Wednesday, September 13, 2017

कला र विचारमा माझिएका र परिवर्तनको राग बोकेका कविता - पूर्ण इन्फादा

पृष्ठभूमि


नेपाली कविता साहित्यको उद्भवसँगै कविहरूले कवितालाई आफ्नो जीवनभोगाइ र आस्थाअनुरूप परिभाषित गर्ने काम गरिरहेका छन् । समकालीन माक्र्सवादी–प्रगतिवादी विचारमा आस्था राखेर कविता सिर्जनामा लाग्ने कवि मातृका पोखरेल पनि आफ्नो ढङ्गबाट कवितालाई परिभाषित गर्छन् । मातृका पोखरेल समाजको अवस्थालाई उजागर गर्दै त्यसलाई अझ सुसभ्य र उन्नत बनाउने काम साहित्यले गर्नुपर्छ भन्ने मान्यता राख्दछन् । साहित्यमा सबै एकापट्टि भन्ने मान्यताप्रति विमति राख्छन् र राजनीतिमा झैं को कतापट्टि भन्ने कुरालाई नकार्दा उट्पट्याङ जस्तो हुन्छ भन्ने ठहर छ उनको । कवितालाई सामाजिक र ऐतिहासिक सन्दर्भबाट अलग्याएर आकस्मिक संयोगका रूपमा हेर्न मिल्दैन भन्ने क्रिस्टोफर कडेलको भनाइसँग कवि मातृका पोखरेल ऐक्यबद्धता जनाउँछन् । जीवन र समय अभिव्यक्त नभएको कविता पढ्न नरुचाउने कवि मातृका पोखरेल प्रिय मानिसले भोगेका पीडा र शोषणलाई उजागर गरेर भविष्यप्रति उनीहरूलाई कविताका माध्यमबाट बाटो देखाउनुलाई कर्तव्यबोध ठान्दछन् ।

नेपाली कविता साहित्यमा एक थरि मान्छेहरू राजनीतिबाट कवितालाई अलग राख्नुपर्छ भन्ने ढोङ देखाउँछन् र स्वयं राजनीति गरिरहेका हुन्छन् । एक थरि कविहरू कविता राजनीतिबाट निरपेक्ष हुन सक्दैन भन्दछन् र आफ्नो आस्थाअनुरूप कविता सिर्जना गर्दछन् । कवि मातृका पोखरेल पनि पछिल्लो विचारका पक्षपाती हुन् । यही कारणले नेपाली कविता साहित्यमा उनको छुट्टै पहिचान छ । कथित कलाका नाममा कवितामा अस्वाभाविक रङ दलेर अमूर्त र रहस्यमय बनाउन उचित नठान्ने कवि मातृका पोखरेल समकालीन नेपाली साहित्यमा कविता, कथा, संस्मरण आदि विधामा कलम चलाउने र आस्थाको साहित्य लेख्ने स्रष्टा हुन् । उनले विशेष गरेर कविता विधामा बढी सक्रियता देखाएको पाइन्छ ।

उदयपुरको ठाना गाउँमा वि.सं. २०२३ साउन ९ गते जन्मेका कवि मातृका पोखरेलले प्रवेशिकासम्मको शिक्षादीक्षा गाउँमै अध्ययन गरे भने आईए महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट गरे । त्यसपछि रन्थनिँदै काठमाडौँ हाँकिएका कवि पोखरेलले स्नातक आरआर क्याम्पसबाट गरे र बीएड र एमए नेपाली विषयमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट गरे । 

सानै उमेरदेखि माक्र्सवादी दर्शनको प्रभावमा परेका मातृका पोखरेलले उच्च शिक्षा हासिल गर्दा झन् वैचारिक रूपमा निक्खर र प्रतिबद्ध हुँदै गएको भेटिन्छ । माक्र्सवादी वैचारिक दर्शन नै सबैभन्दा उत्कृष्ट र वैज्ञानिक हो भन्ने उनको ठहर छ । यसबाट मात्रै उत्पीडित वर्गले उन्मुक्ति पाउन सक्छ भन्ने विश्वास छ उनमा ।
बाल्यकालदेखि साहित्य सिर्जना गर्न रुचाउने मातृका पोखरेलले कति कविता लेख्दै च्यात्दै गरे । थुप्रै प्रतियोगितामा भाग लिएर अरूलाई पछार्न पनि सफल भए । गाउँको विद्यालयदेखि उच्च शिक्षा अध्ययनका क्रममा विराटनगरमा समेत कहिले प्रतियोगी बने त कहिले आयोजक बनेर नेपाली काव्य साहित्यको सेवामा लागिरहे । ०४४।४५ सालतिर समीक्षा (साप्ताहिक) पत्रिकामा ‘सूर्य उदाऊ अब’ शीर्षकको कविता पहिलोपटक प्रकाशित गरेपछि भने उनलाई साँच्चिकै कविताको नशा लागेको पाइन्छ । त्यसपछि काठमाडौंलाई केन्द्र बनाएर निरन्तर साहित्यलेखनमा लागिरहेका छन् । सेतो दरबारको छेउबाट (२०५६), यात्राको एउटा दृश्य (२०६०) र अनुहारहरू (२०६४) गरी उनका तीनवटा कविताकृति प्रकाशित भइसकेका छन् । विभिन्न पत्रपत्रिकामा फुटकर रचनाहरू प्रकाशित भइरहेका छन् । उनले वेदना (त्रैमासिक) र ज्योति (त्रैमासिक) इन्द्रेणी जस्ता साहित्यिक पत्रिकाको कुशल सम्पादन पनि गरिरहेका छन् ।

कवि मातृका पोखरेलका कवितामा कला र विचारको संयोजन सरल भाषा शैलीका माध्यमबाट गरिएको हुन्छ । उनका कवितामा निम्नवर्गीय समाजका मान्छेको उत्पीडन मुखरित भएको हुन्छ भने सम्भ्रान्त र उत्पीडक वर्गको तेजोवध गरिएको हुन्छ । कवि मातृका पोखरेल समाज वर्गीय हुने हुनाले साहित्य पनि त्यसबाट अलग रहन सक्दैन भन्ने मान्यता राख्दछन् । मानवीय स्वतन्त्रता र उज्यालोको पक्षमा कवि जहिले पनि कविताका माध्यमबाट आवाज उठाउन चाहन्छन् । भविष्यप्रति आशावादी भएर कलम चलाउने स्रष्टा मातृका पोखरेल यथास्थितिमा रमाउन चाहनेहरूसँग तीव्र आक्रोश व्यक्त गर्दछन् । राजनीतिक बेइमानी र संशोधनवादका विपक्षमा सधैँ उभिने कवि मातृका पोखरेल वर्गीय, जातीय र लिङ्गीय समानताको पक्षमा आफ्ना कवितामार्फत् ऐक्यबद्धता जनाउँदछन् । जनतालाई फोस्रा आश्वासन र सपना देखाएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेप्रति व्यङ्ग्य र आक्रोश व्यक्त गर्छन् भने निरन्तर क्रान्ति र परिवर्तनलाई आत्मसात् गर्दछन् ।

कवि मातृका पोखरेलका कवितामा कला, विचार र भावसम्प्रेषणीयता उच्च रूपमा देख्न सकिन्छ । यति मात्रै होइन, उनका कवितामा वैचारिक आक्रोशपूर्ण व्यङ्ग्य आक्रामक ढङ्गबाट प्रस्तुत भएको पनि भेट्न सकिन्छ । सरल भाषिक सम्प्रेषणीयतामा संरचित उनका कविता सामान्य पाठकले समेत बुझ्न सक्छन् । रमरम बौद्धिकताको खेल कवितामा खेल्न रुचाउने मातृका पोखरेलका कवितामा गद्यात्मक लय भेट्टाइन्छ । आन्तरिक र बाह्य दुवै रूपमा कविताको बनोट संरचना कसिलो छ । उनका तीनवटा कवितासङ्ग्रहमा पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो सङ्ग्रह बढी प्रौढ देखिन्छ । यस आलेखमा उनका तीनवटै कविता सङ्ग्रहका चौसट्ठी कविताको तल उल्लेख गरिएका दृष्टिकोणबाट अध्ययन गर्ने प्रयास गरिएको छ ।

१. वैचारिक चेतना
२. व्यङ्ग्य प्रयोग
३. बिम्ब संयोजन
४. कलाको प्रयोग
कवि र कवितालाई हेर्ने र अध्ययन गर्ने सबैका आ–आफ्नै किसिमका शैलीगत विशेषता र दृष्टिकोणहरू हुन सक्छन् । मैले पनि यो छोटो अध्ययनमा आफ्नै किसिमको दृष्टिकोण अघि सारेको छु । माथि उल्लेख गरेभन्दा भिन्न शीर्षक र दृष्टिकोणबाट पनि कवि मातृका पोखरेलका कवितालाई अध्ययन–विश्लेषण गर्न नसकिने होइन तर अहिले यिनै पक्षमा केन्द्रित रहेर अध्ययन गर्ने प्रयास गरेको छु ।

वैचारिक चेतना
कवि मातृका पोखरेलका कवितामा वैचारिक चेतनाको उद्बोधन बेजोड ढङ्गले मडारिएको हुन्छ । उनका कवितालाई अन्य विभिन्न कोणबाट समेत अध्ययन गर्ने धृष्टता गरेर कविमाथि कतै घोर अन्याय पो गरेँ कि भनेर मलाई एक किसिमले छटपटी भइरहेको छ यतिखेर । ‘मलाई मेरा प्रियजनहरूले भोगेका शोषणका पीडाहरू उनेर उनीहरूलाई भविष्यको बाटो देखाउने कविता लेख्ता म त्यसमा आफ्नो कर्तव्यबोध भेट्टाउँछु’ भन्ने उद्घोष गर्ने कवि मातृका पोखरेल कवितामा विचारको सघनता रुचाउँछन् भनेर अड्कल गर्न कुनै किसिमको कठिनाइ हुन्न । कवि कवितामा मानवजुनी भोगाइको समय छचल्किएको हेर्न रुचाउँछन् । वैचारिक सघनता नभएको कवितालाई उनी मृतप्रायः ठान्छन् । त्यसमा पनि माक्र्सवादी भौतिकवादी दर्शनको रुझान राख्छन् कवि मातृका पोखरेल । सेतो दरबारको छेउबाट र यात्राको एउटा दृश्य हुँदै अनुहारहरूसम्म आइपुग्दा उनले कतै पनि वैचारिक पक्षलाई कमजोर हुन दिएका छैनन् कवितामा । निम्नवर्गीय मानव समाजका जटिलतम भोगाइलाई कवितामा जीवन्त रूपमा र चित्रात्मक रूपमा देखाउने प्रयास गरेका हुन्छन् कवि मातृका पोखरेलले ।

कवि मातृका पोखरेलका कवितामा अन्तर्वस्तु र शैलीको सुन्दर र कलात्मक संयोजन पाइन्छ । उनका कविताको अन्तर्वस्तु भनेको माथि उल्लेख गरेअनुसार उत्पीडित मानवसमाजको मूल्य र मान्यता खोज्नु हो । समाजमा सबैले आ–आफ्नो अस्तित्व खोजिरहेका हुन्छन् । उनका कविताले विपन्न समाजका मान्छेको अस्तित्वको खोजी व्यग्र रूपमा गरेका हुन्छन् । वर्गीय चेतनाको उद्बोधनलाई उनका कविताले मूल रूपमा लिएको पाइन्छ । जसको उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ–

म सगौरव घोषणा गर्छु
कुनै छाप्राको भड्खारोमा भए पनि
गलतीका कुनाकाप्चाहरूमा
हुनेखाने भुँडीवालहरूले कुल्चे पनि
मेरा कविता अजम्बरी हुन् ।
(अजम्बरी कविताः सेतो दरबारको छेउबाट, पृ. २)
यहाँ कविले उत्पीडित वर्गप्रति श्रद्धा व्यक्त गरेका छन् । साहित्यले उत्पीडित वर्गको चेतनालार्य बोक्नुपर्छ भन्ने दृष्टिकोण सगौरव अघि सारेका छन् । कवितालाई उत्पीडित वर्गको पक्षमा लड्ने अजम्बरी अस्त्रको रूपमा र उत्पीडकको लागि घातक हतियारका रूपमा प्रयोग गरेका छन् । कविता वैचारिक अस्त्र हो भन्ने दृष्टिकोणलाई पुष्टि गरेका छन् कवि मातृका पोखरेलले । उनले यहाँ दुर्गम क्षेत्रका निम्न वर्गप्रति सम्मान व्यक्त गरेका छन् ।
कवि मातृका पोखरेलका कवितामा सामन्तवादी प्रवृत्तिप्रति एकदमै घृणा व्यक्त गरिएको हुन्छ । उनका कवितामा समाजको गतिशीलता रोक्न सामन्तवादी र यथास्थितिवादी जड पहाड भएर उभिएका छन् भन्ने ठहर गरिएको छ । पुराना राज्यसंयन्त्रले बहुसङ्ख्यक जनताको हितका पक्षमा केही गर्न नसक्ने दृष्टिकोण कविले कवितामा अभिव्यक्त गर्दछन् ।
अदालतका प्रत्येक मिसिलहरूमा
हामीहरू सबैले हेरे हुन्छ
ऊ चेतनासँग मुद्दा लड्छ
जेलघरहरू सर्जमिनमा साथ दिन्छन्
भुइँचालोको सूचना पाएको म्याद बोकेर
अचेल ऊ वरिपरि निहाल्छ
हाम्रो बस्तीको बीचमा ।
(सेतो दरबारः सेतो दरबारको छेउबाट, पृ. २७)
कविले यहाँ राज्यको महत्वपूर्ण अदालत पुराना कानुनको चाङ लगाएर बसेको र न्याय र मुक्तिको पक्षमा लड्नेहरूका विरुद्ध शासकको इसारामा चेतनाहरूमाथि निर्मम ढङ्गले खनिएको दृष्टिकोण अघि सारेका छन् । चेतनाको संवाहक जनताले नयाँ तरिकाले विद्रोहको तयारी गरिरहेको अवस्थामा शासकले कसरी दमन गर्न सकिन्छ भनेर योजना बनाएको नग्न चित्रलाई यहाँ प्रस्तुत गरिएको छ । राज्यका सम्पूर्ण अङ्गहरू परिवर्तन नगरीकन देश र जनताले परिवर्तनको अनुभूति गर्न सक्दैनन् भन्ने दृष्टिकोण राखेका छन् कविले ।
कवि पोखरेल साम्राज्यवाद र विस्तारवादले नेपाली रगतको अवमूल्यन भएकोमा चिन्ता व्यक्त गर्दछन् । साथै विदेशी अस्तित्वका लागि होइन, नेपाली अस्तित्वका लागि लड्नुपर्ने र रगत बगाउनुपर्ने धारणा राख्छन् । नेपाली युवाहरूले सयौँ वर्षदेखि राष्ट्रिय मुक्तिका लागि होइन, विदेशीको स्वार्थका लागि रगत बगाउन विवश हुँदै आएकोमा चिन्ता व्यक्त गरेका छन् । 
अब छोङपाङले बुझ्नुपर्छ
र छोङपाङहरूको देश नेपालले बुझ्नुपर्छ
के हामी फेक्ल्यान्डको लागि जन्मिएका हौं ?
कि कारगिलको लागि हुर्किएका हौं ?
आफ्नै अस्तित्व चोइटिएको बेलामा
भन छोङपाङ !
(छोङपाङ ! तिमीले कस्तो सपना 
देख्यौ ?,’ सेतो दरबारको छेउबाट, पृ. ३२)
यहाँ कवि मातृका पोखरेलले छोङपाङलाई बिम्बका रुपमा उभ्याएर सिङ्गो नेपाली जातिले भोग्नुपरेको नियतिलाई देखाएका छन् । नेपाली समाजको युवा प्रतिनिधि पात्र छोङपाङ हो । थुप्रै छोङपाङहरूले आफ्नो राष्ट्रको अस्तित्व खतरामा परेको बेलामा पनि फोकल्यान्ड, कारगिल, मलेसिया, हङकङ, बर्मा, सिङ्गापुरजस्ता ठाउँमा गएर साम्राज्यवादको स्वार्थका लागि रगत बगाएको कुरालाई इङ्गित गरेका छन् । यहाँ कविले नेपाली सामन्त शासकले आफ्नो सत्ता नडगमगाओस् भनेर युवा बुद्धि र बललाई बिदेसिन विवश पारेको अवधारणा अघि सारेका छन् । साथै आफ्नै देशमा मुक्ति युद्धमा सामेल भई राष्ट्रको अस्तित्व जोगाउनुपर्ने र विदेशीको गुलाम बन्न नहुने दृष्टिकोण जोडतोडले राखेका छन् ।
कवि मातृका पोखरेलका कवितामा समसामयिक अवस्थाको विशृङ्खल विषयवस्तु माक्र्सवादी यथार्थवादी दृष्टिकोणका आधारमा उठाइएको हुन्छ । सामाजिक उत्पीडनको विपक्षमा उभिएका हुन्छन् उनका कविता । अन्याय र अत्याचारको धज्जी उडाउँदै उत्पीडितको आवाजलाई कविताका माध्यमबाट अघि सारेका हुन्छन् कविले ।
उनीहरूलाई आफ्नो मान्छे भन्नुपर्दा
इज्जत गुम्ला भन्ने डर मान्नेहरू
चिनेर पनि नचिनेझैं गर्नेहरू
तिम्रो मानसको म साक्षी बन्न चाहन्नँ
इतिहासले तिमीलाई गर्ने घृणामा
मेरो पनि सहमति छ ।
(आफ्नै जस्तो लाग्योः सेतो दरबारको छेउबाट, पृ. ४१)
कविले यस कवितांशमा समाज वर्गविभाजित हुन्छ । उपल्लो वर्गले तल्लो वर्गलाई जहिले पनि घृणा र उपहास गर्छ भन्ने विचार अघि सारेका छन् । वर्गकै कारण आफन्तलाई पनि आफ्नो नभन्ने र नचिनेजस्तो प्रवृत्ति हाम्रो समाजमा बढ्दै गएकोमा खेद व्यक्त गरिएको छ । कवि वर्गविभाजित समाजको अन्त्य चाहन्छन् 
र यस्तो अन्यायी र अत्याचारी समाजको अन्त्य निम्नवर्गीय समाजले कुनै दिन गर्नेछ भन्ने कुरामा विश्वस्त छन् । वर्गविभाजित समाजमा हुने उत्पीडन साक्षी बनेर नबस्ने उद्घोष गर्छन् ।
कवि मातृका पोखरेल अन्याय र अत्याचारका विरुद्धमा भएको सङ्घर्ष वा आन्दोलनलाई समर्थन गर्छन् र ती लड्ने योद्धाहरूलाई होसियार हुन सचेत गराउँछन् ।
प्रत्येक दिन, प्रत्येक रात
मुखियाहरूका आँखाबाट
आफूलाई लुकाउनुपर्छ
साइँला तिमीले दाग्नुपर्नेहरू पनि
सुरक्षित लुकिरहेका छन् ।
(दुस्मनहरू सुरक्षित रहेको बेला ः यात्राको एउटा दृश्य, पृ.११)
यस कवितांशमा कविले नेकपा 
(माओवादी) ले गरेको दसवर्षे जनयुद्धको झल्को दिएका छन् । वर्गसङ्घर्षको यात्रामा हिँडेका न्यायप्रेमी साइँलाहरूलाई गाउँका वर्गदुस्मन मुखियाहरूबाट बचेर हिँड्नुपर्ने सुझाव दिन्छन् कवि । जुन किसिमले वर्गदुस्मनको सफाया हुनुपर्ने त्यो अझै नभइसकेको र तिनीहरू विभिन्न रूपमा लुकेर बसेका अनि तिनीहरूको अत्याचार समाप्त भइनसकेको विचार व्यक्त गरेका छन् यहाँ ।
कवि मातृका पोखरेल आफ्ना प्रायः कवितामा विसङ्गत इतिहासको अन्त्यको खोजी गर्छन् । समतामूलक समाजको स्थापनाको अपेक्षा पाइन्छ उनका कवितामा ।
हामी यति बेला कोरिरहेछौं सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी वेगवान् आँधीझैँ खोजिरहेछौं
उसको शवयात्राका मलामीहरू ।
(नयाँ शताब्दीको थोत्रो मान्छे ः अनुहारहरू, पृष्ठ ७)
यो माथिको कवितांशमा कविले निर्मम इतिहास जलाउनुपर्ने उद्घोष गरेका छन् । निर्मम र विसङ्गत इतिहासका निर्मातालाई बेगवान् आँधीको चक्रमा पारेर संवेदनाहीन अन्त्य गर्नुपर्ने अभिव्यक्तिलाई मुखरित गर्छन् । अथवा यहाँ कविले निरङ्कुश इतिहासको अन्त्यका लागि निर्मम सडक विद्रोहको आह्वान गरेका छन् ।

कवि मातृका पोखरेल उज्यालो इतिहासको निर्माणका लागि कविता लेख्छन् । मुठीभर व्यक्तिले सामाजिक संरचनामा हस्तक्षेप गरेकोमा निर्मम ढङ्गले रुष्ट हुन्छन् ।
केही अनुहारहरूका विरुद्ध
थुप्रै अनुहारहरू कसिरहेछन् मोर्चा
नयाँ भोलिको खोजीमा
यिनीहरूले नियालिरहेको पूर्व
मेरो पनि भविष्य हो ।
(अनुहारहरू ः अनुहारहरू, पृ. १०)
यस कवितामा कवि पोखरेलले परिवर्तनको चाहनालाई व्यक्त गरेका छन् । वर्ग शोषकप्रति घृणा र वर्ग शोषितप्रति सद्भाव व्यक्त गरिएको यस कवितामा भयानक विद्रोहपछि मात्र नयाँ समयको जन्म हुने र त्यस समयमा सबैले स्वतन्त्रता समानताको अनुभूति विचारलाई नग्न रूपमा प्रस्तुत गरेका छन् कविले ।
उनका कवितामा राष्ट्रिय स्वाभिमान र स्वाधीनताको चेतना मुखरित भएको पाइन्छ । इतिहासमा धेरैपटक नेपाली स्वाभिमान र स्वाधीनता अपमानित भएकोमा दुःखित देखिन्छन् कवि ।
शताब्दीयौंदेखि बोकिरहेको छु
सार्वभौमसत्ता गुमेको टाउको
मेरो चेतनाको बारीमा ।
(कसको जमीनः अनुहारहरू, पृ.१७)
नेपालीहरूले इतिहासका अनेकन मोडमा आफ्नो सार्वभौमसत्तामाथि विदेशीले नगन हस्तक्षेप गर्दा पनि शासकले मौन बसेको र राष्ट्रियतालाई महत्व नदिएकोमा चिन्ता व्यक्त गरेका छन् कविले उद्धृतांश कवितामा ।

कवि मातृका पोखरेलका कवितामा वैचारिक सघनता व्यग्र रूपमा मडारिएको हुन्छ । सामाजिक, राजनीतिक, आर्थिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय वर्गीय विचारलाई कला र सौन्दर्यका माध्यमबाट प्रस्तुत गरिएको पाइन्छ । समतामूलक मानव समाजको मूल्य र मान्यतालाई उनका कवितामा उत्खनन गर्ने जमर्को गरेको भेटिन्छ ।
व्यङ्ग्य प्रयोग
कवि मातृका पोखरेल कवितामा विचारको अलावा व्यङ्ग्य पक्षको पनि सघन उपस्थिति रुचाउँछन् । विविध किसिमका विकृतिका विरुद्ध कवितामा कलात्मक व्यङ्ग्यको आवश्यकता हुन्छ भन्ने मान्यता राख्छन् उनी । व्यङ्ग्यले कवितालाई जीवन्तता पनि दिन्छ, त्यसकारण कवितामा व्यङ्ग्यको सम्प्रेषणीयता आवश्यक पनि ठानिन्छ । व्यङ्ग्य पनि कविताको एक किसिमको सौन्दर्य हो । यसले कवितामा अलङ्कारको काम गर्दछ ।
मेरी आमा बिपनामा मात्र होइन
सपनामा पनि झस्किनुहुन्छ
अबुई कालो सर्प ?
(कालो सर्प ः सेतो दरबारको छेउबाट, पृ.७)

यहाँ कविले सामाजिक असङ्गति र धमिराहरुलाई कालो सर्पका रुपमा चित्रण गरेर त्यस्तो प्रवृत्तिमाथि नग्न व्यङ्ग्य गरेका छन् । यो प्रवृत्ति मानव समाजका लागि खतरापूर्ण हुन्छ भन्ने दृष्टिकोण राखेका छन् ।
रामैं खालको भ्रम पार्छ
जे जति कुराहरु गर्छ
रातो किताब बोकेरै गर्छ
रातो झन्डा ओढेरै गर्छ ।
(उसले पनि हाम्रै जस्तो कुरा गर्छः यात्राको एउटा दृश्य, पृ.१७)

यस कवितांशमा कविले नेपाली सामाजिक क्रान्तिमा जहिले पनि खुट्टो कमाएको र मानव जातिका सपनामा भ्रमको बज्र प्रहार गरेको कुरालाई इङ्गित गर्दै संशोधनवादी धारप्रति तीखो व्यङ्ग्य प्रहार गरेका छन् । जुन संशोधनवादको चरमचुलीमा पुगेको छ, त्यसैले रातो झन्डा र रातो किताब बोकेर क्रान्तिको फोस्रो कुरा गर्नु भ्रम मात्र हो भन्दै व्यङ्ग्य–बाण हानेका छन् कविले ।
मेची महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा ?
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतका लागि लेख्छु ।
(म तिम्रा कविताको विरुद्धमा लेख्छु ः यात्राको एउटा दृश्य, पृ.२४)

नेपाली कविता साहित्यमा शक्तिको पूजा गर्ने र सत्ताको भजन गाउने प्रवृत्तिप्रतिको व्यङ्ग्य हो यो कविको । आफ्नो देशको साँध–सिमाना मिचिइरहेको कुरामा चिन्ता नगर्ने तर आफ्नो सीमित स्वार्थ पूर्ति गर्न हिलारी क्लिन्टनलाई देवत्व बनाएर कविता प्रतियोगिता गरी भजन गाउने जुन प्रवृत्ति हाबी हुँदै गएको छ नेपाली कवितालेखन परम्परामा, त्यसप्रतिको नग्न र आक्रोशपूर्ण व्यङ्ग्य गरेका छन् कविले यो कवितांशमा ।
ऊ हाम्रै सहरमा बस्छ
यतै वरिपरि बस्छ
घर देश जलाउँछ
आगो ताप्छ
म कसरी भन्न सक्छु ?
ऊ मेरै देशको नागरिक हो ।
(नागरिक ः यात्राको एउटा दृश्य, पृ.३६)

यहाँ कवि मातृका पोखरेलले स्वदेशीको आवरणमा विदेशी शक्तिले देशको अवस्था जर्जर बनाएकोमा व्यङ्ग्य गरेका छन् । देशको बिग्रँदो अवस्थाप्रति चिन्ता नजनाउने बाह्य इसारामा हिँड्नेप्रति कटाक्ष छ कविको यहाँ । विश्व इतिहासमा रोम दनदनी जलिरहेको बेला त्यहाँका शासक निरोले बाँसुरी बजाइरहेको अवस्थाको झल्को शासकवर्गले दिएको र देश र जनताप्रति अनुत्तरदायी भएकोमा कविले व्यङ्ग्यको झटारो हानेका छन् यस कवितामा ।
उसले बिस्तारै–बिस्तारै
पसिनाको स्विमिङ पुल
बनाउने कुरा सोच्यो
अनाथ मानिसको रातो रगतलाई
होलीमा खेल्ने लोलाको
रातो पानीकै मूल्यमा हे¥यो ।
(बाटाहरू १ः यात्राको एउटा दृश्य, पृ.४८)

यस कवितांशमा कविले जनताको रगतलाई स्विमिङ पुलको पानी र रगतलाई होलीमा खेल्ने पानीका रूपमा लिई अवमूल्यन गर्ने शासकवर्गको प्रवृत्तिमाथि कटाक्ष गरेका छन् । जनतालाई सत्तामा पुग्ने भ¥याङ बनाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएकोमा चिन्ता र व्यङ्ग्य एकै पटक गरेका छन् यहाँ कविले ।
दरबारतिर खेताला भिÏयाइरहेका छन्
जनताको आँसुमा सर्वत घोल्दै
मान्छेको जिब्रो र गिदीलाई परिकार बनाएर ।
(यात्राको एउटा दृश्यः यात्राको एउटा दृश्य, पृ. ५४)
यहाँ कविले समतामूलक समाजको कोरा नारा दिएर सत्तामा पुगेकाहरूले जनताको बलिदानलाई सर्वतका रूपमा लिएको र स्वतन्त्रताको प्रतीक ‘जिब्रो’ र चेतनाको प्रतीक ‘गिदी’लाई मीठो परिकार बनाएकोमा आपत्तिपूर्ण कटाक्ष गरेका छन् । जनताको बलिदानीपूर्ण आन्दोलनलाई अपमान गर्दै उनीहरूका स्वतन्त्रतामा अङ्कुश लगाउने सामन्तवादको प्रतीक दरबारको खुसीका लागि काम गर्ने प्रवृत्तिमा विमति जनाउँदै व्यङ्ग्यको झटारो हानेका छन् ।
निधारभरि चन्दन लिपेर
मानव वधशालातिर
हतियार बोकेर कुदिरहन्छ ।
(अनुहारहरूः अनुहारहरू, पृ. ८)

कविले यस कवितांशमा ‘मुखमा रामराम बगलीमा छुरा’ भन्ने उखानलाई स्मरण गराएका छन् । बाहिर हेर्दा एउटा रूप र भित्री काम अर्कै गर्ने प्रवृत्तिलाई नाङ्गेझार बनाएका छन् उनले । बाहिर धर्मभीरुको रूपमा देखिने तर लुकाएर हतियार बोकेर निर्दोष जनताको हत्या गरेर मानव वधशाला बनाउने क्रूर तानाशाहहरूप्रतिको नग्न व्यङ्ग्य हो यो कविको ।
अचेल टुकुचा
किसानहरूको सिनाज्याम्मे सुन्दै
बागमतीतिर बग्दैन
मान्छेहरूलाई नाक छोप्न लगाउँदै
सैनिक व्यारेकतिर लुक्छ ।
(टुकुचा ः अनुहारहरू, पृ. २४)
यहाँ कविले काठमाडौंँ सबैभन्दा फोहोर पानी बग्ने खोलो टुकुचाका कारण आममानिसले नाक थुन्नुपरेको तर त्यही खोलो नेपालको सुरक्षार्थ भनेर स्थापना भएको सैनिक ब्यारेकतिर लुक्न गएको परिदृश्यलाई देखाएर नेपालको द्वन्द्वकालीन समयमा सेनाबाट भएको आम नरसंहारकारी कुकृत्यलाई इङ्गित गरेका छन् । टुकुचाको फोहोर पानीले जसरी आम मानिसलाई नाक थुन्न बाध्य गराएको छ, त्यसरी नै सेनाको कुकृत्यले आम जनमानसमा सन्त्रास फैलाएको छ भन्ने कुरालाई देखाएर कविले तानाशाही प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन् ।
मलाई
सिंहदरबार र जादुघर
उस्तैउस्तै लाग्छ ।
(सिंहदरबारः अनुहारहरू, पृ. ३९)
सिंहदरबार नेपालको शासनसत्ता चलाउने सर्वोच्च निकाय भएको ठाउँ हो । यहाँबाट जनताले शान्ति, सुरक्षा र सुशासनको अनुभूति गर्नुपर्ने हो । जनताका दैनन्दिनका समस्या समाधान हुनुपर्ने हो । सरकार सबै कुरा जनताका लागि भनेर खोक्रो आदर्श यहाँबाट बाँड्छ तर जनताले पाउने उपलब्धि शून्य मात्र छ । जादुगरले छिनको छिनमै विभिन्न किसिमका खेल देखाउँछ तर ती सबै अर्थहीन लाग्छ वास्तविकता थाहा पाएपछि । सिंहदरबार पनि यस्तै जनतामा भ्रम छर्ने ठाउँका रूपमा विकास भएकोमा आक्रोशको व्यङ्ग्य ओकल्छन् कवि मातृका पोखरेल ।
यसरी कवि मातृका पोखरेलका कवितामा विचारजस्तै व्यङ्ग्य पनि सघन छ तर कलात्मक छ । व्यङ्ग्यले उनका कवितालाई सिङ्गारपटार पारेको छ । पाठकलाई सहजै आकर्षण गराएको छ ।
बिम्ब संयोजन
कवि मातृका पोखरेलका कवितामा प्रयोग गरिएका बिम्बहरू भिन्न शैलीका छन् । भिन्न शैलीका हुँदाहुँदै पनि समसामयिक बिम्ब बन्न पुगेका छन् उनका कविताका बिम्बलाई मिहिन ढङ्गले हेर्दा । नेपाली कविता साहित्यमा उत्पीडनमा परेका कुरालाई उनले हार्दिकताका साथ बिम्बका रूपमा प्रयोग गरेका छन् । उनका कवितामा क्रान्तिबिम्ब, ऐतिहासिक बिम्ब, दृश्यबिम्ब, प्राकृतिक बिम्ब, संवेदनात्मक बिम्ब, प्राकृतिक बिम्ब र निजी बिम्बको प्रयोग भएको पाइन्छ । माक्र्सवादी सौन्दर्य शास्त्रीय चिन्तनमा विश्वास गर्ने कवि मातृका पोखरेल समाजका उपेक्षित कुरालाई आफ्ना कवितामा बिम्ब र प्रतीकका रूपमा उभ्याउन रुचाउँछन् ।
उनका कविताका बिम्ब–प्रतीकलाई हेर्दा बुर्जुवा समाजले नदेखेका कुरालाई सुटुक्क टिपेर प्रयोग गरेजस्तो लाग्छ । उनले आफ्ना कवितामा उत्पीडनमा परेका बिम्ब–प्रतीकको प्रयोग गरेर सामाजिक न्याय दिने काम गरेका छन् ।
कति आलोकित धु्रवताराहरू भिमानका जङ्गलमा निभे
क्षितिजवारिका
काला गाउँहरूमा निभे
तर, उनीहरू झन्–झन् चम्किरहे ।
(आकाश तिमीलाई निम्ता छ ः सेतो दरबारको छेउबाट, पृ. ६)
यहाँ कवि मातृका पोखरेलले वर्गसङ्घर्षको लडाइँमा राज्यपक्षबाट निर्मम हत्या गरेका ऐतिहासिक पात्र आजादलाई आलोकित धु्रवताराको प्रतीक दिएर बिम्बको प्रयोग गरेका छन् । भिमान आज पनि सामाजिक न्यायको लडाइँमा ऐतिहासिक स्थलका रूपमा चिनिन्छ । यसै गरी निरङ्कुशताविरोधी आन्दोलनमा थुप्रै स्वतन्त्रताप्रेमीले जीवनको बलिदान दिए तर तिनीहरू इतिहासमा चम्किरहेको र इतिहास आलोकित भइरहेको ऐतिहासिक तथ्यको उजागर गर्ने ऐतिहासिक बिम्बको संयोजन गरेका छन् कविले ।)
मैले वरिपरि बत्तीहरू खोजेँ
थुप्रै–थुप्रै प्रकारका बत्तीहरू
अँध्रोोका विरुद्धमा ।
(अँध्यारोका विरुद्धमा ः यात्राको एउटा दृश्य, पृ. १३)
यस कवितांशमा कविले बत्ती र अँध्यारोबीचको द्वन्द्व देखाएका छन् । बत्ती मानवीय जीवनको अपरिहार्य पथप्रदर्शक र अँध्यारोलाई पथ अवरोधकका रूपमा देखाएका छन् । यहाँ कविले दृश्यबिम्बको रूपमा बत्ती र अँध्यारोलाई यहाँ देखाएका छन् ।
र भन्यो
‘शान्ति’ जिन्दाबाद
भोका पेट र नाङ्गा आङहरूलाई
गोमन सर्पले झैँ डस्दै भन्यो
‘धैर्य’ जिन्दाबाद ।
(सर्प पूजा ः यात्राको एउटा दृश्य, पृ. २५)
यहाँ कविले गोमन सर्पजस्तो भयानक प्राकृतिक बिम्बको प्रयोग गरेका छन् । शान्ति र धैर्यजस्ता स्थिर बिम्ब निम्नवर्गीय समाजलाई चुप लगाएर बस्न बाध्य पारेको कुरा देखाएका छन् कविले ।
युगौँदेखि सुतेका
मगर कान्छाहरू उठे
च्याङ्बा र दिलमायाहरू उठे ।
(उज्यालो हुनुअघि ः यात्राको एउटा दृश्य, पृ. ४४)
यहाँ कविले सांस्कृतिक जातीय बिम्बको प्रयोग गरेका छन् । अनेकन उत्पीडनका कारण आफ्नो आवाजलाई दबाएर बसेका मगर कान्छा, च्याङ्बा र दिलमायाहरूले आफ्नो अधिकारका निम्ति उठेको कुरा देखाएका छन् । जातीय उत्पीडनको ज्वलन्त प्रमाण देखाइएको छ यहाँ ।
हाम्रो अघिल्तिर
शिकार ढुक्तै गरेको कालो नाग
टाउको घुमाइरहेछ
र कुबाटोमा हिँड्नेहरूको सुरक्षार्थ
हिसाब किताब मिलाइरहेछ ।
(बाटाहरू–२, यात्राको एउटा दृश्य, पृ. ५०)
यहाँ कविले जसले सामाजिक अपराध गर्छ, अराजकता मच्चाउँछ र अरूमाथि थिचोमिचो गर्छ, त्यसैको सुरक्षाका लागि सत्तासीनहरू कालो नाग भएर प्रकट भएको र त्यस्तो प्रकृतिलाई सुरक्षा दिएको कुरा वीभत्स प्राकृतिक दृश्यबिम्बका माध्यमबाट देखाएका छन् ।
एउटा बूढो साइकलमा
प्रत्येक दिन नापिरहेछु
आधा शताब्दी पुरानो
थोत्रिँदै गएको सडक ।
(राजमार्ग र चिन्तित मनहरू ः अनुहारहरू, पृ. ४)
यहाँ कविले बूढो साइकल र थोत्रो सडक बिम्बबाट पुरानो राज्यसत्तालाई इङ्गित गरेका छन् । यसको आयु अब धेरै लामो छैन र यसैमार्फत यात्रा गर्ने हो भने भविष्य सुरक्षित हुन्न । त्यसकारण नयाँ इतिहास सुरुआत हुनुपर्छ भन्ने धारणा बूढो साइकल र थोत्रो सडकलाई ऐतिहासिक बिम्ब बनाएर राखेका छन् ।
ऊ बगर
नयाँ जीवनको सहनाई
उसलाई अप्रिय लाग्छ ।
(ऊ बगर ः खडेरी पर्खन्छ ः अनुहारहरू, पृ. २२)
कविले यहाँ सांस्कृतिक बिम्बका रूपमा सनईलाई प्रयोग गरेका छन् । सनईलाई नयाँ जीवनको गीत गाउने समयसापेक्ष युगबोध गराउने परिवर्तनकारी साधनका रूपमा देखाएका छन् । जसमा समयअनुसार नयाँ युगको नयाँ आवाज यसबाट प्रसारण गर्न सकिन्छ तर पुरानो चिन्तन भएका र ढुङ्गाको जस्तो मन भएका तानाशाहलाई यसको धुन मन पर्दैन भन्ने धारणा अघि सारेका छन् ।

दुई वर्ष वा पाँच वर्षमा
कुदाइरहेको भए हुन्थ्यो
लिगलिगकोटमा नयाँ–नयाँ दौडबाजहरू
हामी नौला चन्द्रमाहरू छोइरहन्थ्यौँ ।
(उनीहरूले सोचेका भए...ः अनुहारहरू, पृ.३२)
यहाँ कविले ऐतिहासिक बिम्ब लिगलिगकोटका माध्यमबाट नेपालको ऐतिहासिक परिवर्तन चाँ–चाँडो भएको भए नेपाली नयाँ–नयाँ शासन व्यवस्थाको अनुभूति गर्न पाउने थिए र जुनचाहिँ उत्तम ठहरिन्छ, त्यसैलाई आत्मसात् गर्ने थिए भन्ने धारणा राखेका छन् ।
कवि मातृका पोखरेलले कवितामा प्रयोग गरेका बिम्बहरूले वर्तमान समयको क्रूर यथार्थतालाई उद्घाटन गरेका छन् । उनका कवितामा बिम्ब कविताजस्तै सरल छन् तर समयसापेक्ष छन् । उनले प्रयोग गर्ने बिम्बहरू कविले प्रयोग गरेभन्दा भिन्न शैलीका छन् । समाजमा रहेका उपेक्षित र उत्पीडित पात्र र वस्तुलाई बढी महत्व दिएका छन् । यिनै विन्यासयुक्त बिम्बले कविताको अन्तर्वस्तुलाई सौन्दर्यात्मक र प्रगतिशील बनाएका छन् ।

कलाको प्रयोग
मातृका पोखरेल वैचारिक पक्षलाई कवितामा कलात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता राख्ने कवि हुन् । कलाबिनाको विचार मात्रै थोपर्दा कविता निरस हुन्छ र कविता जस्तो बन्दैन भन्ने कुरामा विश्वास राख्छन् कवि मातृका पोखरेल । कलाको सम्प्रेषणीयताले नै कविताको अन्तर्वस्तु उज्यालिने भएकाले कवितामा कलाको अनिवार्यता हुन्छ । अलङ्कार वा कलाबिनाको कविताले काव्यको उपहास गर्छ भन्ने कुरामा विश्वास गर्ने कवि मातृका पोखरेलका कवितामा वैचारिक र कलात्मकताको सुन्दर सम्मिश्रण पाइन्छ ।
वैचारिक रागलाई कलाको लेपनले सुनमा सुगन्ध मिसिएजस्तै सौन्दर्यात्मक बनाउन चाहन्छन् कवि मातृका पोखरेल कवितालाई । कला र विचारको संयोजनले मात्रै कविता हुन सक्छ भन्ने कुरामा सचेत कवि मातृका पोखरेलको उदाहरणका रूपमा तलको कवितांशलाई लिन सकिन्छ ।
मैले उनीहरूको अनुहारमा हेरेँ
चिउँडोबाट दुखिरहेको देश
तप्प–तप्प बगिरहेको थियो ।
(यसपटक दसैँमा ः यात्राको एउटा दृश्य, पृ. १५)
यहाँ कविले प्रयोग गरेको कवितालाई हेर्दा पाठकको मनलाई ह्वात्तै लोभ्याएको छ । मजुरको पसिना, चिउँडोबाट चुहिएर यही देशमा खसेको छ । उनीहरूले देशलाई ढाकरमा बोकेर भए पनि जोगाइरहेका छन् । तर उनीहरूको पीडा र मर्मलाई देश चलाउने शासकले बुझ्न नसकेको कुरालाई देखाएका छन् । श्रमजीवी जनताप्रति सम्मान व्यक्त गरिएको यस कवितांशमा कविले उच्च काव्यात्मक कलाको प्रयोग गरेका छन् । ‘चिउँडोबाट दुखिरहेको देश’ जस्तो पदावलीको प्रयोग गरेर मजदुरको पीडालाई कलात्मक तरिकाले देखाएका छन् कवितामा ।

कवि मातृका पोखरेलका कवितामा काव्यिक कलाको सुन्दर संयोजन पाइन्छ । उनका कविता पढ्दा पाठकले आफ्नो पीडालाई कलात्मक ढङ्गले शब्दमा उनेको अनुभूति गर्दछन् ।
उसले आज बिहानै समाचार सुनी
जङ्गबहादुरहरू,
माथवरसिंहहरूको हत्यारा खोज्ने
आयोग बनाइरहेका छन् ।
(अब आफ्नै बाटो रोज्नुपर्छ ः यात्राको एउटा दृश्य, पृ. २६)

जुन मान्छेहरू आफैं हत्या गर्दै हिँड्छन् र हत्याराको खोजी गर्नुपर्छ भन्दै आयोग बनाउँदै हिँड्छन् । जङ्गबहादुरले आफ्नै मामा माथवरसिंहको हत्या गरेर आफ्ना प्रतिपक्षीहरूलाई सखाप पार्नका लागि कोत सबै  मानिसलाई जम्मा गरेजस्तै वर्तमानमा पनि क्रूर तानाशाहहरूले त्यस्तै कार्य गरिरहेको नग्न सत्यलाई कविले ऐतिहासिक बिम्बको प्रयोगबाट देखाएका छन् । हत्यारा जङ्गबहादुरले आयोग बनाएको दृश्यलाई देखाएर अनुकरणीय कलाको प्रयोग गरेका छन् ।
जलजला काख फराकिलो पार्नुपर्छ
यात्रा अझै लामो छ
जूनसँग अँगालो हालेर
नाच्ने दनि अझै–अझै टाढा छ ।
(जलजला ः यात्राको एउटा दृश्य, पृ. ३०)

कविले यहाँ काख फराकिलो पार्नुपर्छ भन्ने सुन्दर पदावलीको प्रयोगबाट सङ्कीर्ण र तुच्छ विचारलाई परित्याग गर्नुपर्ने धारणा राखेका छन् । सङ्घर्षको सयरलाई लक्ष्यमा पु¥याउनका लागि धेरैभन्दा धेरै मान्छे र तिनका मस्तिष्कलाई एकाकार गरेर अघि बढे मात्रै लक्ष्यमा पुग्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् कविले ।
सदीऔंदेखि अचानो बनेर
आफन्तहरू पीडा हाँसिरहेछन्
पुसमाघको ठिहीमा
चिसो हिउँले काटिएको मन
भविष्यको पर्खालमा टाँगेका छौं ।
(भविष्यका लागिः यात्राको एउटा दृश्य, पृ. ३७)
नेपाली समाजले सदियौंदेखि अरूको पीडालाई आफ्नो बनाएर हिँडिरहेको तर कुनै पनि किसिमको उपलब्धि हासिल नभएको र दुखित मन लिएर भविष्यमा त केही होला कि भन्ने आशा लिएर बाँच्नुपरेको यथार्थतालाई कविले यहाँ देखाएका छन् ।
एक थुँगा फक्रेको फूल
आफ्ना लागि राखिन
कलिला जूनहरूको श्रद्धाञ्जलीमा
मेरो बगैंचा मरुभूमिझैं रित्तियो ।
(कलिला जूनहरूको श्रद्धाञ्जलीमाः यात्राको एउटा दृश्य, पृ.४२)
यहाँ कवि मातृका पोखरेलले कलात्मक ढङ्गले नेपालमा भएका थुप्रै आन्दोलनमा थुप्रै मान्छेले बलिदान दिए तर उपलब्धि चाहिँ मात्र शून्य हात परेकोमा आक्रोश व्यक्त गरेका छन् । सहिदलाई वर्षमा एक दिन बगैंचा रित्तिने गरेर मात्र फूल चढाउने तर उनीहरूका आदर्शलाई बिर्सिने प्रवृत्तिको विरोध गरेका छन् । के हाम्रो देश सहिद मात्र जन्माउने देश हो ? हामीले परिवर्तन अनुभूति कहिल्यै पनि नपाइने हो ? भनेर शङ्का व्यक्त गरेका छन् कविले ।
अझै घोडा चढेर
आक्रोशित मुद्रामा
सहिदगेटका सालिकहरूलाई
जङ्गबहादुरहरू
नेपथ्यबाट घुरिरहेछन् ।
(एउटा पुजारीको आत्मकथा ः यात्राको एउटा दृश्य, पृ. ५८)
परिवर्तनलाई नरुचाउने मानिसहरू परिवर्तनको प्रतीकका रूपमा ठड्याइएका सालिकहरूलाई हेरेर आक्रोशित भइरहेको दृश्यलाई देखाएका छन् कविले । यथास्थितिका पुजारीहरू जहिले पनि जङ्गबहादुरले जस्तै परिवर्तनप्रति औँलो ठड्याउँछन् भन्ने कुरालाई यहाँ कविले कलाको उच्च प्रयोगबाट देखाएका छन् ।
मजस्तै उनीहरू पनि खोजिरहेछन्
झर्झराउँदा आँखा भएका मान्छेहरू
निर्दोष अनुहारको सम्झनामा ।
(सपना ः यात्राको एउटा दृश्य, पृ. ६०)
यहाँ कविले झर्झराउँदा आँखा कलात्मक पदावलीको प्रयोग गरेका छन् । निर्दोष मान्छेहरूले द्वन्द्वकालीन अवस्थामा आहत हुनुपरेको र सचेत मान्छेहरूप्रति भएको बर्बर दमन र यातनाका विरुद्ध सबै जनाले सचेत ढङ्गले प्रतिरोध गर्नुपर्ने र आफ्नो सपना साकार पार्नुपर्ने आग्रह गरेका छन् ।
म तयार छु–
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ ।
(सर्त ः अनुहारहरू, पृ. १)
सँगसँगै यात्रा गर्नका लागि सँगै हिँड्ने साथीको पनि फराकिलो सोचाइ र सचेत मस्तिष्क हुनुपर्छ । अरूका सर्तलाई आफ्नो बनाउने क्षमता हुनुपर्छ भन्ने कुरालाई कविले आँखा हुनुपर्छ भन्ने कलात्मक पदावलीका माध्यमबाट अघि सारेका छन् । यहाँ आँखालाई चेतनाको प्रतीकका रूपमा लिइएको छ ।
घाम रोपेर हिँड्ने एउटा मान्छे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे म¥यो ।
(उसको मृत्युमा ः अनुहारहरू, पृ. ११)
घाम रोप्नु भनेको नयाँ विचार प्रसारण गर्नु हो । उत्पीडनमा परेका मान्छेलाई त्यसको विरुद्धमा उठ्न सचेत गराउनु हो । यस्तै चेतनाको संवाहक र असल मानिसलाई बेपत्ता बनाउँदै हत्या गरेको कुरालाई कविले कलात्मक रूपमा यहाँ प्रस्ुत गरेका छन् ।
लाटोकोसेराहरू,
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्
र, इतिहासको क्रूर नियति बोकेर
वर्तमान बगिरहने छ ।
(सबै कुरा साँचो हुनेछ ः अनुहारहरू, पृ. १९)
यहाँ कविले स्वतन्त्रता र स्वाधीनताको कुरा लाटोकोसेरारूपी तानाशाहहरूले बखान गरेकोमा खिन्नता प्रकट गरेका छन् । लाटोकोसेरो जो दिनभरि निदाएको अभिनय गर्छ र रात परेपछि सिकार गर्न अनुकूलता ठान्छ, त्यसैले घामको सुन्दरताको बयान गर्नुले के कुरा देखाउँछ भने जुन तानाशाह लोकतन्त्र भन्नेबित्तिकै तर्सन्छ, त्यसैले लोकतन्त्रको कुरा गर्नु इतिहासलाई बङ्ग्याउनु मात्र हो भन्ने धारणा कविले कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।
मिथक कथाजस्तै
बच्चाहरूले सुनाउँदै जानेछन्
यो कथा पछिसम्म
पुस्तापुस्ताको अन्तरालपछिसम्म ।
(अचेल मान्छेहरू ः अनुहारहरू, पृ. ३०)
यहाँ कविले कलात्मक शब्द संयोजन गरेका छन् । यही कलात्मक शब्द शिल्पका माध्यमबाट इतिहासको कुनै कालखण्डमा घटेका विभत्स घटनाहरू पुस्तौनी अन्तरालपछि मिथक जस्तै भएर रहन्छन् र एकपछि अर्को पुस्तामा सर्दै जान्छन् भन्ने कुरालाई देखाएका छन् ।
म क्रोधले आहत भएँ
म अतीतसँग क्रुद्ध भएँ
म सेतु सुनार
मैले खाडलमाथि उठ्न
बलिदानको एउटा भ¥याङ लाएँ ।
(वनफूल र सपनाहरू ः अनुहारहरू, पृ. ४५)

कवि मातृका पोखरेलले यहाँ विगतका अमानवीय इतिहाससँग विमति राख्दै नयाँ मानवीय मूल्य र मान्यता भएको इतिहास निर्माणका लागि सेतु सुनारले बलिदान दिएको कुरा देखाएका छन् । विगतका इतिहासहरू विभेदकारी भएको र मानवीय मूल्यलाई समेत खाडलमा हालिएको, त्यसैका आडमा मान्छे–मान्छेबीचको विभेद खडा भएको र समतामूलक समाजका लागि नयाँ इतिहास रच्नुपर्ने आग्रह कविले सेतु सुनारका माध्यमबाट कलात्मक ढङ्गले प्रस्ुतत गरेका छन् ।
कवि मातृका पोखरेल कलात्मक मूल्य र मान्यताको सम्मानबाट मात्रै कवितामा वैचारिक पक्षलाई बलियोसँग प्रस्तुत गर्न सकिन्छ भन्ने धारणा राख्छन् । उत्पीडनमा परेका कुरालाई सरल ढङ्गले कलात्मक रूपमा प्रस्तुत गर्नु उनको विशेषता हो । यही विशेषताले नै उनलाई कवितामा जीवन्त बनाएको छ; उनका लागि कविता कालजयी बनेका छन् ।

उपसंहार
चालीसको दशकदेखि नेपाली कविता साहित्यमा समर्पित कवि मातृका पोखरेलका सेतो दरबारको छेउबाट, यात्राको एउटा दृश्य र अनुहारहरू गरी तीनवटा कृतिहरू अहिलेसम्म प्रकाशित भएका कृति हुन् । उनका कवितासङ्ग्रहले वर्तमान नेपाली समाजका विकृति र विसङ्गतिमाथि हस्तक्षेप गर्नुपर्छ भन्ने मान्यता बोकेका छन् । पहिलो कृतिभन्दा पछिल्लो कृति बढी कलात्मक देखिन्छ । कला र विचारको संयोजनबाटै सुन्दर कविताको निर्माण हुन्छ भन्ने कुरामा उनी विश्वास राख्छन् । यो नै कवि मातृका पोखरेलको निजत्व पनि हो । विचार, कला, व्यङ्ग्य र बिम्बको संयोजन नवीन ढङ्गबाट गरेका हुन्छन् उनले कवितामा । यसले गर्दा उनका कविता जीवन्त बनेका छन् । परम्परागत र शास्त्रीय चिन्तनभन्दा भिन्न कोणबाट नेपाली कविताको पहिचान हुनुपर्छ भन्ने मान्यता उनका कविताले राखेका छन् । यो नै कवि मातृका पोखरेलको निजत्वपूर्ण उपलब्धि र पहिचान हो ।

सन्दर्भसूची
पोखरेल, मातृका, सेतो दरबारको छेउबाट, (सृजनशील प्रकाशन, मैतीदेवी, काठमाडौं, प्र.सं., वि.सं २०५६)
पोखरेल, मातृका, यात्राको एउटा दृश्य, (विवेक सिर्जनशील प्रकाशन प्रा.लि. प्र.सं., वि.सं. २०६०)
पोखरेल, मातृका, अनुहारहरू, (धवलागिरि साहित्य प्रकाशन, २०४१, बाग्लुङ, प्र.सं.,वि.सं. २०६४)
डा. पाण्डेय, ताराकान्त, प्रगतिवाद र कविता, (शीला योगी, काठमाडौं, प्र.सं., वि.सं. २०५६)
डा. गौतम, लक्ष्मणप्रसाद, समकालीन नेपाली कविताका प्रवृत्ति (पैरवी प्रकाशन, रामशाहपथ, काठमाडौं, प्र.सं., वि.सं. २०६०)

कड्वेल, क्रिस्टोफर, विभ्रम और यथार्थ (राजकमल प्रकाशन प्रा.लि., दिल्ली, सन् १९९८)

No comments: