Wednesday, September 13, 2017

कवि मातृका पोखरेलका काव्यप्रवृत्तिहरू: ‘अनुहारहरू’को सेरोफेरोमा - पुण्य खरेल

समकालीन प्रगतिशील साहित्यिक फाँटका एक सशक्त क्रियाशील सदस्य हुन् – मातृका पोखरेल । उनको सृजनाको मुख्य क्षेत्र कविता विधा देखिन्छ । सेतो दरबारको छेउबाट र यात्राको एउटा दृश्य गरी दुई वटा कविता सङ्ग्रह सार्वजनिक गरिसकेका पोखरेलको तेस्रो कृति पनि कविता सङ्ग्रहकै रूपमा प्रकाशित हुनुले उनलाई कवि व्यक्तित्वका रूपमा नै प्रथमतः चिनारी गरेको पाइन्छ । काजी रोशन साहित्य पुरस्कार प्राप्त कवि पोखरेलको यो तेस्रो कविता सङ्ग्रह अनुहारहरू (२०६४) अघिल्ला प्रकाशित दुइ कविता सङ्ग्रहका तुलनामा अझ बढी सुन्दर र सशक्त देखिनुले पनि कवि पोखरेलको सृजनाको मूल मौलो काव्य नै रहेको ठम्याइ हुन्छ ।
स्रष्टा आफू बाँचेको समाज र भोगेको जीवनप्रति न निरपेक्ष बस्न सक्छ न त उदासिन नै रहन सक्छ । आफ्ना समाजजीवनका घात–प्रतिघात, चापप्रतिचाप, उतारचढाव, उथलपुथल जस्ता सामाजिक–राजनीतिक एवं संस्कृतिगत विगत र वर्तमानका घटनाक्रमहरूबाट ऊ कुनै न कुनै रूपमा प्रेरित प्रभावित बन्छ र स्वीकार्य–अस्वीकार्य जुनै हिसाबबाट पनि ती घटनाक्रमहरूसँग उसको कमवेसी संलग्नता, सहकार्य र सहभागिता रहन्छ भने त्यस उपर उसको क्रिया–प्रतिक्रियासमेत अभिव्यक्त भएको हुन्छ । त्यसमाथि पनि एउटा वर्गसचेत लेखकले त्यस्ता विषयवस्तु माथि अत्यन्त जिम्मेवारीपूर्ण धारणाहरू आफ्ना सृजनामार्फत प्रकट्याएको हुन्छ । यस मानेमा कवि पोखरेल पनि आफू बाँचेको पारिवेशप्रति पूर्ण सापेक्ष र सचेत छन् अनि त्यसभित्र घटित हरेक गतिविधिसँग सूक्ष्म रूपले परिचित छन् । यसै कारण कविले २०६१ देखि २०६३ को कालखण्डमा नेपाली समाजले भोगेको यथार्थलाई आफ्नो कविताको विषयवस्तु चयन गरेका छन् भने उक्त अवधिका सामाजिक, राजनीतिक, सांस्कृतिक आदि घटनाक्रमप्रति आफ्ना अनुभूति, विमति, प्रतिक्रिया, चाहना, प्रेम, घृणा आदिलाई कलात्मक रूपमा अभिव्यञ्जन गरेका छन् । अनुहारहरू यिनै विषयवस्तुको सफल प्रस्तुति हो ।
प्रस्तुत लेखमा कवि मातृका पोखरेलका काव्य प्रवृत्तिहरूलाई ठम्याउने जमर्को भएको छ र त्यसको आधार समेत कविको पछिल्लो कृति अनुहारहरूलाई मानिएको छ । अनुहारहरू भित्र प्रकटित कविको अनुहार नै यस लेखको शक्ति र सीमा दुबै बनेको छ । यसैकारण मातृका पोखरेलको लौकिक–सांसारिक अनुहार कस्तो छ, कुन रूपको छ– प्रस्तुत लेखको चासो होइन, उनका पूर्व प्रकाशित दुई कविता सङ्ग्रहभित्रका कवि मातृका पोखरेल पनि यस लेखभित्र अटाएका छैनन् मात्र अनुहारहरूले कवि पोखरेललाई कसरी चिनाउन सकेको छ, त्यसकै र त्यति मात्रकै खोजी र प्रस्तुतिभित्र प्रस्तुत लेख सिमितिएको छ जसलाई बुँदागत रूपमा संक्षेपमा चर्चा गरिन्छ ः
१. नित्य नवीन एवं अग्रगामी चिन्तन ः
कवि पोखरेल अग्रगामी चेतनाका कवि हुन् । समाजजीवनलाई यथास्थितिबाट मुक्त गर्न नयाँ सोच र दरिलो आँट चाहिन्छ । भरपर्दो विश्वास र अटल आस्था चाहिन्छ अनि प्रतिबद्ध मनहरू चाहिन्छ । यस्ता सोच, आँट, विश्वास, आस्था र मनहरूसँग कवि निशर्त हातेमालो गर्न चाहन्छन्, काँधमा काँध मिलाएर हिँड्न चाहन्छन् र नयाँ चेतनाले समाजलाई व्यूँताउन चाहन्छन् । तलको कविताङ्श हेरौं–
म तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहिरूको पछि लाग्न
तर उनीहरूसँग
शिखर चढ्न तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौंदेखि खोजिरहेछु
अघि हिंड्ने मानिसहरूका
झर्झराउँदा आँखाहरू
र सबल खुट्टाहरू
(शर्त ः पृष्ठ–१)
कविले त्यस्तो नेतृत्वको खोजी गरिरहेका छन् जससँग झर्झराउँदा आँखाहरू र सबल खुट्टाहरू हुनुपर्छ । झर्झराउँदा आँखा अर्थात् नवीन दृष्टिकोण, जस्तोसुकै अन्धकारमा परिस्थितिमा पनि स्पष्ट देख्न सक्ने, पटक्कै बाटो नबिराउने र गन्तव्यसम्म दिशानिर्देश गरिरहन सक्ने अनि सबल खुट्टाहरू जसले शिखर कहालीलाग्दा असहजता र विषम परिस्थिति पार गर्न, चढ्न सक्षम बनोस्, बीचमै खुट्टा नकमाओस्, पलायन नहोस्, हार स्वीकार नगरोस् । अर्थात् समाजको आमूल रूपान्तरणको महाअभियानमा स्पष्ट दृष्टिकोण र साहसका साथ अघि बढ्ने सबैसँग कविको सहकार्य संभव छ, निशर्त कवि उनीहरूको साथ लाग्न चाहन्छन् । यो नै कविभित्रको नित्य नवीन एवं अग्रगामी चेतना हो । अर्को पङ्ति हेरौं –
हो मैले नमानेकै हो
अन्धाहरूको पछि लाग्न
र मैले नमानेकै हो
लङ्गडाहरूलाई दौडमा छनोट गर्न
धेरै पटक जनाएको छु असहमति
र फेरि लेखेको छु यो कविता ।
(ऐ ः पृष्ठ–१)
र फेरि लेखेको छु यो कविताको तात्पर्य आफूले पटकपटक अन्धा, दृष्टिकोण नभएका, नयाँ चेतना र सोच नभएका र लङ्गडा, साहस, हिम्मत, दृढता नभएका ढुल्मुले चरित्र, सैद्धान्तिक विचलन भएकाहरूसँग कुनै हालतमा सम्झौता–सहकार्य र सहया त्री बन्न नमानेको–नचाहेको भाव व्यक्त गरेका छन् र तिनसँग आफ्नो सदैव असहमति र विरोध नै रहने जनाएका छन् । यसको अर्थ स्पष्ट छ– कवि नवीन सोच, चिन्तन र प्रक्रियामा विश्वास गर्छन् र नयाँ समाजको निर्माणमा स्पष्ट दृष्टिकोण बोकेर अघि बढ्न चाहन्छन् ।
२. वर्गीय समाजको कलात्मक प्रस्तुति ः
समाजको वर्गीय स्वरूपप्रति कवि सचेत छन् र वर्गीय हित स्वार्थ–रक्षार्थ हुने अनेकौं षडयन्त्र, छलछाम, मिलेमतोसँग पनि कवि परिचित छन् । सम्पन्न र विपन्न शासक र शासित, श्रमजीवी र पूँजीपति आदि वर्गीय समाजकै उपज हुन् । जतिसुकै समानताको प्रजातन्त्रको नारा घन्काए पनि वर्ग रहेसम्म शोषणका नयाँ नयाँ रूपहरू जन्मिरहने छन् र शोषित–पीडित जनताको जीवनस्तरमा त्यसले कुनै प्रभाव पार्न सक्तैन । तलको कविताङ्श हेरौं –
पोहोर
हिल्याउँदै गरेको खेतमा
भगुवा थारुले सुन्यो गणतन्त्र
र अचम्म मानेर गम्छाले पुस्यो पसिना
पोहोर
जङ्गलमै घाँस दाउरा जाँदा
चिम्से खत्रीले सुन्यो लोकतन्त्र
र मनमनै पाल्यो नयाँ चाहना ।
(नयाँ वर्ष – २०६१, पृ–२)
भगुवा थारु र चिम्से खत्रीहरू हाम्रो समाजमा जहींतहीं छन् । उनीहरू वास्तवमै लोकतन्त्र वा गणतन्त्रलाई अचम्म मानेर सुन्छन् र गम्छाले पसिना पुस्छन् । तर आफ्ना जीवनमा त्यसले ल्याएको परिवर्तनको अनुभूति गर्न पाउँदैनन् किनभने ती थारु र खत्रीहरूको वर्गलाई न गणतन्त्र न लोकतन्त्र केही पनि आएकै छैन । अर्को कविताङ्श हेरौं –
मेरो अघिल्तिर
एउटा अनुहार छ
त्यो अनुहार
निधारभरि चन्दन लेपेर
मानव वधशालातिर
हतियार बोकेर कुदिरहन्छ
त्यो अनुहार
संविधानमा सजिलै पोत्न सक्छ
कालो रङ्ग
र आरोहण गर्ने योजना कोर्न सक्छ
लासहरूको पर्वत ।
(अनुहारहरू ः पृ–८)
हाम्रो समाजको एउटा यस्तो वर्गको प्रतिनिधि चरित्रको यहाँ चित्रण छ जसले चाहेमा जेसुकै र जस्तो प्रकृतिबाट पनि आफूलाई प्रस्तुत गर्न सक्छ, त्यो वर्ग जति शक्तिसम्पन्न छ त्यतिकै छद्मभेषी र छलकारी पनि छ । त्यो नै आम जनताको मुक्ति, न्याय र स्वतन्त्रताको जन्मवैरी बनेको छ । अर्को कविताङ्श हेरौं–
तर म
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाई घृणा गर्छु ।
(ऐ ः पृ–९)
कविले जसरी यस वर्गलाई सबैभन्दा बढी घृणा गर्छन् त्यसरी नै सबैभन्दा माया गर्ने अर्को अनुहार पनि छ हाम्रो समाजमा, तल हेरौं –
म नजिकै छ
अर्को अनुहार
यतिबेला
रिठ्ठे घर्तीले बोकेको देखेको छु
त्यो अनुहार
भारि बोकेर
साहूकी छोरी पुर्याउन गएको मधेस
थकाइ मार्न सकेको एक क्षण
दलनाको छेवैमा
दुर्गन्धित छ जुठेल्नो
भरखर कामबाट फर्केको
गनाइरहेको छ शरीर ।
(ऐ ः पृ–९)
रिठ्ठे घर्ती अर्थात् आम गरिब श्रमजीवी जनताहरूको प्रतिनिधि चरित्र, कठोर भन्दा कठोर श्रम गर्नु, अपहेलित र तिरस्कृत जीवन बाँच्नु यस वर्गको परिचय ।
तर म
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाई माया गर्छु ।
(ऐ ः पृ–९)
यसरी कविले अत्यन्तै सुन्दर ढङ्गले हाम्रो समाजको वर्गीय संरचनालाई छर्लङ्ग्याएका छन् भने शोषक–शासक वर्गप्रति चरम घृणा र शोषित–शासित आमजनताप्रति अपार माया र श्रद्धासमेत दर्शाएका छन् ।
३. प्रवल आसावादी स्वर ः
कवि पोखरेल आफ्ना कविताहरूमा प्रवल आशावादी स्वरहरू लिएर प्रस्तुत भएका छन् । जस्तोसुकै विषम परिस्थितिमा पनि कविमा नैराश्य जन्मिएको अनुभूति कविले गरेका छैनन् । मुक्ति युद्धलाई कविले नजिकबाट बुझेका छन् र यो सहज प्राप्य वा विजय पाइने लडाइँ नभएर युगौंसम्म निरन्तर बलिदान दिँदै जित्न सकिने युद्ध भएकाले कवि प्रारम्भबाटै यसप्रति प्रष्ट छन् र आसावादी छन् । न्याय, समानता, स्वतन्त्रता, स्वाधीनता र मुक्ति संसारमा कहीं कतै पनि निरङ्कुश शासकहरूले दानमा सुम्पिएका छैनन् । ज्यादै ठुलठुला सङ्घर्ष, बलिदान र जनबलबाट जबरजस्त प्राप्त भएका छन् । त्यसैले पनि कवि थोरै क्षति हुँदैमा वा प्राप्ति हुँदैमा खुसी हुनुपर्ने वा निरास बनिनु पर्ने ठान्दैनन् र प्रवल आसावादी बनेर लडिरहँदा लागिरहँदा निश्चित एक दिन नयाँ समाज र जीवनको प्राप्ति हुन्छ भन्ने कविको निष्कर्ष छ आफ्ना कवितामार्फत् । तलको कविताङ्श हेरौं –
धेरैधेरै वर्ष भयो सोचेको
नयाँ वर्ष नयाँ भएर आए हुन्थ्यो
हामीले धेरै उठाइसक्यौं
आस्थाका सगरमाथाहरू
नयाँ वर्ष
विश्वास भएर आए हुन्थ्यो ।
(नयाँ वर्ष–२०६१ ः पृ–३)
धेरैधेरै वर्ष भयो कविले नयाँ वर्षलाई नयाँ भएर आइदिने कल्पना गरेको, तर कविमा यो आसावादीता मरेको छैन । उनले आस्थाका सगरमाथा उठाउँदै नयाँ वर्ष एउटा नवीन विश्वास बोकेर आउने सपना साँचेका छन् । कवि निरास छैनन् –
हामी यतिबेला कोरिरहेछौं सडकमा
यो क्रूर इतिहासको अन्त्य
हामी बेगवान आधीझैं खोजिरहेछौं
उसको शवयात्राका मलामीहरू
(नयाँ शताब्दीको थोत्रो मान्छे ः पृ–६)
कवि क्रुर इतिहास र त्यसको संरक्षक निरङ्कुश शासक दुबैको अन्त्य र अन्त्येष्टिका लागि सहकर्मीहरू खोजिरहेछन् ।
अचेलभरि
फुट्नै लागेका चेतनाका बाँधहरू बोकेर
दौडिरहेछन्
बग्रेल्ती अनुहारहरू सडकमा
यतिबेला
केही अनुहारहरूका विरुद्ध
थुप्रै अनुहारहरू कसिरहेछन् मोर्चा
नयाँ भोलिको खोजीमा ।
(अनुहारहरू ः पृ–१०)
नयाँ भोलि कविको नवीन समाज निर्माण तर्फको आसावादिता हो ।
जबसम्म बग्ने छ
हाम्रो रगतमा पहेंलो रङ्ग
सबै कुरा सामान्य हुनेछ त्यसबेला
(सबै कुरा साँचो हुनेछ ः पृ–२०)
चेतना नआएसम्म जनतालाई ढाँट्न, छल्न सकिन्छ, तर जब सत्यतथ्यको वोध हुन्छ र जनता ब्यूँझन्छन् तब जनताले आफूमाथि भएका यावत् दलनपीडनको सावाँव्याज असुल्ने छन् भन्ने आसय छ कविको–
भोलि विहानको मिर्मिरे उज्यालोमा
हामी देख्न चाहन्छौं
हाम्रो यो जीर्ण गोठघरको
घमाइलो आँगनमा
फेरि आउनेछन् नयाँनयाँ हलीहरू
हामी स्वागत गर्नेछौं
र फेरि सँगै जोत्नेछौं
विष मात्र फल्ने
युगौंदेखिको उही चर्चित बाँझो जमिन ।
(बाँझो जमिन र हलीहरू ः पृ–२८)
पुराना हलीहरू अर्थात् नयाँ समाज निर्माणका कथित् अभियन्ताहरूमा विचलन आए पनि क्रान्ति रोकिँदैन, नयाँ शिराबाट फेरि यसको थालनी हुने नै छ भन्ने आसा कविमा छ –
नयाँ आवाजहरू लिएर
आज नयाँ योजना बनाउने
हामी भोलि नयाँ दिन बनाउने

हामी भोलि नयाँ नेपाल जन्माउने ।
(भोलि ः पृ–३६)
भाले बास्नु भन्दा अगाडि
म भोलि विहानै
नयाँ समयको स्वागतमा
गाउँ जाँदैछु ।
(समय ः पृ–४२)
उपर्युक्त दुबै कविताङ्शमा कविको भोलिप्रति चरम आसावादिता प्रकटिएको छ । भोलि निश्चयनै नयाँ समय आउने छ, नयाँ नेपाल जन्मिनेछ र वर्तमानमा मौलाएका ज्यानमारा–जनतामारा विषवृक्षहरूको समूल अन्त्य भई जीवन बाँच्न प्रेरित गर्ने लहलह लालुपाते, सुनगाभा र गुराँसहरू फुल्नेछन्, यो कविको भविष्यप्रतिको प्रवल आसावादिता हो ।
४. कलात्मक व्यङ्ग्य चेतना ः
कवि पोखरेलको व्यङ्ग्य चेतना अत्यन्त कलात्मक रूपमा प्रकटिएको देखिन्छ सङ्ग्रहभित्रका कविताहरूमा । समाजजीवनमा टाँस्सिरहेका प्रतिगमनकारी, यथास्थितिवादी चिन्तन, विकृति विसङ्गति, वेथिति, राजनीतिक वेइमानी, वैचारिक पलायनता र गद्दारी, निरङ्कुशता, पराधीनता, अन्याय–अत्याचार दलनपीडन उत्पीडन, होचीअर्घेली, सांस्कृतिक विचलन र मूल्यह्रासता, दासत्व, युद्धप्रिय मानसिकता, वर्गीय विषमता जस्ता समाजजीवन विरोधी अग्रगामी चेतनाका वाधक र नयाँ समाज र संस्कृति निर्माणका तगाराहरूप्रति कविको भयानक आक्रोस र विद्रोह छ, विमति छ तर ती उपर कविले प्रहार गरेको जुन व्यङ्ग्य छ त्यो प्रखर मात्र नभएर अत्यन्त कलात्मक रूपमा समेत प्रकट भएको छ । तलको कविताङ्श हेरौं–
आर्यघाटको छेउमा उभिएर
लासहरूको आगो ताप्तै
जाडो मारिरहेछन् शासकहरू

आज मात्रै टेलिविजनको पर्दामा
श्रममन्त्रीको अनुहार
हाँसिरहेको थियो ।
(फरकफरक मुर्दाघाटहरू ः पृ–१५,१६)
इराकमा हत्या गरिएका बाह्र जना नेपालीको सम्झना–सन्दर्भमा प्रस्तुत यी कविताङ्शमा आफ्ना नागरिकप्रति गैरजिम्मेवार र संवेदनाहीन निर्लज्ज कुरूप शासकको अनुहार प्रति तीब्र घृणा र व्यङ्ग्य गरिएको छ । अर्को कविताङ्श हेरौं
खुनी पञ्जा उठाएर
उसले जति नै विद्रोह गरोस्
अब हामी
वर्षै भरि कुकुरतिहार मनाउन सक्तैनौं ।
(उनीहरूले सोचेका भए ः पृ–२१)
जनताका आस्था–विश्वासका मठहरूमाथि खुलेआम पिसाव गर्दै हिड्ने निरङ्कुश शासक र उसको विधि संयन्त्रलाई कुकुर र कुकुरतिहारका रूपमा प्रस्तुत गदै तिनप्रति कविको विमति समेत यहाँ प्रकटित छ ।
भोलि के होला ?
हिजो मान्छेलाई
प्रेम गर्थे मान्छेहरू
अहिले सहरमा
तस्वीरलाई प्रेम गर्छन् मान्छेहरू ।
(भोलिको तस्वीर ः पृ–३४)
शहरी–नागर सभ्यताले मान्छेभित्र संवेदना, श्रद्धा, प्रेम, मानवता, कर्तव्य सबैसबै निलिसकेर केवल कृत्रिम जीवनमा रूपान्तरण गरिसकेको र गरिछाड्ने यथार्थलाई प्रस्तुत गर्दै अब सहरियाहरू मान्छेलाई नभएर उसको तस्वीरलाई प्रेम गर्ने सन्दर्भबाट व्यङ्ग्य गरिएको छ उपर्युक्त कविताङ्शमा ।
हिजो खोजिएको अमलेखगञ्ज
स्वतन्त्रताका लागि
अशक्त मनहरूको थियो
अहिले मैले खोज्दै गरेको अमलेखगञ्ज
दास बन्न आसक्त मनहरूका लागि हो ।
(म खोज्दैछु अर्को अमलेखगञ्ज ः पृ–३७,३८)
प्रस्तुत कविताङ्शमा कविले अर्को अमलेखगञ्जको आवश्यकता वोध गरेका छन् तर त्यो अमलेखगञ्ज स्वतन्त्रताका लागि आसक्त मनहरूका लागि होइन । त्यो त त्यस्ता दास बन्न आसक्त मनहरूका लागि हो जसलाई जतिसक्तो चाँडो समाजबाट डाँडो कटाउनुपर्छ । अग्रगामी चेतनाका वाधक, प्रतिगमनकारी, यथास्थितिवादी आदि सबैलाई कविले दासहरूका बिम्बमा व्यङ्ग्य गरेका छन् ।
कवि सिङ्गो राष्ट्रको शासन–प्रशासन, विधि–नियम, संचालन गर्ने सिंहदरवारलाई जादुघरका रूपमा चित्रित गर्छन्, हेरौं –
मलाई
सिंहदरवार र जादुघर
उस्तै उस्तै लाग्छन् ।
(सिंहदरवार ः पृ–३९)
जादुघरबाट जादुवालाले प्रस्तुत गरेका अनेक रोमाञ्चक तिलस्मी, अद्भूत र अतिरञ्जनात्मक खेलहरू, चटकहरूसँग सिंहदरवारका नेता, कर्मचारी, मन्त्रीगण आदिका कार्यसँग सामिप्य देखाउँदै जादुवालले दर्शकको चेतनालाई लुप्त पारेझैं जनताका दैलाबाट सहिदका नाममा सपथ खाएर जनताको हितरक्षार्थ लागि पर्ने प्रतिवद्धता बोकेर सिंहदरवार छिरेका नेताहरूले पनि ठीक जादुवालाले झैं जनतालाई बुझिनसक्नु रहस्यका छलकारी आश्वासन दिँदै चित्रविचित्रका गतिविधिहरू गरेर जनताको चेतनालाई लुप्त पार्ने प्रयास गरे । छेपाराले रङ फेरे झैं उनीहरू फेरिए । आफूले टेकेको माटो र गरेको प्रतिवद्धता बिर्सिए र जनताका नजरमा उनीहरू पनि एउटा रहस्यमयी जादुवाल बन्न पुगे । कविले यसै मर्मलाई साह्रै भित्री तवरमा व्यङ्ग्य गरेका छन्, जादुघर र सिंहदरवारको सामिप्य देखाएर ।
सारमा भन्दा कविको व्यङ्ग्य चेतना कलाका आवरणमा प्रकटिएको छ । कहीं कतै पनि कोही र केहीप्रति ठाडो आक्षेप र विरोध पाइँदैन । बिम्ब र प्रतीकमा प्रकटिने कविको व्यङ्ग्यचेतना प्रखर, नवीन र कलात्मक छ ।
५. प्रतीकात्मकता ः
कवि पोखरेल आफ्ना कविताहरूमा प्रतीक प्रयोगका दृष्टिले पनि पूर्ण सफल छन् । कथ्यलाई बिम्बमा–प्रतीकमय बनाएर प्रस्तुत उनका कविताहरूले अर्थ गाम्भीर्यमा बिन्दुमा सिन्धु अटाएका छन् । अर्थात् देख्ता सरल लाग्ने तर विशद्–वृहत् भावलाई समेट्न सक्षम छन्, उनका कविताहरू । कविभित्रका आक्रोश, विद्रोह, नैराश्य, हर्ष, विषाद्, असहमति, असन्तुष्टि, डाह, छटपटी, परिवर्तन आदि भावहरूलाई प्रतीकीकरण बिम्बीकरण गरी प्रस्तुत गर्छन् उनी । यस्तो प्रयोगबाट एकातिर गहन भाव संप्रेषण गर्न उनी सफल भएका छन् भने अर्कातिर रूपपक्ष पनि उत्तिकै सशक्त र सुन्दर बनेको पाइन्छ अनि कथ्य झन् उज्यालिएर प्रकटिएको देखिन्छ, तल हेरौं –
लेख्न मन थियो
उज्यालोको कविता ...
अँध्यारोको महान्वाणी लेख्न
कलमलाई आदेश भएको बेला
अँध्यारोको बिरुद्धमा लेख्ने कुरै भएन,
(कविताको विषय ः पृ–१३)
उज्यालोको कविता, अँध्यारोको महान्वाणी, कलमलाई आदेश यी तीन वटै पदावली सामान्य हिसाबले जति सरल बुझिन्छन् अर्थ गाम्भीर्यका रूपमा त्यति नै फराकिला लाग्छन् । उज्यालोको कविता नवीन चेतनाको द्योतक हो । अँध्यारोको महान्वाणी, प्रतिगमनकारी चिन्तन र कलमलाई आदेश, लेखकहरूलाई बाध्य बनाइएको स्थितिका रूपमा अर्थ संप्रेषण गरिहेको देखिन्छ । अर्को कविताङ्श –
मेरो चेतनाको बारीमा
ऊ वनमारा रोप्छ ।
(कसो जमिन ? ः पृ–१७)
यहाँ कविले मेरो चेतनाको बारीलाई नयाँ समतामूलक समाजजीवन निर्माण गर्ने दृष्टिकोणका रूपमा, ‘ऊ’लाई निरङ्कुश एवं प्रतिगामी चिन्तनयुक्त शासक–व्यक्ति विशेष वा समूह विशेषलाई र वनमारा रोप्छ लाई संहारक वा विनाशक तत्व संयन्त्र, विधि वा सोचका रूपमा अभिव्यक्त गरेका छन् ।
कवि नयाँ जीवनका चाहना र प्राप्तिलाई सुन्नै नचाहने यथास्थितिवादी शासकको चरित्रलाई यसरी प्रस्तुत गर्छन् तलको कविताङ्शमा–
ऊ बगर
नयाँ जीवको सहनाई
उसलाई अप्रिय लाग्छ
जब कतैबाट आउँछ चिसो बतास
ऊ चिन्तामग्न हुन्छ ।
(ऊ बगर खडेरी पर्खन्छ ः पृ–२२)
अवसरवादी नेतृत्वको पलायनतालाई कविले प्रस्तुत गरेको बिम्ब हेरौं –
हाम्रो बाँझो बारीमा
लोकतन्त्रको खेत जोत्ने
एक हुल हलीहरू
हाम्रो बस्तीबाट आज राती सुटुक्क भागे
(बाँझो जमिन र हलीहरू ः पृ–२७)
उपर्युल्लिखित कविताङ्शहरू कविले प्रयोग गरेका बिम्ब र प्रतीकका नगन्य नमुनाहरू मात्र हुन् । सिङ्गो सङ्ग्रह नै यस दृष्टिले उल्लेख्य छ । यी बिम्बप्रतीकहरू कतै प्रकृति, इतिहास र पुराणबाट कतै लोकजीवनबाट, कतै समकालीन समाजजीवनबाट र कतैचाहिं कवि स्वयम्को कल्पनाबाट (वैयक्तिक) टिपिएर प्रस्तुत गरिएका छन् । वैयक्तिक प्रतीक प्रयोगका कतिपय स्थानमा भने कविको भाव सम्प्रेषण खज्मजिएको पनि पाइन्छ, यो चाहिं कविको सीमा हो । अन्यथा शीर्षकदेखि कथ्यसम्मै कविले बिम्बप्रतीकको निर्वाह सफलता पूर्वक गरेका छन् ।
६. रोचक प्रस्तुति–अमूर्त भाव ः
कहिलेकाहीं लेखककविहरू यथार्थविरत काल्पनिकतामा विचरण गर्न पुग्दछन् । यसो हुनका अनेक कारणहरू हुन्छन् । कारण जे भए तापनि अतिकल्पनाले अमूर्ततालाई साथ लिइदिन्छ, विशेष कविता विधामा । किन भने कविताविधा स्वयम्मा थोरैमा धेरै अभिव्यक्त गरिने रचना विशेष हो । अमूर्तताले बहुअर्थीभाव अभिव्यञ्जनामा सहयोग पुर्याउँछ जसले लेखकसँग सम्प्रेषणीय सङ्कट उत्पन्न गराउँछ पाठकको । परिणामत ऊ आफ्ना खुसीले अर्थ उत्पादन गर्न पुग्छ यसले कवि र पाठकबीच ऐक्यभाव उत्पन्न गराउन सक्तैन । अझ सामान्य चेतनास्तरको पाठकका लागि यस्ता रचनाहरू दुरुह साबित हुन्छन् । एउटा वर्गसचेत लेखकले यस्ता कुरा विचार पुर्याउनु पर्ने हुन्छ । जहासम्म कवि पोखरेलको कुरा छ, उनका सङ्ग्रहका न्यून कविताका ज्यादै कम कविताङ्शहरूमा यस्तो प्रवृत्ति परिलक्षित भएको छ । परस्पर सम्बन्धविच्छेद भएझैं लाग्ने पङ्क्तिहरू पूर्वापर सम्बन्ध टुटी व्यष्टिमा नै वा समष्टि भावमा अर्थ वोध गर्नुपर्ने र अर्थतारतम्यताप्रति नै पुनर्विचार गरिनु पर्ने अवस्था देखिन्छ । केही कविताङ्शहरू हेरौं –

ऊ बगर,
इतिहासको आदिम कथादेखि
खडेरीको यात्रा
सबैभन्दा पहिले
उसैका छातीबाट वस्तीतिर बुर्कुसी मार्छ
उसको यात्रामा बादल टेकिएकै छैन
उसको विश्वासमा शिखर कुल्चिएकै छैन
ऊ बगर
बादलिएको आकास फटाउन
सबै हुट्टिट्याउँहरूसँग
एक पर्म सहयोग माग्छ ।
(ऊ बगर, खडेरी पर्खन्छ ः पृ–२१)
सबै कुरा साँचो हुनेछ त्यसबेला
बगरमा पल्टिएका
काला ढुङ्गाहरू बोकेर
घोडाहरू शिखर चढ्न खोज्नेछन्
र भ्यागुत्ताहरू चराको प्वाँख टाँसेर
सिंहदरबारभित्र पस्नेछन्
आजका मितिको
टुकुचाको पानी अँजुलीमा उघाएर
शुद्धजलको बहस छेड्नेछन् पण्डितहरू
बाघमाथि चढेर मृग
आफ्नो लक्ष्यको
सुदूर यात्रा तय गर्नेछ
लाटकोसेराहरू
घामको सुन्दरताको बखान गर्न
व्यासासनमा बस्नेछन्
र इतिहासको क्रूर नियति बोकेर
बर्तमान बगिरहने छ
अनाथ रगतको बागमती
(सबैकुरा साँचो हुनेछ ः पृ–१९)

माथिका दुबै कविताङ्श सरल–सहज भाववोधका दृष्टिले टाढा रही सामान्य पाठकको पहुँचभन्दा बाहिर भएको प्रतीतिन्छन् । र व्यष्टि–व्यष्टिभित्र बुझिनु–अर्थिनु पर्ने अथवा समग्र कविताको भावलाई आधार बनाएर अर्थ खोजिनु पर्ने स्थिति सिर्जना भएको देखिंदा सिङ्गो संरचनालाई न्यूनाधिक क्षति पनि गरेको देखिन्छ । तर श्रुतिमधुरता र प्रस्तुतिगत–शब्द संयोजनआदि) हिसाबले चाहिं रोचक र सुन्दर देखिन्छन् ।
कफ्र्यू नलागेको दिनसँग पनि
डर छ उसलाई
त्यतिकै डर छ
जून लागेको रातसँग
असाध्यै डराउँछ
स्वतन्त्रताका आँखाहरूसँग
ऊ अर्थात्
नयाँ शताब्दीको थोत्रो मान्छे
गरिब देशको धनी मान्छे ।
(नयाँ शताब्दीको थोत्रो मान्छे ः पृ–६)

प्रस्तुत कविताङ्श प्रतीकात्मक भएर पनि अवोधगम्य छैन, सहज–सरल उति नदेखिए पनि जटिल र असम्प्रेषणीय पनि छैन, अर्थात् बुझ्न सकिन्छ लेखकको भावना । अब यसपछिको अर्को अनुच्छेद हेरौं –
उसले बारम्बार देखिरहेको छ
एउटा कुकुर
आधा चपाइसकेको संविधान
मुखमा झुन्ड्याएर
ऊ सधैं हिंडने बाटोमा डुलिरहेको छ
उसको कुनै अङ्गमा छुँदैन
यो घटना
(ऐ ः पृ–६)

यहाँ उसले बारम्बार देखिरहेको र ऊ सधैं हिड्ने बाटोमा डुलिरहेको एउटा कुकुर छ जसको मुखमा आधा चपाइसकिएको संविधान झुन्डेको छ । स्पष्ट छ संविधान चपाउने व्यक्ति उही हो तर आधा चपाइएको संविधान मुखमा झुन्ड्याएर उसकै बाटामा डुलिरहने त्यो कुकुरचाहिं कसको बिम्बमा आएको छ त ? जनताको बिम्बमा कुकुर आएको हो भने शब्द प्रयोग उचित भयो र ? अनि उसको दृष्टिबिन्दुबाट जनतालाई कुकुरका रूपमा सङ्केत गर्न खोजिएको हो भने त्यो पनि अमूर्त र अस्पष्ट महसुस हुन्छ । 

समग्रमा भन्दा यस प्रवृत्तिका कविताङ्शहरू (माथि पनि भनियो) सङ्ग्रहभित्र थोरैछन् । यसको कारण बिम्बप्रतीकको प्रयोगवहुलता पनि हो, तर थोरैमा भावुकतावश भएको यथार्थविरतता र विचलन पनि हो । यस किसिमको प्रस्तुतिले ठुलै क्षति नगरोस् तर माथि पनि भनिएको छ – एउटा वर्गसचेत कविको लेखनीमा अन्ततः यसले नकारात्मकता नै सिर्जना गरिदिन्छन्, यो चाहिं पक्कै हो । 

७. भाव र कलाको सुन्दर संयोजन ः
सुन्दर विचारको प्रस्तुति सुन्दर कलामार्फत हुन सके त्यस्ता सिर्जनाले पूर्णता प्राप्त गर्दछन् र दीर्घकालीन प्रभाव छाड्दछन् । प्रगतिशील लेखनमा कलापक्षको उपेक्षा गरिन्छ भन्ने आक्षेप समेत छ । यस दृष्टिबाट हेर्दा एकाध कविताङ्शभित्रका अस्पष्टता, दुरुहता वा अमूर्त एवं विसृङ्खलित भाव पक्षलाई सामान्य एवं नगण्य मानिदिने हो भने कवि पोखरेल आफ्नो कविता सङ्ग्रह अनुहारहरू लाई भाव र कलाको उचित सन्तुलन एवं संयोजन भएको सुन्दर कृतिका रूपमा प्रस्तुत गर्न सक्षम र सफल देखिन्छन् । आफ्ना जीवनका जीवन्त अनुभूतिहरू, समाजसापेक्ष आर्जित सत्यहरू, आफ्ना भविष्यका सुन्दर भावनाहरू, चाहनाहरू, सहमति र विमतिहरूलाई निकै परिश्रमसाथ कलाका आवरणभित्र अभिव्यक्त गरेको देखिन्छ कविले । र तिनले समाजजीवनका यथार्थ र कविको धारणालाई एकातिर अभिव्यञ्जन गरेका छन् भने अर्कातर्फ कलागत मूल्यलाई समेत उचालेका छन् । यसलाई प्रकट्याउने सन्दर्भमा कविले प्रशस्त नवीनता र निजत्वसमेत प्रस्तुत गरेका छन् । केही दृष्टान्तस्वरूप कविताङ्श हेरौं –
देशको मानचित्र बोकेर
गाउँगाउँ घुमी हिंड्ने
हामीले सधैं देखिरहेको
हाम्रै चेतनाको बारीमा
घाम रोपेर हिंड्ने एउटा मान्छे
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे मर्यो ।
(उसको मृत्युमा ः पृ–११)
अग्रगामी चेतना छर्दै गाउँवस्तीलाई ब्यूँझाउँदै हिंड्ने र तिनकै निमित्त बलिदान भएका तमाम मुक्तियोद्धाहरूलाई कविले अति सरल विशेषणबाट मूत्र्याएका छन् एउटा असल मान्छेका रूपमा । ठीक यसै तलको कविताङ्श हेरौं –
उसको मृत्युमा
शोकले निन्याउरा भए
झुप्राहरू
नियास्राले सुस्ताए
दलानहरू
अनुहारहरू फुङ्ग उडाएर
बेहोसझैं भए
गाउँका गोरेंटाहरू ।
(ऐ ः पृ–११)

उसको मृत्युमा महल शोकले निन्याउरो भएन, नियास्राले बरन्डाहरू सुस्ताएनन् र सहरका फराकिला चिल्ला सडक र राजमार्गहरू बेहोस् भएनन् किनभने त्यो असल मान्छे मात्र झुप्राहरू, दलानहरू र गाउँका गोरेंटाहरूको मुक्तिका लागि मरेको थियो । जति गम्भीर भाव छ त्यतिकै सरल बिम्बप्रतीक – कलापक्ष ।
त्यस असल मान्छेभित्र कति ठुलो वैचारिक आस्था, दृढता र प्रतिवद्धता रहेछ अनि मुक्तिप्रति अटल विश्वास रहेछ, तल हेरौं –
सहयात्रीहरूको एक हुल झैं
शिखर चढेको बेला तिर्खाएर
टुकुचाको नालीमा फाल नहालेको
चेतनाको माछापुच्छ«
(ऐ ः पृ–११)

यसैको अर्को अनुच्छेद हेरौं –
सुनको थिएँ
माटोको मायामा जून फल्छ
विवेकको छातीमा घाम उदाउँछ
इतिहास लेख्न सकुन्जेल
जून मर्दैन
घाम मर्दैन
मैले सुनेकै थिएँ
माटोको माया गर्ने मान्छे
मृत्युपछि पनि वास आउँछ
घाम र जूनमा रूपान्तर भएर
(ऐ ः पृ–१२)

जनताको लागि मर्नेहरू जनताका मनमा सदा अमरता प्राप्त गर्दछन्, यही वाक्यलाई कविले लोभलाग्दो भाकामा व्यक्त गरेको छन् । र कविले एउटै शब्दमा सहिद नभनेर बढो कलात्मक तवरले एउटा असल मान्छे भन्ने पदावलीबाट सहिद शब्दको पर्याय दिएका छन्, सायद सहिद शब्दको अवमूल्यन प्रति कवि खिन्न छन् ।
भाव र कलाको अझ सुन्दर समन्वय देख्न पाइन्छ सहिद सन्दर्भबाट प्रकटित कविताहरू अचेल मान्छेहरू र वनफूल र सपनामा । प्रौढ कालिगढका पारखी हातहरूबाट कुँदिएका यी कविताहरू सिङ्गो सङ्ग्रहभित्रकै सर्वाधिक सशक्त र सुन्दर रचना प्रतीत हुन्छन् । तल कविताङ्श हेरौं –
गुराँस फूल
जब तिम्रो सपनालाई
सन्तानहरूले विपनामा छाम्छन्
तिमी त्यसबेला खुबै खुसी हुनू
हामीले नदेखे पनि
विजयोत्सव मनाउनू
तिमी त्यतिबेला
रातो माछापुच्छ«े भएर हाँस्नू
गुराँस फूल
तिम्रो वेगवान यात्रालाई
मेरो सलाम !
(अचेल मान्छेहरू ः पृ–२९,३०)

कविले सहिदप्रति श्रद्धाञ्जली स्वरूप व्यक्त गरेका यी कोमल भावहरू उतिकै कोमल सरल एवं सहज भाषाशैलीमार्फत् प्रकटिएका छन् । शब्दसज्जामा जुन सरलता देखिन्छ भाव गम्भीरतामा उतिकै व्यापकता परिलक्षित भएको छ । अर्को अंश हेरौं–
मिथक कथा जस्तै
बच्चाहरूले सुनाउँदै जानेछन्
यो कथा पछिसम्म
पुस्तापुस्ताको अन्तराल पछिसम्म
त्यसबेला पनि मान्छेहरू
साम्मीको मैदानमा
एउटा गुराँस हरायो भन्छन् ।
(ऐ ः पृ–३०)

सहिदहरू अनन्तकालसम्म जनमनमा बाँचिरहने सन्दर्भलाई कविले अत्यन्त सुन्दर ढङ्गमा प्रस्तुत गरेका छन् साथै उपर्युक्त दुबै कविताङ्शबाट आफ्नो भविष्यप्रतिको आशावादी विचारलाई पनि प्रकट गरेका छन् कविले ।
सहिद सेतु सुनारको स्मृतिमा संरचित वनफूल र सपना कविताको निम्न अंश हेरौं–
प्रिय आफन्तहरू
भोलिको समयलाई
बेलाबेला सम्झाइरहनू
मैले रोपेको विरुवामा
फेरि झुन्डिनु हुँदैन कालीपोकेहरू
मेरो यात्रामा
कसैले कुनै शोकगीत नगाउनू
मेरा साना सन्तानहरूलाई
बुझ्ने भएपछि सुनाइदिनू
तिम्रा नीला आँखाहरूको
प्यारो अनुरोध पूरा गर्न
ऊ सागर हिंडेकी छ
मसँग लोभको कुनै दरवार छैन
म वनफूल
मलाई बगैंचाका फूलहरूसँग
अलिकति गुनासो छ ।
(पृ–४४)

प्रस्तुत कविताङ्शमा प्रकटित भाव शास्वत र सार्वजनीन भएर सहिदका भावनामा आवद्ध हुन पुग्छ । देश र जनताको मुक्तिका लागि गौरवशाली मृत्युवरण गर्ने जुनसुकै कालखण्ड र भूगोलका सहिदहरूको एक मात्र सपना के यही होइन र ? यति गहिरो विचारलाई उति नै सरलतामा प्रस्तुत गर्न सक्नु कविको कालीगढी शिल्पको उदाहरण हो ।
सारमा, भाव र कलाका बीच कुशल समन्वय र सुन्दर प्रस्तुति कवि पोखरेलको विशिष्ट काव्यप्रवृत्ति रहेको देखिन्छ । प्रगतिशील साहित्यभित्र पनि कलाको उच्चतम निर्वाह भएको हुन्छ भन्ने दृष्टान्त दिन यस सङ्ग्रहका अधिकांश कविताहरू सक्षम छन् । यस मानेमा कवि पोखरेल के भन्ने मात्र होइन कसरी भन्ने कुरा समेतमा पूर्ण सचेत छन् भन्ने प्रष्टिन्छ ।
८. संक्षिप्तता र पूर्णता :
फूटकर कविता आफैंमा पनि काव्यविधाको लघुरूप नै हो र यसमा जीवनका कुनै एक विशिष्ट अनुभूतिलाई संक्षिप्त आयाममा प्रस्तुत गरिन्छ तथापि निकै लामालामा कविताहरू पनि प्रयोगमा आइरहेकै देखिन्छ । प्रस्तुत सन्दर्भमा हेर्दा कविता सङ्ग्रह अनुहारहरू जम्मा ४६ पृष्ठमा २३ वटा कविताहरू समेटेर संरचित छ । यस मानेमा दुई पृष्ठभन्दा पनि कम आकारका एउटा सिङ्गो कविताको संरचना तयार भएको सहज अनुमान हुन्छ । प्रस्तुत सङ्ग्रहको सबभन्दा लामो कविता अनुहारहरू नै हो र यसैबाट सङ्ग्रहको नामकरण भएको छ । यो एक पदे पङ्क्तिदेखि ६ पदे पङ्क्ति रहेको जम्मा ५९ हरफमा संरचित भएको देखिन्छ । यसले के पुष्टि गर्दछ भने कवि लामालामा, पट्यारिला र शब्दजञ्जालमा फँसेका कविताको रचना गर्न आकर्षित छैनन् बरु संक्षिप्तता र पूर्णताभित्रै रमाउन चाहन्छन् र यसैलाई एउटा प्रवृत्तिकै रूपमा विकास गर्न रुचाउँछन् । त्यसैले सिङ्गो सङ्ग्रहका कविताहरू विषयगत र प्रस्तुतिगत दुबै हिसाबले संक्षिप्त र पूर्ण बनाएर कविले प्रस्तुत गरेका छन् । 

९ गद्य लयात्मकता :
भावाभिव्यक्तिको माध्यम साहित्यमा भाषा हो र यो पद्य वा गद्यमध्ये कुनै एक पथबाट अगि बढेको हुन्छ । कविताको भाषा पद्यमय हुन्छ र यो लयका विभिन्न आरोहअवरोहमा उठ्तै र बस्तै, तन्किँदै र खुम्चिंदै गन्तव्यमा पुग्दछ । गणितीय हिसाबमा आउनुपर्ने शास्त्रीय लय (वार्णिक, मात्रिक आदि) र स्वतन्त्र वा मुक्त लयलाई आत्मसात गर्ने गद्यलय नै कवितामा भाव प्रस्तुतिका माध्यम हुन् । कवि पोखरेलले आफ्नो सङ्ग्रहमा मुक्त वा स्वतन्त्र लयलाई मात्र आफ्ना विचार अभिव्यक्तिको माध्यमका रूपमा स्थान दिएका छन् । यसरी हेर्दा कवि पोखरेलको लयगत प्रवृत्ति गद्यात्मक वा अन्तर्लयात्मक रहेको छ । 

१०. परिष्कृत–परिमार्जित भाषाशैली :
कवि पोखरेलको भाषाशैली परिष्कृत र परिमार्जित देखिन्छ । शब्द चयन, प्रतीक प्रयोग, बिम्बसंयोजन, आर्थीसम्बन्ध लगायत सिङ्गो प्रस्तुतिकरण समेतलाई कविले अत्यन्त संयमी बनेर नियालेका छन् र त्यसभित्रका कसरमसर अस्पष्टता, द्वैअर्थकता आदिलाई भेटेसम्म, देखेसम्म पन्छाएर प्रस्तुत गरेका छन् । अति सुन्दर र सुक्तिमय पदावलीको रचना गर्नेदेखि सांगितिकताको निर्वाह गर्नसम्म कविले निकै जाँगर देखाएर कलागत मूल्यलाई उचालेका छन् । भावानुसारी शब्द चयन र संयोजन अनि अर्थसंप्रेषण सम्मलाई कविले अति मिही र सूक्ष्मतापूर्वक दृष्टिपात गरी यथासंभव सुन्दर रचना सिर्जना गर्ने अभीष्ट पूरा गरेका छन् । यस दृष्टिबाट हेर्दा कवि पोखरेल परिष्कृत परिमार्जित भाषाशैलीलाई आत्मसात गर्दै कविता सृजना गर्ने स्रष्टा देखिन्छन् । 

निष्कर्ष :
उपर्युल्लिखित प्रवृत्तिगत अन्तसाक्ष्यका केन्द्रीयतामा कवि मातृका पोखरेललाई हेर्दा उनी सदैव समृद्ध, उन्नत र अग्रगामी चेतनायुक्त नयाँ समाजको निर्माणमा निरन्तर प्रतिवद्ध जीवनवादी–आसावादी कविका रूपमा उपस्थित हुन्छन् । यथास्थितिको समूल अन्त्य र नयाँ जीवनसंस्कृतिको प्रवल आग्रह बोकेका कवि पोखरेल वर्गीय विषमताप्रति तीब्र असहमती जनाउँदै निम्नवर्गीय जनताप्रति अपार माया र स्रद्धा प्रकट्याउँछन् । विचार र कला दुबैमा सुन्दरता भर्न निपुण कविले स्वार्थी र भ्रष्ट नेतृत्व, कुरूप संस्कृति, वैचारिक ढुल्मुलेपना, अनुत्तरदायी शासन प्रणाली, दास मनोवृत्ति, निरङ्कुशता, राजनीतिक बेइमानी र भ्रष्टाचार आदि पक्ष मािथ सशक्त व्यङ्ग्य समेत गरेका छन् । प्रजातन्त्र, स्वतन्त्रता, स्वाभिमान, न्याय, समानता र मुक्तिका लागि प्रबल पक्षधर कवि पोखरेलले सुन्दर विचारलाई सुन्दर रूपमा सजाएर पछिल्ला दिनहरूमा पनि यस्तै सृजना प्रदान गरिरहन सक्षम बनिरहून्, अहिले यति नै । 

गरिमा मासिक 

No comments: