोखरेलको कलम विशेष गरी नेपाली समाज र राजनीतिप्रति केन्द्रित छ । यसका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रि«य परिवेश, इतिहास, कला, साहित्यतर्फ समेत मुखरित भएको पाइन्छ । वेदना, ज्योति, प्रलेस, विजय शब्दविम्ब जस्ता साहित्यिक पत्रपत्रिका निरन्तररूपमा सम्पादन कार्य गर्दै आएका स्रष्टा पोखरेल प्रगतिशील लेखक संघ, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च, नेपाल साहित्यिक पत्रकार संघजस्ता विविध संस्थाहरूमा समेत संलग्न भएर र सांस्कृतिक आन्दोलनमा अग्रणी भएर एवं नेपाल विद्युत प्राधीकरणमा कार्यरत् रहेर जीवनरथ अघि बढाइरहेका छन् । उनी समाज परिवर्तनका लागि अधिकतम भूमिका निर्वाह गर्न रुचाउँछन् । उनले मूल्य सहितको जीवन बाँच्ने जीवनदृष्टि बोकेका छन् भने मानवीय सभ्यताको क्रममा विकास भएको विशिष्ट र सुन्दर अभिव्यक्तिलाई साहित्य ठान्दछन् । उन्नत विचार र कलालाई संयोजन गर्ने गरी रचना रच्ने मान्यताले ओतप्रोत भएका पोखरेल थिचिएका र शोषित वर्गलाई प्रेम गर्ने र समाजमा अग्रगति चाहने विचार सम्प्रेषण गरी साहित्यकारहरूले समाजलाई गुण लगाउनुपर्ने विचार सार्वजनिक गर्छन् । उनी शोषित र उत्पीडितहरूको पक्षमा, श्रमजीविहरूको पक्षमा, उदीयमान वर्गको पक्षमा, अग्रगामी सोच र विचारको पक्षमा लेखिने साहित्यलाई नै प्रगतिशील साहित्य ठान्दछन् । समाजमा व्याप्त रूढिवादी, विकृति–विसंगति, थिचोमिचो, शोषण–दमनको जरो पत्ता लगाई उखल्ने जमर्को स्वरूप उनको कलम चलेको हो भन्ने स्पष्ट देखिन्छ ।

इ. ‘यात्राको एउटा दृष्य’ कविता सङ्ग्रहको विश्लेषण ः कवि मातृका पोखरेलको दोस्रो कृति ‘यात्राको एउटा दृष्य’ कविता सङ्ग्रहमा २०५७ सालदेखि २०६० सम्म रचिएका मध्ये जम्मा २२ वटा कविताहरू समाविष्ट छन् । सबै कविताहरूमा गम्भीर मुद्दा उठाइएको छ ।
(१) फरक आँखाका यात्रीहरू ः— यस शीर्षकको कवितामा कवि पोखरेलका मित्र शोभाकान्त पोखरेलको प्रहरीद्वारा गरिएको निर्मम हत्याको घोर विरोध गरिएको छ । यसका साथै मस्र्याङ्दीको निर्मल पानी, वरपरका सेता झरनाहरू, छेउछाउका हरिया खेतहरूजस्ता सौन्दर्यताले अरू मित्रहरूलाई तान्यो तर कवि त्यस सौन्दर्यतामा केवल मित्र शोभाकान्तकै छायाँ देख्ने गरेको कुरा वताउँछन्–
साथीहरू अन्यथा नठान्दा हुन्छ
म यो मौसममा यो ठाउँमा
हरियालीका कविता लेख्न सक्तिनँ
सेता झर्नाका कविता लेख्न सक्तिनँ
हामी मस्र्याङ्दी किनाराका यात्रीहरू
हामी फरक आँखाका यात्रीहरू । (पृष्ठ ः ८)
(२) दुश्मनहरू सुरक्षित रहेको बेला ः— यस कविताले सामन्तहरू रजाइँ गरिरहेका तर गरिब बाबुआमाका छोराछोरीहरू चाहिँ माओवादी र पुलिस बनेर लडिरहेको तीतो सत्यलाई ओकल्ने काम गरेको छ । आफूआफू मिले मात्र सामन्तहरूलाई परारस्त गर्न सकिन्छ भन्ने मान्यता राख्दै कविता भन्छ –
बहिनीहरूले उसै गरी
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलाई लुकाउँनुपर्छ,
साइँला, तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेछन्
साइँला, सुरक्षित बाँचिरहेछन् । (पृष्ठ ः ११)
(३) अँध्यारोका विरुद्ध ः— उज्यालोको खोज अँध्यारोको पीडा बोक्नेहरूलाई हुन्छ । हामी उज्यालोका भोका छौँ । उज्यालो पाउन अँध्यारोको स्वाद चाख्नुपर्ने हुन्छ । विना उज्यालो जीवनका मूल्य र मान्यता छिचोल्न पाइन्न । उज्यालोले अँध्यारोलाई धपाउन खोज्छ तर अँध्यारोले उज्यालोलाई दवाउन खोज्छ । संसारमा उज्यालोको राज छैन । अँध्यारोको पनि एकक्षत्र राज भने छैन । तर अँध्यारोले राज खोसिरहेको छ । अतः मानवीय स्वाभिमान लिलाममा चढेको छ । जो अँध्यारोको कर्तुतबाट अनविज्ञ छैन, उसैले बत्तीको जोहो गर्न कम्मर कस्छ । जो अँध्यारोमा सर्वस्व पाएको भान गर्छ ऊ नै अरूको आर्तनाद स्वरलाई संगीतको मधुर धुन सम्झन्छ । यसप्रकार उज्यालो र अँध्यारोको यस युद्धमा उज्यालोको पक्षमा लागेर संसारलाई उज्यालोमय बनाउनुपर्ने मत कविताबाट सार्वजनिक भएको छ–
भीर, पहरा र कन्दरामा
कतैतिर एउटा मैनबत्ती पाएँ
र, मैले त्यो बालेँ
अँध्यारो मसँग झस्क्यो
ऊ मसँग तक्र्यो । (पृष्ठ ः १२)
(४) यस पटक दशैँमा ः— देशलाई पत्रु भाँडो बनाइयो । देशको दश गजा मेटियो । देशलाई ऋणमा डुवाइयो । देशलाई ढाकरे दाइहरूको टेकोले अडिने बनाइयो । देश यत्तिखेर टिठलाग्दो छ । देश दुःखलाग्दो बनेको छ । देश भित्रभित्रै पिरोलिएको छ । देशलाई श्वास फेर्न कठिनाइ भएको छ । दशैँको बेलामा आफ्नो गाउँघरतिर जाँदा कविलाई महसुस भएको यस तीतोसत्यलाई ओकल्ने काम गर्दै कविता भन्छ–
यसपटक घर जाँदा
मैले ढाक्रेहरूको अनुहारमा देश देखेँ
उनीहरूको जीवनमै देश भेटेँ,
सत्य हो, नढाँटी भनेको
उनीहरूको सानो ढाकरमै देश देखेँ । (पृष्ठ ः १४)
(५) उसले पनि हाम्रैजस्तो कुरा गर्छ ः— क्रान्तिकारीको आवरणमा ब्रह्मलुट गर्ने अवसरवादीहरूको कुकृत्यको भण्डाफोर नगरी मुलुक उँभो लाग्दैन । कागजी र मुखौले कानुनी योजना राम्रो भए पनि कार्यान्वयन पक्ष निर्वलियो बनाएर सात पुस्तालाई पुग्ने धन बटुल्न माहिर नेतानेतृहरूलाई चुलाचौका बार्नुपर्छ । मान्छे किनेर स्वार्थको घैला भर्नेहरूबाट बेलैमा सतर्क रहनुपर्छ । नत्र रातो किताब लिएकाहरूबाटै जनता र मुलुक खतरामा पर्नुपर्छ भन्ने भाव सञ्चार गर्दै कविता भन्छ–
बस्तीहरूलाई  आतंकित बनाउँदै
रातो किताब बोकेरै
कहिले कालो ओडारभित्र पस्छ
र, त्यहाँ बुझिने, बुझिने कुरा गर्छ
कहिले मसँग आएर
नबुझिने, नबुझिने कुरा गर्छ । (पृष्ठ ः १७)
(६) दुख्ने मनहरूसँग ः— मन दुखाउनेहरूसँग नाता तोड्दामा नै उन्नति सम्भव हुन्छ । बेरोजगारीले, दाइजोले, सामन्तले अनि देश मिचाहाहरूले हामीलाई कंगालपति बनाइरहेका छन् । त्यस्ता फटाहाहरूले देश खोज्दै हिँडेका क्रान्तिका अभियन्ताहरूलाई ढाल्ने काम गरिरहेका छन् । देवी खड्का, च्याङ्वा लामाको परिवार, शिव खड्काकी आमाहरूको कहालीलाग्दो अवसान पार्नेहरूसँग विद्रोह गर्नुपर्ने आवश्यकता कविताले गराएको छ –
कहिले मन
देवी खड्काको बाबुसँगै दुख्छ
च्याङ्वा लामाको परिवार भएरै दुख्छ
शिव खड्काकी आमा बनेरै दुख्छ,
कहिलेकाँही यस्तो लाग्छ
नेपाल घाउ नै घाउको देश हो
म घाउ नै घाउ भएको देशको नागरिक हुँ । (पृष्ठ ः २१)
(७) म तिम्रा कविताको विरुद्धमा लेख्छु ः— जनपक्ष र जनप्रतिपक्षको लडाइँ लामो समयदेखि निरन्तर चलिरहेको छ । कसले जित्छ भन्दा पनि कसले जित्नुपर्छ भन्ने कुरा ठूलो हो । सामन्तहरूको मुखपत्र भएर अखबारहरू उभिएको पनि भेटिन्छ । जनताको दविएको आवाजलाई बुलन्द गर्ने गरी अखवारका पानाहरू कुँदिएको पनि भेटिन्छ । अरूको त के कुरा कलमले ज्यान बचाइरहेकाहरू पनि कलमको दुरुपयोग गरी मालामाल भएका छन् भने कोहीकोही त्यही कलमको सदुपयोग गरेर जनताका आँखाका नानी पनि भएका छन् । जनपक्षिय मतलाई हृदयदेखि नै स्वागत गरेर र जनघाती मतलाई विरोध गरेर लेखिएको यो कविताले भन्छ–
म यत्तिबेला
पल्टु थारूको छानो चुहिएको बेला
शासकहरू बस्तीभित्र पसेर
देवी खड्कालाई बलात्कार गरिरहेको बेला
दरबारको अट्टालिकामा घुम्ने
कुनै राजकुमारीका यौनका व्यथाहरू
म कसरी लेख्न सक्छु ? (पृष्ठ ः २४)
(८) सर्प पूजा ः— स्वार्थको भाँडो जतालाग्दा भरिन्छ, त्यतै लाग्ने अवसरवादीहरूको कर्तुतलाई उदांगो पार्ने काम यस कविताले गरेको छ । तिनै नेता हुन्, जो समयअनुसार छेपारे प्रवृत्ति अपनाउँछन् । तिनका मुखमा पञ्चायतलाई पनि जिन्दावाद, बहुदललाई पनि जिन्दावाद र अहिले गणतन्त्रलाई पनि जिन्दावाद थियो र छँदै छ । अवसरको खोजीमा रहेकाहरू विरुद्ध औँलो ठड्याउँदै कविता कुर्लन्छ–
प्रजातन्त्रको नारा
सर्पहरूले लगाए पनि
लाचार हामी सुनिरह्यौँ
कहिलेसम्म सुन्छौँ ?
तर उही खतरामा
अझसम्म सुनिरह्यौँ । (पृष्ठ ः २६)
(९) अब आफ्नै बाटो रोज्नुपर्छ ः—कलाकार प्रवीण गुरुङ्गको हत्या एउटाले गरेको र आरोप अर्कैमा थुपारी सजाय दिइएको तीतोयथार्थलाई सम्बोधन गरेर यस कवितामार्फत वर्तमानको आवाज बुलन्द गरिएको छ । साँचो हत्यारा पानी माथिको ओभानो भई सार्वजनिक जीवन भोगिरहेको परिप्रेक्ष्य कोट्याउँदै प्रवीणका सन्तानले बाबुकै हत्याराको जन्म दिन मनाउने र त्यसकै मृत्युमा कपाल खौरी शोक मनाउने स्थिति रहेको वोध  गराउँछ –
के बाँकी रह्यो अब
हारिरहेकी तिमी
हारिरहेका हामीहरू
जित्नेलाई पो हार्नको डर
हार्नेहरूले बारम्बार धावा बोले हुन्छ । (पृष्ठ ः २९)
(१०) जलजला ः— जलजला महत्व बोकेको पहाड हो । जलजलालाई देखेर वीरताको गौरवगाथा भाका हालेर गाउने मन हुन्छ । शक्ति र सौन्दर्य बोकेर जलजला हामीलाई छहारी दिइरहेको छ । हामी भने गाँस, वास र कपासको खोजीमा त्यस छहारीबाट बाहिरिन्छौँ र पुनः समय, श्रम र शक्ति विदेशी भूमिमा सुम्पी विकलाङ्ग बनी मृत्यु पर्खन मात्र छहारीमा आउँछौँ । यस विडम्बनालाई चिर्दै कवि विदेशी लात र वातभन्दा स्वदेशी रुखो सुखोमा सन्तोष मानी यहीँ दशनङ्ग्रा खियाउन  र विवेकको लगानी गर्न आग्रह गर्दै यस धर्तीलाई हराभर पार्न आह्वान गर्दछन् –
जलजला, काख फराकिलो पार्नुपर्छ
यात्रा अझै लामो छ
जूनसँग अंगालो हालेर
नाच्ने दिन अझै, अझै टाढा छ । (पृष्ठ ः ३०)
(११) प्रिय मान्छेका गीतहरू ः— लेख्नेहरूले लेखे । कसैले देखेका कुरा लेखे, कसैले देखेका कुरा छाडेर नदेखेका  कुरा लेखे । जसले नदेखी हावादारी तालले गद्दारका पक्षमा लेख्यो, त्यसको मूल्य नै  रहेन । समाजमा अनिष्टता निम्त्याउने कार्य गरेर त्यस्ता मान्छेले मान्छे भ्रष्ट पार्ने गीत लेख्यो । त्यसले लेखेका गीतहरूले मान्छे खाए । मान्छे खाने गीतको विपक्षमा उभिएर कवि मातृका पोखरेल मान्छेको मन खाने गीत लेख्न र गाउन रुचाउँछन् –
अब मैले लेख्नैपर्छ
असल मान्छेका गीतहरू
मैले गाउनैपर्छ
प्रिय मान्छेका गीतहरू । (पृष्ठ ः ३५)
(१२) नागरिक ः— जलेको देशको तापमा रमाउने मान्छे नागरिक हुन सक्दैन । देश जलाउँनु अर्थात् देशलाई घाटा हुने काम गर्नु गद्दारी कर्म हो । उसको नागरिक धर्म यही हो कि उसले मुलुकको कल्याणमा जीवन समर्पण गर्नुपर्छ भन्दै कविता भन्छ–
ऊ हाम्रै सहरमा बस्छ
यतै वरपर बस्छ
तर देश जलाउँछ
र आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो । (पृष्ठ ः ३६)
(१३) भविष्यका लागि ः— गरिखाने वर्गको श्रम चुसेर र खोसेर खानेहरूले विदेशी दलालहरूसँग मिलेमतो गरी जनयुद्ध दवाउन गरेको प्रयत्नका बारेमा चर्चा गर्दै कविता भन्छ –
हाम्रो प्रिय जङ्गलमा
विदेशी गिद्धहरू आयात गर्ने
प्रस्ताव गरिएको बेला,
हामी प्वाल परेको देशलाई
टाल्ने योजना बनाइरहेछौँ । (पृष्ठ ः ३९)
(१४) कलिला जूनहरूको श्रद्धाञ्जलीमा ः— समयको माँगअनुरूप गर्नुपर्ने कुरा गर्दा विद्रोही हुनुपर्ने, आफ्नो हक माग्दा आतंककारीको विल्ला बोक्नुपर्ने अवस्थाहरूबाट पार पाउन जनयुद्धमा लामबद्ध भएकाहरूको स्वागतका निम्ति कवि तयार भएका छन् । युद्धताका कहालीलाग्दा दिनहरू आएका र देशका लालयोद्धाहरू गुमेका कुराले कवि मन रोएको छ –
पोहोर साल
बगैँचालाई फराकिलो पारेँ
र धान रोप्ने खेतमा
राम्रा पातका फूलहरू रोपेँ
छोरीले मागेकी थिई
केही थुँगा फक्रेका फूलहरू
चुल्ठोमा लाउन,
मैले त्यस वर्ष पनि
एकथुँगा फक्रेको फूल
आफ्ना लागि राखिनँ,
कलिला जूनहरूको श्रद्धाञ्जलीमा
मेरो बगैँचा मरुभूमिझैँ रित्तियो । (पृष्ठ ः ४२)
(१५) उज्यालो हुनु अघि ः— दबाएर बसिखानेहरूको एकाधिकार हटाई रुढिग्रस्त कुरूप समाजको रूपान्तरण गरेर समृद्धशाली समाज निर्माण गर्ने चाहनाबाट प्रेरित भई क्रान्तिमा होमिएका लालयोद्धाहरूलाई मृत्युको मुखमा पुर्याउन सरकारले चालेका जनघाती कदमलाई धिकार्दै कविता विष ओकल्दछ–
गोमन सर्पजस्तै
विषालु मान्छेहरू
उज्यालो मार्न
शहरबाटै गाउँ पसेका छन्
यस पटक शहरले
गाउँकै मान्छे किनेर
गाउँ मार्न पठायो । (पृष्ठ ः ४३ र ४४)
(१६) स्यम्भूका आँखासँग ः— सामन्तको एकछत्र राज भत्काउने ऊर्जाशील कवि एवं पत्रकार कृष्ण सेन ‘इच्छुक’लाई कलम चलाएकै आधारमा निर्र्मम हत्या गर्ने कायर सरकारप्रति आक्रोशित हुँदै र ‘इच्छुक’प्रति श्रद्धाभाव खन्याउँदै कवि स्वयम्भुका आँखाहरूसँग प्रश्न राख्छन् –
यो उचाइमा बसेर
मेरो प्रिय कविको लास
तिमीले कतै चिन्यौ कि चिनेनौ ?
भन स्वयम्भुका आँखाहरू,
मेरो प्रिय कवि मारिँदाको साक्षी
पक्कै तिमी हुन सक्छौ
तिमीले उसलाई कतै देख्यौ कि देखेनौ ? (पृष्ठ ः ४७)
(१७) बाटाहरू–१ ः—हाम्रा बाटाहरू भिन्न भिन्न छन् तर गन्तव्य एउटै हुनुपर्छ । वास्तविकता त्यस्तो छैन । जसरी बाटाहरू फरक छन्, त्यसरी नै गन्तव्य फरक पार्नेहरू पनि मनग्यै छन् । जनमुखी बाटोमा हिँड्न वैयक्तिक स्वार्थबाट अलगिनुपर्छ । निजी स्वार्थबाट टाढिएकाहरू मात्र विकासका कुरा गर्छन्, समाजका दुखियाहरूलाई सुखको बाटो देखाई दिन्छन् तर स्वार्थले जेलिएकाहरू अनाथहरूको रगतले होली खेल्छन्, अर्काको पसिनाले नुहाउँछन् र आफ्नो अजीर्ण पेट मुसार्छन् । यसरी बाटाहरू अलग अलग भएको देखाउँदै कविता भन्छ –
हामी अनिंदो बसेर रातभर
दिनको कुरा गथ्र्यौं
ऊ बन्द ढोकाभित्र बसेर दिनभर
रातको कुरा गथ्र्यो
हामी भोलिका निम्ति
जूनको कुरा गथ्र्यौं
ऊ कुनामा बसेर
अँध्यारोको गीत गाउँथ्यो । (पृष्ठ ः ४८)
(१८) बाटाहरू–२ ः— लुटाहाहरूको लुट्ने प्रवृति भिन्न किसिमको हुन्छ । जब सिकार हात पर्छ, लुटिहाल्छन् । नपरेको खण्डमा साधु बनेर बाटो ढुक्छन् । त्यस्ता अनैतिक र अमर्यादित बाटोमा हिँड्नेहरूदेखि सावधान गराउँदै कविताले भनेको छ –
जब कुबाटोमा लेउ लाग्छ
उनीहरू एक साथ हाम्रो बाटोमा झम्टन्छन्
र, क्रुर युद्ध लड्छन्,
हामीले तयार हुनुपर्छ त्यो युद्धको लागि
हामीले जोगाउनुपर्छ
आफू हिँड्ने बाटोलाई
हाम्रो प्रिय बाटोलाई । (पृष्ठ ः ५१)
(१९) बाटाहरू–३ ः— उज्यालो माग्नेका छातीमा बुट हानेर अँध्यारो राज निम्त्याउने र ढलिमली गर्ने सोचलाई थप्पड हान्दै चुनौती दिने काम कविताले गरेको छ –
सेता लुगा लगाएर स्यालहरू
पशुपालन गर्ने योजनाको
प्रस्ताव पेश गरिरहेछन्
रुखको कापमा बसेर उल्लूहरू
पान चवाउँदै,
देश बनाउने सपना बाँडिरहेका छन् । (पृष्ठ ः ५२)
(२०) यात्राको एउटा दृष्य ः— माघ १९ को कदमबाट जनअधिकार हनन गरी निरंकुश सत्ता लादेपछिका समयमा दरबार नजिक भएर देश र जनतालाई लुट्ने र भुट्ने नेतानेतृको बुझिनसक्नुको लीला देखेर कवि आक्रोश पोख्दछन्–
मीठो सपना बलात्कार गरेर
भर्खरै मात्र
कमलपित्तका रोगीहरू
दरबार मार्गको बाटो
उत्तरतिर लागेका छन्
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौँ । (पृष्ठ ः ५६)
(२१) एउटा पूजारीको आत्मव्यथा ः— देश र जनताका लागि जीवन बलिदानी गर्ने श्रद्धेय सहिदहरूको शालिक माथि राजा त्रिभुवनको शालिक रहेको देख्दा र १०४ वर्षे जहानियाँ निरंकुश सत्ता लाद्ने जंगबहादुर, सहिदहरू (दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, १९९७)लाई फाँसी चढाउने नरशमसेरहरूको त्रास अझै ज्यूँदै रहेको परिप्रेक्ष्यलाई समेट्दै कवितामा सहिदहरूप्रति सही तवरले श्रद्धा राख्नुपर्ने विचार यस कविताले गरेको छ –
म प्रत्येक विहान
सहिदलाई पूजा गर्न सहिदगेट जान्छु
तर सहिदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
सहिदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ
म सहिदगेटको एउटा पीडित पुजारी । (पृष्ठ ः ५७)
(२२) सपना ः तौली तौलीकन शब्दहरू बोल्नुपर्ने, आफ्ना मनका करुण भावहरू पनि गुम्स्याएर दासमनोवृतिले पगालेका शब्दहरू मात्र प्रयोग गर्नुपर्ने, सपनाहरू धुजाधुजा बनाउन वाध्य हुनुपर्ने जस्ता अवस्थाबाट पार पाउने चाहना राख्नु र भोकोले पेट भर्न र नाङ्गोले आङ्ग ढाक्न पाउँनुपर्छ भन्ने आवाज गुञ्जाउनु सचेत वर्गको धर्म हो । तर मुठ्ठीभरका मान्छे मानसिक दरिद्रले ग्रस्त भएर पुरातनवादी कुसंस्कारी सोचलाई नै निरन्तरता दिई राजनीतिलाई मागिखाने भाँडो बनाएकोमा कवितामा रुष्टता व्यक्त गरिएको छ । देश र जनताका सपनाहरू कुल्चिएर भ्रष्टचारी सर्वदा वर्चस्वमै रहेको देख्दा कवि आक्रोस पोख्दछन्–
अपराधीहरू
जेलको पर्खाल बाहिर
बेरोकटोक घुमिरहेछन्
र शहरका चोकहरूमा
दुष्टकथा
हामीलाई सगर्व सुनाइरहेका छन्
भ्रष्टचारको आरोपमा जागिर खुस्केको भलाद्मी
गरिवी निवारणको कार्यक्रम
मेरै सामु फलाक्छ
धेरै समय भइसक्यो
म उनीहरूसँगै छु । (पृष्ठ ः ५९)

ई. उपसंहार ः
कवि पोखरेलका कवितामा वर्गीय माया, वर्गीय घृणा, सहिदश्रद्धाजस्ता भावना प्रशस्त पाइन्छ । शान्तिलाई बचाएर राख्ने काम सबैको हो । शान्ति कलिलो र कफलो हुन्छ । त्यसलाई हुर्काउन, बचाउन गाह्रो हुन्छ तर नाश गर्न वा भङ्ग गर्न सजिलो हुन्छ । शान्तिको घाँटी निमोठ्ने काम प्रशासनीक संयन्त्रद्वारा नै भएको र नेपाली जनताले कहर काटेर जिउनु परेको दुर्दशालाई मार्मिकतरवले प्रस्तुत गर्ने काम कवितामा भएको छ । उनका कविताहरू शक्तिशाली बम, बन्दुक र बारुदजस्ता क्षणभरमै प्रभाव जमाउने र क्षणभरमै प्रभाव गुमाउनेजस्ता घातक नभई विस्तारै विस्तारै प्रभाव पार्ने खालका रसिला छन् । पाठकको मन तान्ने क्षमता प्रायः सबै कविताहरूमा छ । वास्तवमा सुशासनको रट लगाउनु अघि सबैले खाना खान पाउँदा, त्यही खानाको जोह गर्न काम गर्न पाउँदा नै समाजले अग्रगति लिन सक्छ । समग्रमा कवि पोखरेलका काव्यगत                                                                         प्रवृतिहरूलाई यस प्रकार केलाउन सकिन्छ ।
(१) समाजवादी, यथार्थवादी धाराका पृष्ठपोषक, (२) वर्गीय चेतनाले ओतप्रोत, (३) माक्र्सवादी दर्शन अंगिकार गर्ने कवि,  (४) जनयुद्धप्रति अनुरागी भावना (५) मानतावादी दृष्टिकोण, (६) कलमले समाज रूपान्तरण गर्नु पर्ने भावना जाहेर, (७) समाजको सजीव चित्रण, (८) माक्र्सवादी दर्शनलाई आदर्शपुञ्ज ठान्नु, (९) क्रान्तियोद्धाहरू निस्वार्थी हुनुपर्ने विचार प्रकट, (१०) शहादत प्राप्त मुक्तिमार्गका हिमायतीहरूप्रति श्रद्धा र आस्था, (११) यथास्थितिवादी र पश्चगमनवादीहरूको विरोध, (१२) राज्यआतंकको भत्र्सना, (१३) अग्रगमनको दिशामा लम्केको राष्ट्रनिर्माणमा जोड, (१४) जीवनवादी एवं आशावादी विचार प्रेषण, (१५) निमुखाहरूको आवाज बुलन्द पार्ने कवि, (१६) राष्ट्रिय अखण्डता, एकता र मेलमिलापका पक्षधर, (१७) सकारात्मक परिवर्तनको पक्षमा वकालत, (१८) सरल, सहज, मीठासपूर्ण भाषाशैली र समाजमा पचेका बिम्व, अलंकार एवं प्रतीकहरूको प्रयोग ।
           कवि मातृका पोखरेल र उनका कविताका वारेमा विद्वान् दाहाल यज्ञनिधि भूमिकामा लेख्छन्, ‘यो ‘यात्राको एउटा दृष्य’ कविता संग्रह ल्याउने कवि मातृका पोखरेललाई पनि घडीचरो (यसले उज्यालो हुने प्रहर बताउँछ ।)को भोग दिन पछि पर्ने छैनन्, जुठोपुरो खाएर डकार्न पल्किएका समालोचक नामका  केही ढाडे, ढँट्वारेहरूले भन्ने चाहिँ मलाई अहिल्यै अन्सार छ । तर पनि हामी कति बाँच्छौँ होइन कसरी बाँच्छौँसँगको उत्तर भने मातृका पोखरेलले दिनुभएको सबुतले म गद्गद भएको छु ।’ अर्का विद्वान् डा. ताराकान्त पाण्डेय लेख्छन्, ‘शब्दलाई संवेदनामा मुछेर कवितालाई आकार दिने मातृका त्यही कविताको कोदालीले विचारको भूमिलाई कोट्याउदै अग्रगामी चेतनाको सयपत्री रोप्न सक्रिय छन् ।’ अतः अन्धविश्वासी, रुढिवादी एवं जढसूत्रवादीहरूको झाँको झारेर नयाँ नेपाल निर्माणका लागि नयाँ जोस थप्न कवि मातृका पोखरेल सक्षम छन् र उनको ‘यात्राको एउटा दृष्य’ कविता संग्रह पनि सफल देखिन्छ ।

अभिव्यक्ति त्रैमासिक बर्ष४१ पूर्णाङ्क १५२, फागुन चैत्र २०६७
















=====================================









No comments: