Wednesday, September 13, 2017

मातृका पोखरेलका कवितामा वैचारिक स्वर – हेमनाथ पौडेल



१. कविपरिचय
समकालीन प्रगतिवादी नेपाली साहित्य र संस्कृतिका फाँटमा मातृका पोखरेल (२०२३) एउटा क्रियाशील एवं सुपरिचित नाम हो । विद्यार्थी जीवनदेखि नै माक्र्सवादप्रति प्रतिबद्ध रही साङ्गठनिक–वैचारिक यात्रा गर्दै सृजनात्मक कर्ममा लागेका पोखरेलले अनेरास्ववियु, जनवादी युवा लिग, इन्द्रेणी सांस्कृतिक समाज, प्रगतिशील लेखक सङ्घ, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चलगायतका संस्थाहरूमा आबद्ध भई नेतृत्व तहमा समेत रही कार्य गर्दै आएका छन् । सृजना र कर्मलाई आन्दोलनसँगै अगाडि बढाइरहेका पोखरेलको वैचारिक यात्रा निकै परिपक्व, अविचलित र निष्ठावान् रहेको छ । उनको सृजनात्मक संलग्नता कविता विधाका साथै कथा र केही मात्रामा समीक्षामा समेत देखिएकाले उनी कवि, कथाकार र समीक्षक पनि हुन् तापनि उनको लेखनको मूल विधाचाहिँ कविता नै हो र अरू विधाका तुलनामा कवितामै उनी बढी सफल पनि देखिन्छन् । यसका साथै ‘वेदना’ पत्रिकाको सम्पादन समूहमा रहेर लामो समयदेखि सम्पादन कार्यको अनुभव पनि उनले सँगालेका छन् ।
सगरमाथा अञ्चल, उदयपुर जिल्लाको ठानागाउँ, थामखर्कमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाई नेपाल विद्युत् प्राधिकरणमा जागिरे जीवन बिताइरहेका पोखरेलको साहित्यिक लेखनको आरम्भ कविताबाटै तीसको दशकको अन्तिम वर्षदेखि भए पनि प्रकाशनको सुरुवात ०४५ सालदेखि भएको पाइन्छ । उनको पहिलो प्रकाशित कविता ‘सूर्य उदाऊ अब’ (समीक्षा, वर्ष २९, अङ्क ५०, २०४५) हो । हाल उनका सेतो दरबारको छेउबाट (२०५६) र यात्राको एउटा दृश्य (२०६०) कवितासङ्ग्रह एवं सन्ञस्त आँखाहरू (२०६१) कथासङ्ग्रह गरी तीनवटा कृति प्रकाशित छन् । यिनका अतिरिक्त सङ्ग्रहमा नपरेका र सङ्कलन हुन बाँकी उनका अरू रचनाहरू पनि पत्रपत्रिकामा फुटकर रूपमा प्रकाशित छन् । समाजवादी यथार्थवादलाई लेखनको मूल आदर्श बनाई आफूले देखेको, भोगेको र अनुभूत गरेको यथार्थलाई सहज एवं सरल शैलीमा अभिव्यक्त गर्ने मातृका पोखरेलको साहित्य सृजनाको दोस्रो विधा कथा हो । उनका कथाहरूमा राजनीतिक, सामाजिक यथार्थको अङ्कनका साथ मानवीय मूल्य, मान्यता र आस्थाको खोजी गर्दै आमूल परिवर्तनको चाहना व्यक्त गरिएको पाइन्छ भने कविताहरूले पनि यही वैचारिक आस्था र विश्वासको धरातलमा उभिएर समकालीन युगजीवनका वस्तुयथार्थलाई अभिव्यञ्जित गर्ने काम गरेका छन् । यसरी समयुगीन वस्तुयथार्थलाई आफ्ना कथा र कवितामा अभिव्यक्ति दिँदै आफूलाई स्थापित गर्ने काम पोखरेलले गर्दै आएका छन् । प्रस्तुत लेखमा भने उनका कवितामा मात्र केन्द्रित भई मूलतः तिनले वरण गरेको अन्तर्वस्तु वा वैचारिक भावगत सन्दर्भलाई मात्र विहङ्गम अवलोकन गर्ने अभीष्ट रहेको छ ।२. कवितायात्रा, प्रवृत्ति र मान्यता
मातृका पोखरेलले कवितालेखनको प्रारम्भिक अभ्यास ०३९ सालतिरैबाट गर्न थालेको पाइए तापनि उनको सबल उपस्थितिचाहिँ पञ्चायत उत्तरकाल अथवा बहुदलीय व्यवस्थाको आगमनपछि नै भएको हो । ०४६ सालको जनआन्दोलनपछिको समकालीन राष्ट्रिय सन्दर्भ र त्यसले उत्पन्न गरेको सामाजिक–राजनीतिक यथार्थलाई लिएर नै उनका सबैजसो कविताहरू आएका छन् । उनका उपर्युक्त दुईवटा कवितासङ्ग्रहमा सङ्कलित ४१ वटा कविताहरूको अन्तर्वस्तु र कविताका पुछारमा उल्लेख भएको रचना वर्षलाई आधार बनाउँदा ‘सूर्य उदाऊ अब’ (०४५), ‘आकाश तिमीलाई निम्ता छ’ (०४६) र ‘खै यात्रीहरू उठेकै छैनन्’ तीनवटा कविता मात्र पञ्चायतकालका त्यसमा पनि ऐतिहासिक जनआन्दोलनको निकट समयरेखाका रचना देखिन्छन् । बाँकी अथवा ‘४६ चैत्रको सडक’ र ‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’ (२०४७) पछिका सबै कविताहरू प्रजातन्त्र भनिने कालमा लेखिएका छन् । सङ्कलनमा परेका २०४५ सालदेखि २०६० सालसम्मका १६ वर्षका अवधिका ४१ वटा कविताहरूलाई अध्ययन गर्दा पोखरेलका २०५७ देखि ०६० सालसम्मका ४ वर्षहरू सृजनात्मक दृष्टिले उर्वर देखिन्छन् भने बाँकी वर्षमा पनि उनको सृजनात्मक निरन्तरता रहेको छ । कविताका पुछारमा मिति उल्लेख नभएका १० वटा कवितालाई छाडेर बाँकी कवितालाई हेर्दा पोखरेलले ०५७ सालमा छ, ०५८ सालमा सात, ०५९ सालमा पाँच र ०६० सालमा चारवटा कविता रचना गरेको पाइन्छ । ०६० सालपछि अथवा यात्राको एउटा दृश्य (०६०) सङ्ग्रह प्रकाशित भएपछि पनि मातृकाका कविताहरू पत्रपत्रिकामा प्रकाशित भएका छन् जसको सङकलन हुन बाँकी नै छ । २०४६ सालमा जस्तै २०६२÷२०६३ को दोस्रो जनआन्दोलनमा पनि सक्रिय रूपमा सहभागी भएका पोखरेलका ०६० सालपछिका गणतान्त्रिक अभियानसँग सम्बन्धित कविताहरू पनि छन् । हालसम्मको कवितायात्रालाई अध्ययन गर्दा मातृकामा समकालीन राष्ट्रिय जीवनको टड्कारो बोध रहनुका साथै उनी सधैँ अग्रगमन र परिवर्तनका पक्षमा उभिएका पाइन्छन् । सङ्कलनमा परेका प्रजातन्त्रपूर्वकालका रचनामा क्रान्तिको आमन्त्रण, आराधन र विद्रोहको स्वर मुखरित भएको छ भने त्यसपछिका पञ्चायत उत्तर अथवा बहुदलीय कालका रचनामा पनि राजनीतिक, वैचारिक एवं मानवीय मूल्य र नैतिक सङ्कटको समष्टिगत सन्दर्भ र त्यसप्रतिको विद्रोह रहेको छ । कलामूल्यका दृष्टिले सबै कविता उही स्तरका र अपेक्षित स्तर भएका अवश्य छैनन् तर मार्क्सवादप्रतिको पूर्ण निष्ठा र प्रतिबद्धता एवं त्यस अनुकूलको भावबोध भने उनका कवितामा यथेष्ट छ । प्रगतिवादी साहित्यकारहरूको मूल कसी पनि यही हो । सिद्धहस्त प्रगतिवादी साहित्यकारहरूका पनि सबै रचनामा उही स्तरको वैचारिक स्वर पाइँदैन । कुनैमा मात्र यथार्थवाद, कुनैमा आलोचनात्मक यथार्थवाद र कुनैमा समाजवादी यथार्थवादको वैचारिकता पाइन्छ । मातृकाका रचनामा पनि यही कुरा लागू हुन्छ । कविता रचना गर्दाको राष्ट्रिय–सामाजिक परिवेश र सांसारिक–व्यावहारिक भोगाइका सन्दर्भहरू पनि रचनाकारका पृष्ठभूमिमा हुन्छन् । त्यसकारण पनि कवितामा उही स्तरको उचाइ नरहनु स्वाभाविक हुन्छ । प्रवृत्तिगत रूपमा मातृका पोखरेलका हालसम्मका कविताहरूको अध्ययन गर्दा पहिलो र दोस्रो सङ्ग्रहका कवितामा खासै वैचारिक एवं कलागत अन्तर देखिँदैन । भाव, भाषा र शैलीमा जुन किसिमको अवस्था सेतो दरबारको छेउबाटका कवितामा रहेको छ, त्यसैको निरन्तरता नै यात्राको एउटा दृश्य सङ्ग्रह हो । भावविन्यासमा, पदयोजनामा र शिल्प–संरचनामा जुन किसिमको सामथ्र्य अघिल्लो सङ्ग्रहले प्राप्त गरेको छ, त्यसमा कुनै किसिमको आन्तरिक मोड आएको छैन । यस कारण उनको कवितायात्रालाई चरणगत विभाजन गरिरहनु आवश्यक देखिँदैन । विषयगत विविधता भए पनि भिन्न–भिन्न स्वाद र शैली नभएर एकरूपता रहनु उनका कविताको विशेषता हो । दोस्रो सङ्ग्रहमा आएर पनि “कथित कलाका नाममा कवितालाई अस्वाभाविक रङ्ग दलेर अमूर्त र रहस्यमय बनाउन त्यति उचित लागेन” (भूमिका, २०६०) भन्ने उनको आत्मकथन, आत्मस्वीकृति वा कवितासम्बन्धी मान्यता रहेकाले पनि यस कुराको पुष्टि गर्छ । यही कारणले हुन सक्छ उनले अन्तर्वस्तु र रूपको सुन्दर समीकरणमा भन्दा पनि वैचारिक सशक्ततामा बढ्ता जोड दिएका हुन् । कविता कलामा भन्दा पनि विचारमा बाँच्छ भन्ने धारणा पहिलो सङ्ग्रहमा सङ्कलित उनको ‘अजम्बरी कविता’ ले पनि व्यक्त गर्छ । कविता जनसामान्यले बुझ्ने हुनुपर्छ र जनताकै निम्ति लेखिनुपर्छ भन्ने उनको मान्यता छ । साहित्यले समाज रूपान्तरणकारी भूमिका खेल्न सक्नुपर्छ भन्ने धारणा भएकैले उनका कविताहरू सहज, सरल र विचारप्रधान बनेका छन् । यही प्रवृत्ति र मान्यता उनका उपर्युक्त दुईवटा सङ्ग्रहभित्रका कविताले आत्मसात गरेका छन् । यसको अर्थ उनका कविता कलाका दृष्टिले कमजोर छन् भन्ने होइन । विचारलाई कवित्वमा बदल्ने वा कलापक्षको निर्वाह गर्ने काम भने उनका कवितामा भएकै छ । अब तलका शीर्षकहरूमा उनका उपर्युक्त दुई कवितासङ्ग्रह र तिनमा सङ्कलित कविताहरूका बारेमा चर्चा गरौं ।३. ‘सेतो दरबारको छेउबाट’ – वर्तमान बोध र यथास्थितिप्रतिको तीव्र असन्तुष्टिसेतो दरबारको छेउबाट (२०५६) कवि मातृका पोखरेलको सृजनशील युवा प्रहरको पहिलो कवितासङ्ग्रह हो । यसमा उनका २०४५ सालदेखि २०५६ सालसम्मका बार वर्षका उन्नाइसवटा कविताहरू सङ्कलित छन् । यीमध्ये यसमा पञ्चायतकालका तीनवटा र बहुदलीय व्यवस्थाको पुनःस्थापना भइसकेपछि लेखिएका सोरवटा कविताहरू परेका छन् । कवितासङ्ग्रहको शीर्षक सङ्ग्रहभित्रको कविता ‘सेतो दरबार’ ले चित्रण गरेको विषयवस्तु र यसमा सङ्कलित अन्य कविताहरूको अन्तर्वस्तुलाई समेत ध्वनित गर्ने गरी राखिएको देखिन्छ । ऐतिहासिक जनआन्दोलन ०४६ पछि पनि सामन्तवादको प्रतिनिधिका रूपमा रहेको जनविरोधी, मानवद्वेषी, खुनी राजतन्त्र जस्ताको तस्तै रहेको र त्यसकै अधीनमा राज्यका सबै अङ्गहरू सञ्चालित भइरहेको यथार्थलाई प्रस्तुत गर्दै त्यसप्रतिको विरोध र विद्रोहलाई अन्तव्र्यङ्ग्यका साथ प्रस्तुत शीर्षकले अभिव्यञ्जित गरेको छ । प्रजातन्त्र कथित रूपमा मात्र रहेको र जनताको खुन र पसिनाले मोटाएको सेतो दरबारका आडमा अनेकौं जनविरोधी, प्रगतिविरोधी एवं समाजविरोधी कार्यहरू भइरहेका र जनताले भने आन्दोलनपछि पनि सेतो हात्तीसरह यसलाई पाल्नु–पोस्नु पर्ने र उल्टै उसले जनतामाथि रजाइँ गर्ने अवस्था रहनु अत्यन्त दुःखदायी भएको वास्तविकता बोध गर्दै यही विशेषता भएको समकालीन यथार्थको अभिव्यक्ति कवि मातृका आफ्ना कवितामा गरिरहेका छन् । सेतो दरबारको छेउबाट उनले अनुभूत गरेको यथार्थ समकालीन नेपालको विडम्बनापूर्ण स्थिति हुँदै हो । यही अन्तर्वस्तु वा भावगत सन्दर्भलाई ‘सेतो दरबारको छेउबाट’ ले प्रतिध्वनित गरेकाले कवितासङ्ग्रहको शीर्षकले तत्कालीन राष्ट्रिय स्थितिबोधको व्यञ्जक सारतत्वलाई समेट्न सकेको छ । यहाँ सेतो दरबारको छेउबाट पदावलीले टाढाबाट होइन, नजिकैबाट दरबारवरिपरि र दरबारभित्र बस्नेहरूका विरुद्ध धावा बोलिरहेको अर्थलाई पनि प्रतिध्वनित गरिरहेको छ । पछाडि बसेर होइन, सामुन्नेमै उभिएर निर्भीकताका साथ सामन्ती राज्यसत्ता र त्यसका नायकका विरुद्ध क्रान्ति र परिवर्तनका निम्ति जनतालाई आह्वान गरिरहेको सन्दर्भलाई कविताको शीर्षकले बुझाइरहेको छ ।
कवि मातृका पोखरेलको प्रस्तुत सेतो दरबारको छेउबाट कवितासङ्ग्रहमा सङ्कलित १९ वटा कवितामध्ये रचनाक्रमका हिसाबले ‘सूर्य उदाऊ अब’ (२०४५) पहिलो र ‘आफ्नै जस्तो लाग्यो’ (२०५६) अन्तिम कविता हो तर सङ्ग्रहमा कविताको प्रविष्टिक्रम रचनाक्रमका हिसाबले नभएर स्वच्छन्द किसिमले राखिएकाले र कतिपय कविताको रचना वर्षसमेत नखुलाइएकाले कालक्रमिक विवेचना गर्न असजिलो भएको छ । कुनै पनि रचनाको सृजनामा समय सन्दर्भ, युगीन परिवेश र रचनाकारको जीवनभोगाइले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । त्यो सन्दर्भ खुल्न नसक्दा कविताको भावगत सन्दर्भको व्याख्या बरालिन सक्ने पनि सम्भावना रहन्छ । कविताका पुछारमा रचनावर्ष नहुँदा यहाँ पनि कतिपय कविताका सन्दर्भमा यो स्थिति उत्पन्न भएको छ ।
प्रविष्टिक्रमका आधारमा सेतो दरबारको छेउबाट सङ्ग्रहमा सङ्कलित पहिलो कविता हो– ‘अजम्बरी कविता’ । यो कवि पोखरेलको कवितासम्बन्धी धारणालाई व्यक्त गर्ने कविता हो । यसमा उनले जनताका निम्ति लेखिएको, जनजीवनको यथार्थको चित्रण गरिएको कविता मात्रै अजम्बरी हुने र विचार नभएको तर कलाले मात्र लिपापोती गरिएको कविता बाँच्न नसक्ने आफ्नो धारणा व्यक्त गरेका छन् । यसमा कविले कलाको विरोध गरेका भने होइनन्, कलाभन्दा विचारमा बढी जोड दिँदै सचेत कवितालेखनलाई वरण गरेका मात्र हुन् । उनी कवितामा रूप पक्षलाई भन्दा सार पक्षलाई महत्व दिन्छन् । प्रगतिवादले कलाको विरोध गर्दैन, विचारविहीन, सारहीन रूपवादको मात्र विरोध गर्छ । कविको विचार वा भावलाई उच्चतम बनाउने र पाठकमा सम्प्रेषित गर्ने काम कलाले नै गर्छ । विचार जति राम्रो भयो कला पनि त्यति नै राम्रो भयो भने मात्र रचना अब्बल दर्जाको ठहर्छ । अन्तर्वस्तु र रूप कलासाहित्यका मुख्य संरचक तत्व भएकाले दुईमध्ये एकको अभावमा त्यस रचनाले मूल्यवत्ता प्राप्त गर्न सक्दैन । दुवैको जैविक एकता र सोद्देश्यपूर्ण सन्तुलन आवश्यक छ । यस सम्बन्धमा कवि मातृका सचेत नै देखिन्छन् ।
प्रस्तुत सङ्ग्रहमा मातृका पोखरेलका जनआन्दोलनपूर्वका क्रान्ति र परिवर्तनलाई आमन्त्रण गर्दै लेखिएका कविता हुन्— ‘सूर्य उदाऊ अब’ (२०४५) र ‘आकाश तिमीलाई निम्ता छ’ (२०४६) । ‘सूर्य उदाऊ अब’ उनको पहिलो प्रकाशित कविता हो । मिति उल्लेख नभएको तर अन्तर्वस्तुका हिसाबले ‘खै यात्रीहरू उठेकै छैनन्’ कविता पनि ०४६ सालपूर्वकै देखिन्छ । यी सबै कविता मुक्त लयमा संरचित छन् । यीमध्ये ‘सूर्य उदाऊ अब’ सूर्यलाई परिवर्तन र क्रान्तिको प्रतीकका रूपमा प्रस्तुत गर्दै आमूल परिवर्तनको चाहना व्यक्त गरिएको कविता हो भने ‘आकाश तिमीलाई निम्ता छ’ ‘आकाश’ लाई स्वतन्त्रताको प्रतीकका रूपमा लिई ०४६ साललाई आमन्त्रण गरिएको कविता हो । यी दुवै कवितामा पञ्चायती निरङ्कुशताको विरोध र परिवर्तनप्रतिको आकाङ्क्षा व्यक्त भएको छ । ‘खै यात्रीहरू उठेकै छैनन्’ कवितामा चाहिँ आन्दोलनको वस्तुगत परिवेश तयार भइसकेर पनि आन्दोलनकारीहरूको आत्मगत परिस्थिति बलियो नभएको यथार्थलाई प्रस्तुत गरिएको छ । यसपछि ‘४६ को चैत्रको सडक’ कवितामा कवि मातृकाले राष्ट्रिय जनआन्दोलनको चित्र प्रस्तुत गर्दै यसमा जनताले देखाएको शौर्य त्याग र बलिदानको पक्षलाई प्रकटीकरण गरेका छन् । ०४६ साल ल्याउनमा सशरीर एवं कविकर्मका माध्यमले समेत सक्रिय रहेका मातृका त्यसबेला ०४६ सालले जीवनमा परिवर्तन ल्याउने कुरामा आशावादी बनेका पाइन्छन् । कवितामा उनी भन्छन्—
मेरो जीवनमा
गौरव र स्वतन्त्रताको एक खुट्किलो बनेको
४६ चैत्रको मेरो देशको सडक
(पृ.२३)
तर यस किसिमको आशावादितामा बिस्तारै तुषारापात हुँदै जान्छ र बहुदलीय व्यवस्थाको पुनःस्थापनापछिका वर्षहरूमा राष्ट्रिय राजनीतिमा क्रमशः देखापरेका विकृति–विसङ्गति, मूल्यहीनता र विचलनले उनमा पीडाबोध हुन थाल्छ अनि उनी त्यसभित्रका कुरूप यथार्थहरूको चित्रणमा लाग्छन् । ‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’, ‘कालो सर्प’, ‘म देश पढ्दैछु’, ‘क्रम भङ्ग’, ‘त्यो दिन पर्खिएका रातहरू’, ‘साक्षी’, ‘सेतो दरबार’, ‘आज पनि उनै आए’, ‘छोङपाङ’, ‘तिमीले कस्तो सपना देख्यौ’, ‘मरुभूमि शिखर र आस्था’ एवं ‘आफ्नै जस्तो लाग्यो’ कविताहरू यही परिवेशलाई प्रतिबिम्बित गर्ने कविता हुन् । ‘भिमान जंगलको यात्रा’ र ‘फरक फरक छातीहरू’ सहिदप्रति श्रद्धा व्यक्त गरिएका कविता हुन् भने ‘अभिशप्त पर्खाल’ वामपन्थी पार्टीमा देखिएको टुटफुटलाई प्रतिबिम्बित गर्ने कविता हो ।
‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’ २०४७ सालमा लेखिएको कविता हो । यसमा कविले ०४६ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिप्रति सन्तुष्ट नरहेको भावलाई व्यक्त गरिरहेका छन् । सहिदहरूले यही उपलब्धिका निम्ति मात्र रगत बगाएका थिएनन् तर केही मानिसहरू सबै कुरा प्राप्त भइसक्यो भनेर तथाकथित प्रजातन्त्रको भजन गाउँदै हत्यारालाई प्रमाणपत्र दिँदैछन् भन्दै फेरि अर्को आन्दोलन हुने कुरालाई कवि सङ्केत गरिरहेका छन्—
फेरि अर्को जमात बढ्दैछ
त्यहाँ खान नपाउनेहरू छन्
घर नभएकाहरू छन्
बेचिनेहरू छन् ।
उनीहरू बहुलठ्ठी प्रजातन्त्रको जुठेल्नोमा
मसाल सल्काउने योजना गर्दैछन्
उनीहरू भन्दैछन्
यहाँ खुर्पे जुन अस्ताउँदा उज्यालो सँगसँगै
एउटा चेतनाको हुरी आउँछ ।
(पृ.१६)
यसरी २०४६ सालको जनआन्दोलन सम्झौतामा टुङ्गिई संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था प्राप्त भएको कुरालाई विडम्बनापूर्ण स्थिति मान्दै कवि मातृका यसलाई बहुलठ्ठीपूर्ण प्रजातन्त्र भन्छन् र अर्को आन्दोलनका निम्ति आह्वान पनि गर्छन् । कवि मातृका एकातिर ०४६ सालको आन्दोलनबाट प्राप्त उपलब्धिप्रति पटक्कै सन्तुष्ट छैनन् भने अर्कातिर प्राप्त भएका सीमित उपलब्धिलाई पनि समाप्त पार्न सक्रिय रहेको सामन्तवादले जरा फैलाउँदै गएकोमा चिन्तित पनि रहेका छन् । उनले नेपाली सामन्तवाद र त्यसको नाइके दरबारलाई ‘कालो सर्प’ को रूपमा चित्रित गर्दै मान्छेको रगत लागेको जिब्रोमा दुध ख्वाएर उसलाई नडस्ने बनाउँछौं भने पनि सर्पको स्वभाव डस्ने हो, त्यसैले त्यसले एक दिन नडसी छोड्दैन भन्ने घोषणा ‘कालो सर्प’ भन्ने कवितामा गरेका छन् । जुन कुरा नेपाली राजनीतिक इतिहासमा सत्य सावित पनि हुन पुग्यो । संवैधानिक बनाएर राखिएको राजतन्त्रले कसरी जनताका हक, अधिकार खोसेर आतङ्क मच्चायो, यो सबैले भोगेकै कुरा हो । कविहरू वर्तमानको मात्र चित्रण गर्दैनन् भविष्यद्रष्टा पनि हुन्छन् भन्ने कुरा मातृकाको उक्त कविताले पुष्टि गरेको छ । यसैले उनी प्रतिक्रियावादी वर्ग र त्यसको स्वार्थलाई सहयोग गर्ने सामन्ती राज्यसत्ता र त्यसको मूली दरबारलाई समाप्त नगरुन्जेल सधैँभरि जनताले त्रासमै बाँचिरहनुपर्ने हुन्छ भन्ने कुराको बोध गराउँदै उक्त कवितामा यसो भन्छन्—
दुध ख्वाएको सर्पको विष झन कडा हुन्छ
लौन ! अब यो चटपटाउने बेला भयो
एक छिनपछि हिडन थाल्छ
सबैले घरको हतियार झिक,
विषालु कालो सर्प मार्नैपर्छ ।
(पृ.८)
यही चिन्तनलाई प्रतिबिम्बित गर्ने कवि मातृकाको अर्को कविता ‘सेतो दरबार’ पनि हो । २०५५ सालमा लेखिएको र कवितासङ्ग्रहको शीर्षकसँग पनि सम्बन्धित रहेको यस कवितामा कवि पोखरेलले सामन्ती राज्यसत्ता र त्यसको वर्गीय स्वरूपलाई अत्यन्त राम्रोसँग चित्रण गरेका छन् । यस कवितामा आएका काले कामी र गोरे घर्ती नेपाली जनताका प्रतीक हुन् भने ‘सेतो दरबार’ सामन्तवादको प्रतीक हो । यी दुई प्रतीकका माध्यमबाट कविले तत्कालीन परिवेशको अभिव्यक्ति यसरी गरेका छन्—सेतो दरबार
प्रत्येक रात
हेलम्बुको बैंसलाई बलात्कार गर्छ
काले कामी र गोरे घर्तीको
पसिनाले नुहाउँछ
यो बस्तीमा घाम लाग्ने कुरा
ऊ सुन्नै चाहँदैन
……
त्यो दरबारमा
मान्छेका करङका सारङ्गीहरू
कुनै चाडपर्वमा, कुनै उत्सवमा
बेसुरसँग बजाइन्छन्
(पृ.२६)
यसरी उपर्युक्त कविताले सामन्तवर्गको सर्वसत्तावादी मानवद्वेषी चरित्रलाई उद्घाटित गरेको छ र त्यो वर्गले आफूलाई चरमचुलीमा राखेर जनतामाथि कस्तो खालको अत्याचार गरिरहेको छ भन्ने कुरालाई अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेको छ ।
२०५१ सालमा लेखिएको ‘त्यो दिन पर्खिएका रातहरू’ मा नेपाली जनताको उद्देश्यपूर्ण यात्रा निरन्तर रहेको कुरालाई उल्लेख गर्दै रातलाई पनि सुन्दर बनाउने गरी आकाशमा बत्तीहरू बाल्ने अठोट व्यक्त गरिएको छ । रातहरू जतिसुकै कठिन र वीभत्स भए पनि रातपछि दिन आउने विश्वासका साथ प्रस्तुत कवितामा आशावादी क्रान्तिकारी स्वरलाई मुखरित गरिएको छ । यसपछि २०५२ सालमा लेखिएको ‘आज पनि उनै आए’ कवितामा प्रजातन्त्र आए पनि नेताहरू चाहिँ उही रहेका र उसै गरी छलछाम र ढाँट्ने प्रवृत्ति रहेको र सत्ता, शासन र नेतृत्वमा शोषक वर्ग नै हावी भएको यथार्थलाई प्रस्तुत गरिएको छ । यसले बहुदलीय प्रजातन्त्रको पाखण्डी स्वरूपलाई प्रतिबिम्बित गर्दै नयाँ प्रजातन्त्र भनिए पनि यसमा उही वर्गको हालीमुहाली रहेको वास्तविकतालाई चित्रण गरेको छ । ‘साक्षी’ (२०५४) कवितामा जनआन्दोलनमा घाइते भएर वीर अस्पतालमा मृत्यु वरण गरिरहेको एकजना युवाको बेवारिसे अवस्थालाई चित्रण गरी जनआन्दोलनका सहिदहरूको अवमूल्यन भएको तथ्यलाई सार्वजनिक गरिएको छ भने ‘छोङपाङ तिमीले कस्तो सपना देख्यौ ?’ मा खोटाङको एउटा गाउँ छोङपाङलाई प्रतीक बनाएर नेपालका गाउँहरूबाट युवाहरू हरेक वर्ष लाहुर जाने र फोकल्यान्ड, कोसोभो र कारगिलका युद्धहरूमा रगत बगाउने प्रथाले नेपाल र नेपालीले नेपालभित्रैबाट मात्र होइन, बाहिरी समस्याबाट समेत पीडित हुनुपरेको कुरालाई देखाउन खोजिएको छ । यसमा कविले अरू मुलुकमा भएका अन्यायपूर्ण युद्धमा आफूलाई भागिदार गराएर नेपालीहरूलाई पीडित गराउनुभन्दा आफ्नै मुलुकका वर्गवैरीविरुद्ध लड्न युवाहरूलाई आह्वान गरेका छन् । प्रस्तुत कविताले भाडाका सिपाहीको रूपमा नेपाली युवाहरू बेचिने परम्पराका विरुद्ध आवाज उठाएको छ । सबैजसो कवितामा राजनीतिक समस्या र सन्दर्भलाई कविताको कथ्यवस्तु बनाउने पोखरेलले प्रस्तुत कवितामा भने त्यसभन्दा भिन्न मानवीय समस्यालाई पनि अन्तर्वस्तुका रूपमा लिएको पाइन्छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘म देश पढ्दैछु’ र ‘क्रमभङ्ग’ दुईवटा कविताहरू कविको वर्तमानबोधी चेतना र सामाजिक संरचनाको कुरूपतालाई चित्रण गर्ने राम्रा कविता हुन् । यीमध्ये पहिलोमा शान्तिका नाममा कोलाहल, न्यायका नाममा जेल, नेल, बन्दुक र पुलिसका यातना, देशभक्तिका नाममा देश बेच्ने काम वा राष्ट्रघाती सन्धिसम्झौता भइरहेको तथ्यलाई उजागर गरिएको छ । यो नेपाली इतिहासको विडम्बनालाई प्रस्तुत गर्ने कविता हो । दोस्रो ‘क्रमभङ्ग’ कवितामा चाहिँ तत्कालीन समाजमा जे हुनुपर्ने हो त्यो नभइरहेको र जे नहुनुपर्ने हो त्यो भइरहेको छ भन्दै निम्नवर्गीय जीवनका विविध समस्यालाई उठाएर उनीहरूले भोगिरहेका व्यथा, वेदना र पीडालाई रत्तिभर पनि समाधान गर्न नसक्ने यो प्रजातन्त्र आँफैमा खतरामा परेको छ भन्दै त्यसमाथि प्रश्नचिह्न उपस्थित गरिएको छ ।
‘भीमान जङ्गलको यात्रा’ र ‘फरक फरक छातीहरू’ सहिदको सम्मानमा लेखिएका संस्मरणात्मक कविता हुन् । पहिलोमा क.ऋषि देवकोटा ‘आजाद’ को त्याग र बलिदानी गाथालाई प्रस्तुत गरिएको छ भने दोस्रोमा सहिद भनेको व्यक्तिवादबाट माथि उठेको साझा चिन्तन, साझा स्वरूप र स्वतन्त्रतामा अनुवाद हुन सक्ने व्यक्ति हो भन्ने भावना प्रकट गरिएको छ । ‘अभिशप्त पर्खाल’ कवितामा चाहिँ वामपन्थी पार्टीहरूमा पटकपटक हुने टुटफुट र विभाजनलाई कथ्यविषय बनाइएको छ । मुलुकको अभिभारा र इतिहासको जिम्मेवारीलाई लिएर अगाडि बढ्नुपर्ने पार्टीहरू सानो कुरामा चित्त नबुझ्दा फुट्ने गरेका छन् र त्यो फुटको औचित्यलाई कुनैले पनि अहिलेसम्म सिद्ध गर्न पनि सकेका छैनन् । यही कुरालाई प्रतिबिम्बित गर्दै अझै फराकिलो र छहारीको रूप लिएर अगाडि बढ्दै जानुपर्नेमा जुठेल्नामै पर्खाल लगाउने सङ्कीर्ण सोच र फुटवादी प्रवृत्तिप्रति यहाँ कविले तीव्र रोष प्रकट गरेका छन् ।
यसपछि यस सङ्ग्रहमा रहेका अन्तिम दुई कविता ‘मरुभूमि शिखर र आस्था’ र ‘आफ्नै जस्तो लाग्यो’ हुन् । २०५६ सालमा प्रकाशित उक्त कवितामा कविको राजनीतिक चिन्तन, सङ्घर्षप्रतिको दृढता, यथास्थितिको विरोध, वैचारिक विचलनप्रतिको खबरदारी, सामाजिक–राजनीतिक वैषम्यको चित्रण र वर्गीय पक्षधरता जस्ता प्रवृत्तिहरू प्रकट भएका छन् । ‘मरुभूमि शिखर र आस्था’ मा शिखर चढ्ने कुरा कठिन ठानेर मरुभूमिमै बस्ती बसाउनेहरू अथवा क्रान्ति र परिवर्तनको बाटो हिँड्न नसकेर यथास्थितिमै रमाउनेहरूलाई खबरदारी गरिएको छ भने ‘आफ्नै जस्तो लाग्यो’ मा नेपाली निम्नवर्गीय समाजले भोग्नुपरेको शोषण, दमन, अपहेलना र उत्पीडनलाई देखाउँदै तिनप्रतिको वर्गीय प्रेम, आत्मीयता र पक्षधरतालाई प्रकट गरिएको छ । भावविन्यासका दृष्टिले पछिल्लो कविता सहज बोधगम्य छ भने अघिल्लोमा कविको भनाइ सहज रूपमा खुल्न सकेको छैन ।
सेतो दरबारको छेउबाट (२०५६) मा सङ्कलित उपर्युक्त कविताहरूको सरसर्ती अध्ययनबाट कवि मातृका पोखरेल वर्तमानप्रति एकदमै असन्तुष्ट छन् र भविष्यप्राप्तिको बाटो जतिसुकै दुरुह र दुर्गम भए पनि निरन्तर यात्रारत रहन चाहन्छन् भन्ने देखिन्छ । मातृकाले कविता लेखिरहेको यो अवधि ०४६ सालदेखि ०५६ सालसम्मको एक दशक हो । यो एक दशकमा कतिपय सकारात्मक कुराहरू पनि भएका छन् र नकारात्मक पनि । ०४६ सालको जनआन्दोलनले रूपगत परिवर्तन ल्याए पनि सारमा परिवर्तन नआएको र वर्तमान एकदमै पीडामय भएको अनुभूति कवि यी कवितामा गरिरहेका छन् । उनका उपर्युक्त कविताको मूल निष्कर्ष के हो भने ०४६ सालको जनआन्दोलनपछि पनि सामन्तवाद यथावत् रहेको छ र परिवर्तनको अनुभूति भएकै छैन । त्यसैले कवि मातृका पोखरेल समकालीन युगका कुरूप यथार्थलाई कविताको कथ्यविषय बनाई तिनमाथि प्रहार गर्दै क्रान्ति र परिवर्तनका निम्ति जागरुक हुन आह्वान गर्छन् ।
मातृकाको उक्त कवितासङ्ग्रहको चिरफार गर्दै कृतिको भूमिकामा समालोचक निनु चापागाईंले मातृकालाई वर्गीय प्रकृति र वर्गीय पक्षधरतामाथि विश्वास गर्ने कविका रूपमा लिएका छन् र उनको कवि प्रतिभा विकासवान् अवस्थामा रहेको छ भनेर टिप्पणी पनि गरेका छन् । भूमिका टिप्पणीमै कवि आहुतीले पनि मातृकालाई प्रशस्त सम्भावना भएका कवि मान्दै कलापक्षमा भने उनले सुधार ल्याउनुपर्ने सुझाव पनि दिएका छन् । यी टिप्पणीहरू उक्त कवितासङ्ग्रहका सन्दर्भमा औचित्यपूर्ण नै देखिन्छन् । कवि मातृका पोखरेलका कवितामा समकालीन राजनीतिक–सामाजिक संरचनाका यथार्थबोधको तीव्रता हुँदाहुँदै पनि उनले युगजनीन यथार्थको स्थूल पक्षलाई मात्र समात्न सकेको देखिन्छ । यही एक दशकभित्र पनि राष्ट्रिय राजनीतिक एवं सामाजिक परिदृश्यमा जनतासँग सरोकार राख्ने अनेकौं खाले समस्याहरू पनि उत्पन्न भएका छन् । जाति, जनजाति, उत्पीडित जाति, युवा एवं महिलाका साथै तराई, मधेश र पहाड एवं महङ्गी, बेरोजगारीका समस्याहरूतर्फ पनि प्रगतिवादी कविहरूको ध्यान जानु जरुरी छ । मातृका पोखरेल प्रगतिवादी कवि भएकाले उनले युगजीवनका विसङ्गत पक्ष र वर्गविषमताका आधारभूत कारणहरू खोज्ने र तिनकै आलोकमा जीवनलाई हेर्ने दृष्टिकोणलाई अँगालेका छन् । उनका कवितामा वैचारिक एवं शैलीगत आरोह–अवरोह पनि नपाइने होइन तापनि उनले प्रस्तुत गरेको सेतो दरबारका छेउबाट कवितासङ्ग्रहमा प्रगतिवादी जीवनदृष्टिलाई लिएर नै वर्तमानप्रतिको तीव्र असन्तुष्टि व्यक्त गर्दै भविष्यप्रतिको आशावादितालाई प्रकट गरेका छन् ।४.‘यात्राको एउटा दृश्य’ ः द्वन्द्वग्रस्त वर्तमान, वैचारिक विचलनको विरोध एवं क्रान्ति र विद्रोहको अभिव्यक्तियात्राको एउटा दृश्य (२०६०) कवि मातृका पोखरेलको दोस्रो कवितासङ्ग्रह हो । यसमा २०५७ सालदेखि २०६० सालसम्मका चार वर्षका बाईसवटा कविताहरू सङ्गालिएका छन् । सङ्कलित सबै कविताकृतिका पुछारमा रचनावर्ष उल्लेख भएकाले यी कविताको विषयवस्तु र भावगत सन्दर्भलाई बुझ्न सजिलो भएको छ । अघिल्लो कवितासङ्ग्रहले चर्चेको विषयवस्तु र उठाएको सन्दर्भ यहाँ पनि यथावतै छ । थप यसले राष्ट्रिय राजनीतिमा चुलिँदै गएको द्वन्द्वले पारेको प्रभाव र त्यसबाट समस्याग्रस्त बन्दै गएको मानवीय जीवन एवं वामपन्थी राजनीतिक वृत्तमा देखिएको वैचारिक विचलन र पतनशील संस्कृतिलाई समेत प्रतिबिम्बित गरेको छ । सङ्ग्रहको शीर्षक यसै सङ्ग्रहमा सङ्कलित ‘यात्राको एउटा दृश्य’ कविताबाट राखिएको छ । २०६० सालमा लिखित यस कवितामा कवि मातृकाले वामपन्थी वृत्तमा आएको वैचारिक विचलन, सत्तालिप्सा, धोका र विश्वासघातका कारण आस्था धराशायी भएको हुनाले ठेस लागेका घाउहरू लिएर यात्रामा केही रोकिनुपरेको अभिव्यक्ति दिएर राजनीतिक इतिहास र संस्कृतिलाई एकसाथ प्रतिबिम्बित गरिरहेका छन् । यसै कवितालाई आधार बनाएर कवितासङ्ग्रहको आवरणमा अतीतदेखि वर्तमानसम्मलाई प्रतिबिम्बित गर्ने गरी यात्राको अर्थमा रातो, नीलो, पहेंलो र कालो पाइलालाई देखाइएको छ । नेपालको कम्युनिस्ट आन्दोलनको चरणगत प्रवृत्तिलाई यी पाइलाले प्रतिबिम्बित गर्न खोजेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनलाई केन्द्रमा राखेर आवरणपृष्ठ तयार पारे पनि कम्युनिस्ट आन्दोलनको समग्र प्रवृत्ति भने यस्तो मात्र छैन । सबै काल, सबै चरण र सबै समूहमा सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । कम्युनिस्ट आन्दोलनको जुन चरणलाई रातो पाइलाले सङ्केत गर्न खोजेको छ त्यो चरण पनि पूर्णतः क्रान्तिकारी र विचलनहीन थिएन अनि त्यसयताका सबै चरणमा देखाइएको दृश्य नै मूल प्रवृत्ति पनि होइन । नेपाली कम्युनिस्ट आन्दोलन सुरुदेखि नै टुटफुट, आन्तरिक द्वन्द्व, पलायन र विचलनलाई पार गर्दै अगाडि बढिरहेको छ र यसका सकारात्मक पक्षहरू पनि छन् । कालो पाइलाले सङ्केत गरेको वर्तमान वा चौथो चरण पनि त्यस्तै नै अन्धकारमय चाहिँ छैन । यसका उज्याला पक्षहरू अवश्य छन् । स्वयं कविताको शीर्षकले नै यात्राको एउटा दृश्य भनेकाले पनि आवरणलाई कम्युनिस्ट आन्दोलनको समग्र प्रवृत्तिका रूपमा लिनु उचित हँुदैन । अनि रामप्रसाद ज्ञवाली (२०६४ ः १०८) ले विचलन र पलायनलाई एउटै पार्टी वा समूहसँगको मात्र प्रवृत्तिका रूपमा व्याख्या गरेझँै कुनै एउटा समूहको मात्र प्रवृत्तिका रूपमा लिनु पनि वस्तुवादी दृष्टिकोण हुँदैन । यो वा त्यो जुनसुकै समूहमा पनि धेरथोर देब्रे वा दाहिने विचलनहरू छन् र विचलन वा पलायन समग्र कम्युनिस्ट आन्दोलनभित्रकै एउटा नकारात्मक प्रवृत्तिचाहिँ हुँदै हो । यही नकारात्मक प्रवृत्तिमाथि कवि मातृका आफ्ना कवितामा व्यङ्ग्य गरिरहेका छन् । स्वयं कवि मातृका कविताको भूमिकामा भनिरहेका छन्— “निश्चय नै डेढ दशकभित्रको कालखण्डमा धेरै आस्था पुरुषहरूले आफैंले बनाएको उचाइलाई आफैंले होच्याए । हिजैदेखि देख्न थालेका उज्याला सपनाहरू झन् टाढाटाढा भइरहेका छन् । यी केही यथार्थहरू हुन् र अलि बढी हल्लाहरू पनि हुन् । तर यी कारणहरूले मैले मेरो आस्था भत्काउनुपर्ने कुनै कारण देखिनँ, मात्र ठेस ठानेको छु ।” यस अभिव्यक्तिले पनि प्रस्तुत कवितासङ्ग्रहको मुख्य अन्तर्वस्तुलाई बुझ्न मद्दत गर्छ । कवितासङ्ग्रहको शीर्षक वा नामकरणका रूपमा प्रस्तुत यात्राको एउटा दृश्यले कम्युनिस्ट आन्दोलनको एउटा प्रवृत्तिलाई सङ्केत गर्नुका साथै कवितासङ्ग्रहमा समेटिएका समष्टि कवितागत सन्दर्भमा तत्कालीन नेपालको विचलित अवस्था वा मूलतः २०५७ देखि २०६० सालका बीचको राष्ट्रिय राजनीतिक–सामाजिक सन्दर्भका सेरोफेरोलाई पनि प्रतिध्वनित गरेकै छ । यसका साथै कवि मातृकाको कवितायात्राभित्रको एउटा दृश्य पनि हुँदै हो– प्रस्तुत कवितासङ्ग्रह ।
अघिल्लो कवितासङ्ग्रह सेतो दरबारको छेउबाट र यस सङ्ग्रहका कवितामा समेत यथास्थितिप्रति तीव्र असन्तुष्टि प्रकट गरिरहेका कवि मातृका यसरी यथास्थिति टिकाउनमा आफ्नै सहयात्रीहरूको भूमिका जिम्मेवार ठान्छन् र शीर्षक रहेको ‘यात्राको एउटा दृश्य’ कवितामा त्यस प्रवृत्तिको यसरी विरोध गर्छन्–हिजोका मेरा सहयात्रीहरू
त्यही भोजमा सामेल हुँदै
मुर्दा हाँसो हाँसिरहेछन् ।
बितेको वर्ष,
गद्दारीको बाली राम्रै सित फल्यो
उनीहरूले भर्खरै मात्र
हाम्रो विवेकलाई धरौटी राखेर
कालो स्वार्थको भर्‍याङ चढेपछि
हाम्रो विश्वासको छातीमा
तिखो छुरी रोपेपछि
यसपटक,
उनीहरूकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।
(पृ.५५)
यसरी वामपन्थी राजनीतिक वृत्तको प्रवृत्ति प्रसङ्गलाई आधार बनाएर आफ्नै वैचारिक वृत्तका कुरूप यथार्थलाई नैतिक, सांस्कृतिक एवं राजनीतिक बेइमानीका रूपमा चित्रण गर्दै कवि मातृका उक्त कवितामा त्यसप्रतिको आफ्नो व्यङ्ग्यात्मक अन्तर्विद्रोही चेतलाई प्रस्तुत गरिरहेका छन् । यही विसङ्गत नियतितर्फको यात्रालाई प्रस्तुत गर्ने अर्को कविता हो— ‘उसले पनि हाम्रैजस्तो कुरा गर्छ’ (२०५७) । यसमा पनि रातो किताब बोकेर जनतालाई दिग्भ्रमित गर्दै हिड्ने अवसरवादी एवं विचलित नेताको चरित्रलाई देखाइएको छ । यस किसिमले वामपन्थी नेता र कार्यकर्तामा आएको वैचारिक विचलन र पतनशील संस्कृतिलाई कवितासङ्ग्रहका अरू कविताले पनि सङ्केत गरिरहेका छन् ।
यात्राको एउटा दृश्य (२०६०) कवितासङ्ग्रहमा सङ्कलित बाइसवटै कविता वैचारिक कविता हुन् । यीमध्ये ०५७ र ०५८ सालमा लेखिएका कवितामा समकालीन नेपालको द्वन्द्वरत वर्तमानभित्रको वस्तुसत्यलाई उद्घाटित गर्दै युगयथार्थप्रति तीव्र असन्तुष्टि, नकारात्मक यथार्थप्रतिको विरोध र परिवर्तनप्रतिको आशावादितालाई प्रकट गरिएको छ भने त्यसपछिका ०५९ र ०६० सालमा लेखिएका कवितामा मुख्यतः प्रतिगमनको विरोध गर्दै वर्तमानको कुरूपतामाथि निर्मम प्रहार गरी क्रान्ति र विद्रोहको स्वरलाई मुखरित गरिएको छ । उनले यस सङ्ग्रहभित्रका धेरैजसो कवितामा वैचारिक विचलनको तीव्र विरोध गर्दै आस्था र विश्वासको दृढतालाई प्रखर रूपमा अभिव्यक्ति दिएका छन् ।
यात्राको एउटा दृश्य कवितासङ्गहमा सङ्कलित पहिलो कविता हो— ‘फरक आँखाका यात्रीहरू’ (२०५७) । यो तनहुँ जिल्लाको मर्स्याङ्दी किनारमा मारिएका सहिद शोभाकान्त पोखरेललाई संस्मरण गर्दै लेखिएको कविता हो । यसमा कवि मातृका पोखरेलको कवितासम्बन्धी मान्यताले पनि अभिव्यक्ति पाएको छ । अरू यात्री कविहरूले जस्तो आफूले क्षणिक दृश्यको स्वप्निल संसारमा हराएर प्रकृतिमा रमाउँदै मस्र्याङ्दीको प्रकृति र छाललाई विषयवस्तु बनाएर कविता लेख्न नसक्ने स्पष्टोक्ति दिदै उनले मस्र्याङ्दीको छालमा शोभाकान्तको रगत र हरियालीमा आस्थाको बगैंचा भेटेको अभिव्यक्ति दिएर यस कवितामा सहिदप्रतिको आस्था र आफ्नो कवितासम्बन्धी मान्यतालाई एकैसाथ प्रस्तुत गरेका छन् । यस्तै किसिमका कविता साहित्यसम्बन्धी मान्यतालाई प्रस्तुत गर्ने उनका अरू कविता हुन्— ‘म तिम्रो कविताका विरुद्धमा लेख्छु’ (२०५८) र ‘प्रिय मान्छेका गीतहरू’ (२०५८) । यी कवितामा उनले आफ्ना कविताको विषयवस्तु सामान्य जनजीवन र शोषित पीडितहरूको व्यथा छन् र स्तुतिवादी कविताका विरुद्ध लेख्ने कुराको अभिव्यक्ति दिएर आफूलाई जीवनवादी, प्रगतिवादी कविका रूपमा उभ्याएका छन् । उक्त तीनै कवितामा कविता वर्गीय हुने कुराको अभिव्यक्ति पनि छ । यसबाट कवि मातृका पोखरेल समाजवादी यथार्थवादी लेखनका सम्बन्धमा सचेत रहेको स्पष्ट हुन्छ ।
यसमा सङ्कलित ‘दुश्मनहरू सुरक्षित रहेको बेला’ (२०५७), ‘दुख्ने मनहरूसँग’ (२०५७), ‘उज्यालो हुनुअघि’ (२०५८) र ‘भविष्यका लागि’ (२०५९) द्वन्द्वग्रस्त नेपाली समाजको यथार्थलाई बोध गराउने कविता हुन् । यीमध्ये ‘दुश्मनहरू सुरक्षित रहेको बेला’ ले एउटै समस्या वा गरिबी र रोजगारीका कारण माओवादी र पुलिसमा भर्ना भएका दुई दाजुभाइ माइलो र साइलाले एक अर्कालाई मार्नुपर्ने बाध्यता बनेको तत्कालीन अवस्थाको कटु यथार्थलाई प्रस्तुत गरेको छ । दुवैका वर्गीय शत्रु भने एउटै हुन् तर तीचाहिँ सुरक्षित रहनु र आ–आफूमा मारकाट गरेर बाबुआमा रुवाउने कुरा ठीक नभएको बोध गराउँदै यस कवितामा जताबाट भएको भए पनि हिंसा स्वीकार्य नभएको अभिव्यक्ति छ ।एउटै घरबाट उही समस्यामा
भाइ साहिँलो माओवादी भएर जङ्गल पस्छ
तिमी मकै र सातु बोकेर सहर पस्छौ
र खान्छौ पुलिसको जागिर
तिमी साहिँलालाई गोली ताक्छौ
साहिँलो तिमीलाई निशाना दाग्छ ।
………….
तिमी आफ्नै भाइहरूलाई हानिरहेका छौ
तिमी आफनै आफ्नैलाई मारिरहेका छौ ।
(पृ.१०)
‘दुख्ने मनहरूसँग’ र ‘उज्यालो हुनुअघि’ यी दुई कवितामा चाहिँ एकातिर नेपालीहरूले गरिबी, बेरोजगारी र सामाजिक कुरीतिहरूका कारण पीडित हुनुपरेको अवस्थालाई देखाइएको छ भने अर्कातिर अन्धकारबाट मुक्ति खोज्न हिँड्नेहरूमाथि राज्यले गरेको दमन र आतङ्कबाट पनि उनीहरू पीडित बनेको अभिव्यक्ति छ । ‘दुख्ने मनहरूसँग’ मा मेची, महाकाली र टनकपुरमा भएको भारतीय अतिक्रमणको पनि विरोध छ । ‘उज्यालो हुनुअघि’ मा चाहिँ कविले अप्रत्यक्ष रूपमा जनयुद्धको समर्थन गर्दै चाँडै नै परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् । यद्यपि कवि मातृकाले पहिलो कवितासङ्ग्रह सेतो दरबारको छेउबाटमा सङ्कलित ‘कालो सर्प’ मा सामन्तवादी राज्यसत्ता र त्यसको नाइके राजालाई कालो सर्पको प्रतीकका रूपमा लिँदै एक ठाउँ यसलाई समाप्त गर्न ‘सबैले घरका हतियार झिक, विषालु कालो सर्प मार्नैपर्छ’ भन्ने अभिव्यक्ति दिनुबाहेक कहीँ पनि हतियार उठाउने कुरा गरेका छैनन् । हतियारको कुरा नगरे पनि यस कवितामा चाहिँ परिवर्तन हिंसाबाट मात्र सम्भव हुने विचार व्यक्त गरेका छन्—
उज्यालो हुनुभन्दा अघि
सबैतिर सधैं यस्तै हुन्छ
हाम्रा खोलाहरूमा पानी होइन
रगतहरू बग्छन्
फडिर र ऐंसेलुका झुप्पाहरूमा
मासुका चोक्टाहरू झुन्डन्छन्
आमा ! कुखुराका भालेहरू पाल्नु
उज्यालो हुनुअघि
सबैतिर सँधै सँधै यस्तै हुन्छ ।
(पृ.४४)
वर्तमान कुरूप छ, अन्धकारमय छ र त्रासदीपूर्ण छ, त्यसैले यसका विरुद्ध क्रान्ति र विद्रोहको आवश्यकता छ भनेर यथास्थितिको तीव्र विरोध गर्दै अग्रगमन र परिवर्तनको भाव सम्प्रेषित गर्ने कविता हुन्— ‘अँध्यारोका विरुद्धमा’ (२०५७), ‘यसपटक दशैंमा’ (२०५७), ‘सर्पपूजा’ (२०५८), ‘अब आफ्नै बाटो रोज्नुपर्छ’ (२०५८), ‘जलजला’ (२०५८), ‘भविष्यका लागि’ (२०५९), बाटाहरू १, बाटाहरू २ र बाटाहरू ३ । यीमध्ये मैनबत्तीलाई चेतना र अँध्यारोलाई यथास्थितिको प्रतीक बनाएर मुक्तिको खोजी गरिएको कविता हो— ‘अँध्यारोका विरुद्धमा’ भने ‘ढाक्रे’ लाई सिङ्गै्र देशको प्रतीक बनाएर देशको अव्यवस्थाको चित्रण गरिएको कविता हो— ‘यसपटक दशैंमा’ । ‘सर्पपूजा’ चाहिँ अघिल्लो समूहमा परेका ‘सेतो दरबार’ र ‘कालोसर्प’ कै उत्तराधिकारी कविता हो । यहाँ पनि सर्प सामन्तवाद र त्यसको संरक्षक राजाकै प्रतीकका रूपमा आएको छ र उसले आफूलाई नाग भनाएर संवैधानिक भएको नाटक रचेर जनतालाई झुक्याइरहेको अभिव्यक्ति छ । ‘अब आफ्नैं बाटो रोज्नुपर्छ’ प्रवीण गुरुङको सम्झनामा लेखिएको कविता हो । यसमा राजा र राजदरबारका मानिसहरूको अत्याचारले सीमा नाघेको र प्रवीण गुरुङका हत्याराहरूलाई जय जयकार गरेर हामीले पराजयको त्रासदी बोकेर विडम्बनापूर्ण वर्तमानलाई भोगिरहनु परेको मर्मलाई उद्घाटित गरिएको छ । सँगसँगै यस कवितामा घरभित्र विशाल रेक्टरको भुइँचालो पालेर अत्याशलाग्दो जीवन बाँच्नुभन्दा क्रान्तिको बाटो रोज्न आह्वान पनि गरिएको छ ।
‘जलजला’ आस्था, विश्वास र देशभक्तिको भावनाले भरिएको कविता हो । यसमा ‘जलजला’ पहाडलाई आलम्बन बनाएर वर्तमानप्रति धावा बोल्दै सुन्दर भविष्य निर्माण गर्ने अठोट गरिएको छ । यहाँ जलजला आस्थाको शिखर र परिवर्तनको संवाहक भएर आएको छ । यहाँ कवि सुन्दर सपना बोकी सात समुद्रपारि गएर विकलाङ्ग भई फर्कने युवाहरूको अवस्था देखेर चिन्तित बनेका छन् र उनीहरूलाई देशभित्रै बाँच्न सिकाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । उनले वर्तमानलाई अत्यन्त कुरूप भयावह र बस्तीलाई खण्डहर देखेका छन् । बस्तीमा आगो लागेको छ र त्यो खण्डहरमा परिणत भएको छ तापनि कवि त्यही खण्डहरू बस्तीबाट सुन्दर भविष्य निर्माण गर्ने सपना साँचिरहेका छन् । भविष्यका लागि कवितामा वर्तमानको द्वन्द्वले सृजना गरेको त्रासदी, मानवीय अस्तित्व सङ्कट, राष्ट्रिय–सामाजिक परिदृश्यमा देखापरेको विचलन, विपथन एवं बहुपक्षीय धर्मसङ्कट र विरोधाभासको चित्रण गरी भविष्य निर्माणका लागि लड्न आह्वान र अठोट गरिएको छ ।
…हिजो गाउँमा मात्र गनाउने बारुद
सहरमै बस्न थालेको छ
…जंगलबाट बस्तीतिर छिरेका नारासँग
क्रमशः विश्वास टुट्दैछ ।
…म बाँचेको वर्तमानमा
अँध्यारो छाम्न रात पर्खनु पर्दैन ।
…सिरक ओडेर छेपाराहरू
सपना बाँडिरहेका छन् ।
…चेतनाले हिल्याएको खेतमा
उज्यालो रोपिरहेका कलिला भाइहरू
सदाका लागि निमोठिएका छन् ।
(पृ.३७।३८)
यी पङ्तिहरूले द्वन्द्वग्रस्त वर्तमानका बहुविध पक्षलाई चित्रण गरेका छन् । यस कविताको अन्त्यमा चाहिँ क्रान्तिको अपरिहार्यताको अभिव्यक्ति गरिएको छ । यात्राको एउटा दृश्यमा सङ्कलित ‘बाटाहरू १’, ‘बाटाहरू २’ र ‘बाटाहरू ३’ २०५९ र २०६० सालमा लेखिएका प्रखर वैचारिक कविता हुन् । यीमध्ये पहिलोमा ऊ र हामी सर्वनामका माध्यमबाट परिवर्तनविरोधी र परिवर्तन चाहने वर्गका बीचको भिन्नतालाई देखाइएको छ । ‘ऊ’ शोषक, सामन्तवर्गको प्रतिनिधि हो भने ‘हामी’ श्रमिक र गरिब–किसान वर्गको प्रतिनिधि हो । यी दुईका छुट्टाछुट्टै व्यवहार र सोच देखाएर कविले यस कवितामा आफ्नो वर्गीय पक्षधरता र चेतनालाई कविताको रूप दिएका छन् । ‘बाटाहरू २’ मा तत्कालीन राष्ट्रिय राजनीतिक दृश्यको प्रतिबिम्बन छ । सर्पले आफूलाई नाग भनाएर क्रान्ति र परिवर्तनको बाटोमा हिँड्नेहरूका सपना लुटी क्रूर र कुरूप बाटो हिँड्न बाध्य पारिरहेको अभिव्यक्ति दिँदै यस कवितामा आफू बरु क्रूर युद्ध लड्न तयार भएको तर उसको बाटोमा लाग्न तयार नभएको भाव सम्प्रेषित गरिएको छ । यो राजा ज्ञानेन्द्रले २०५९ सालमा चालेको प्रतिगमनकारी कदमलाई विरोध गर्ने कविता हो । ‘बाटाहरू ३’ पनि तत्कालीन निरङ्कुशता, राज्यआतङ्क, षड्यन्त्र, क्रूरता, लाचारी र पलायनलाई चित्रण गर्ने कविता हो । एकातिर गोली लागेर ढलेको वीर युवकको छातीमाथि टेकेर उभिएको एउटा नायक कन्चटमा बन्दुक ताकेर भोलिको सत्ता मागिरहेको छ भने अर्कोतिर मूल बाटोमा हिँडिरहेको सारथी बाटोको किनारमा उभिएर अर्को बाटो खोजिरहेको छ । सेता लुगा लगाएर स्यालहरूले पशुपालन गर्ने प्रस्ताव पेस गरिरहेका र उल्लुहरूले पान चपाउँदै देश बचाउने सपना बाँडेर जनतालाई दिगभ्रमित गरिरहेको बेला उक्त नायक र सारथीहरूले मूल बाटो समाप्त नसक्नुलाई कवि विडम्बना ठान्छन् र देब्रे र दाहिने दुवै विचलनमा रहेका सारथीहरूलाई जोडतोडले चिच्याएर सही मार्गमा आउन आह्वान गर्छन् । यस कवितामा तत्कालीन शाही कदम, माओवादीको उग्रवामपन्थ र अरू वामपन्थीहरूको ढुलमुले प्रवृत्तिलाई एकसाथ चित्रण गरी अन्त्यमा सही बाटो भनेको आस्था र विश्वास भरिएको अजम्बरी धातुले बनेको बाटो हो भन्दै त्यही बाटो ठीक भएको अभिव्यक्ति दिइएको छ ।
गोली लागेर ढलेको
वीर युवकको छातीमाथि टेकेर
उभिएको एउटा नायक
कन्चटमा बन्दुक ताकेर
भोलिको सत्ता मागिरहेछ
मूल बाटोको किनारमा छन्
मैले खोजेका सारथीहरू
म जोड जोडले चिच्याउँछु
र निमन्त्रणा गर्छु
तर किन ?
किनारमा बसिरहेछन् उनीहरू ।
(पृ.५२)

यो राजा ज्ञानेन्द्रले सत्ता हातमा लिई जनताका हक–अधिकारहरू खोस्दै लगेको र राजनीतिक पार्टीहरू सशक्त रूपमा सडकमा आउन नसकिरहेको बेलाको कविचेतना हो । यसमा कविले अजम्बरी धातुले बनेको बाटो सुन्दर बाटो हो र त्यही नै आफ्नो प्रिय बाटो हो भने पनि त्यो कस्तो बाटो हो त्यसलाई प्रस्ट पार्न सकिरहेका छैनन् । बाटोका बारेमा स्पष्टता नभए पनि लक्ष्य र उद्देश्यका बारेमा भने कविको अभिव्यक्ति स्पष्ट छ । उनका सबै कवितामा यथास्थितिप्रतिको तीव्र विरोध र आमूल परिवर्तनप्रतिको चाहना प्रखर रूपमा आएको छँदैछ ।
प्रस्तुत सङ्ग्रहमा सङ्कलित ‘नागरिक’ (२०५८) एक मात्र लघुत्तम कविता हो । यसमा देशका बारेमा चिन्तित नहुने विध्वंशक व्यक्तिलाई आफूले आफ्नो देशको नागरिक मान्न नसक्ने विचार व्यक्त गरिएको छ । यसमै सङ्कलित ‘कलिला जूनहरूको श्रद्धाञ्जलिमा’ (२०५९) ले चाहिँ कविको वैचारिक आस्थालाई प्रतीकात्मक रूपमा अभिव्यञ्जित गरेको छ । यसमा ‘बगैंचा’, ‘फूल’ र ‘जून’ लाई प्रतीक बनाएर आस्थालाई अझै दरिलो र फराकिलो बनाउनुपर्ने भाव व्यक्त गरिएको छ । उनी यहाँ उज्यालो खोज्न हिँडेका कलिला जूनहरूलाई श्रद्धासुमन चढाउन सयपत्रीको खेती गर्न चाहन्छन् । ‘स्वयम्भूका आँखासँग’ (२०५९) कवि मातृकाको सहिद कवि कृष्णसेन इच्छुकका बारेमा लेखिएको संस्मरणात्मक कविता हो । यसमा उनले कवि कृष्णसेनलाई घाम र जूनको प्रतीक दिएर उज्यालोका रूपमा चित्रण गर्दै उज्यालोदेखि डराउने तत्कालीन शासकहरूले उनलाई बेपत्ता पारेकोमा स्वयम्भूका आँखासँग उनलाई देख्यौ कि देखेनौ भनेर प्रश्न गरिरहेका छन् । यो सहिद कृष्णसेनका त्याग, समर्पण र बलिदानलाई सम्मान गर्ने र हत्याको विरोध गर्ने कविता हो ।

यसपछि कवि मातृका पोखरेलका यात्राको एउटा दृश्य सङ्ग्रहमा सङ्कलित लेखनक्रमका हिसाबलेपनि र प्रविष्टिक्रमका हिसाबले पनि अन्तिम दुई कविता हुन्— ‘एउटा पूजारीको आत्मव्यथा’ (२०६०) र ‘सपना’ (२०६०) । यीमध्ये पहिलोमा सहिदगेटमा राखिएका सहिद प्रतिमालाई टुँिडखेलका छेउमा राखिएका घोडा चढेका राणाका शालिकहरूले अझै पनि घुरिरहेकोमा र आफूलाई श्रद्धै नलागेका व्यक्तिको शालिक सहिदहरूभन्दा माथि राखिएकोमा विरोध गर्छन् र त्यस्तो अवस्थालाई कवि मातृका विडम्बनापूर्ण मान्दै यसले सहिदहरूको घोर अपमान र अवमूल्यन भएको विचार व्यक्त गर्छन् । उनले सहिदहरूलाई धरहराको उचाइभन्दा पनि माथि राख्नुपर्ने र सहिदगेट गई एउटा सामन्त शासकप्रति नतमस्तक हुनुभन्दा आफ्नै गाउँका नागीहरूमा सहिदका शालिक निर्माण गरी सम्मान गर्नुपर्ने भाव पनि व्यक्त गरेका छन् । यो सामन्ती संस्कृति र त्यसको अवशेषका रूपमा रहेको सहिदगेटको विडम्बनापूर्ण स्थितिलाई चित्रण गर्ने कविता हो । यसले कवि मातृका पोखरेलमा रहेको सांस्कृतिक चेतनालाई उजागर गरेको छ । यसपछिको कवि मातृकाको अन्तिम कविता हो— ‘सपना’ । यसमा पनि वर्तमानको विरूप अवस्थाप्रति नै कविले औंला ठड्याएका छन् र त्यस्ता व्यक्तिहरूसँग हिँड्न नपाए हुन्थ्यो भन्ने चाहनालाई व्यक्त गरेका छन् । अपराधीले माफी र भ्रष्टाचारीले गरिबी निवारणको जिम्मेवारी पाउनु अन्धाहरूले बाटो देखाउँदै दुःस्वप्न बाँड्नु कम्युनिस्टहरूले आस्थाको झोला बोकेर मन्दिर मन्दिर धाउँनु, आन्दोलनका नाममा क्रान्तिकारीहरूले पार्टीको छतमा बसेर घाम ताप्दै भविष्यको मात्र लेखाजोखा गर्नुजस्ता कुराले कविको मन दुखेको छ र उनी यस्ता व्यक्तिहरूको सङ्गत नगरी आफ्नो आस्थाको सगरमाथा चढ्ने सपनालाई पूरा गर्न चाहन्छन् । यो पनि कविको सांस्कृतिक चेतनालाई नै प्रकट गर्ने कविता हो तर यसले क्रान्तिकारी भावलाई भन्दा पनि अप्रत्यक्ष रूपमा कविको निराशालाई प्रस्तुत गरिरहेको छ । वर्तमानका कुरूपतालाई निर्भीकतापूर्वक कुरूप भन्ने आँट भएका कवि मातृकाले उनीहरूको व्यवहार देखेर दिक्क हुँदै ‘मसँग एउटा सपना छ, यी सबैसँग बाटोमा भोलिदेखि सँगै हिँड्न नपरे हुन्थ्यो’ भन्ने विचार व्यक्त गर्नुको साटो उनीहरूसँग जुझ्ने दृढता व्यक्त गरेका भए राम्रो हुन्थ्यो । वर्तमान पीडामय भएकाले र त्यसप्रति कविको आक्रोश र असन्तुष्टि पनि रहेकाले कहिलेकाहीँ निराशाले प्रश्रय पाउनु पनि स्वाभाविकै हो । समग्रमा भने कवि मातृका पोखरेल निराशावादी छैनन्, आशावादी नै छन् ।

मातृका पोखरेलको यात्राको एउटा दृश्य कवितासङ्ग्रहभित्रका उपर्युक्त बाइसवटा कविताहरूको अध्ययन गर्दा यी कविताले बहुदलीय प्रजातन्त्र भनिने खासगरी २०५७ देखि २०६० सालसम्मका अवधिका राष्ट्रिय राजनीति र सामाजिक सन्दर्भका विभिन्न पक्ष र पाटाहरूको चित्रण गरेका छन् । पहिलो कवितासङ्ग्रहमा जस्तै यसमा पनि कविको वर्तमानबोध एकदमै प्रखर रूपमा प्रकट भएको छ र उनी यस सङ्ग्रहमा राष्ट्रिय राजनीतिक जीवनमा देखापरेका विकृति–विसङ्गति र आदर्श विचलनको चित्रणमा विशेष उन्मुख भएका पाइन्छन् । समकालीन समाजको यथास्थिति र कुरूपतालाई समाप्त नगरेसम्म उज्यालोको प्राप्ति सम्भव छैन भन्ने कुरामा कवि एकदमै स्पष्ट रहेका देखिन्छन् । यसै कारण उनका उपर्युक्त कवितामा क्रान्ति र परिवर्तनप्रतिको छटपटाहट तीव्रतम रूपमा प्रकट भएको छ । समालोचक रामप्रसाद ज्ञवालीले यस कवितासङ्ग्रहका बारेमा चर्चा गर्दै ‘वर्तमान जतिसुकै कुरूप भए पनि भविष्य अवश्य नै सुन्दर हुनेछ भन्ने विचार पनि यी कवितामा पाइन्छ ।’ (२०६४ ः ११२) भनेर कविताहरू आशावादी भएको उल्लेख गरेका छन् । अनि उनले अर्को एक ठाउँमा “आफ्नो कथ्यलाई हाकाहाकी भन्नु र अँध्यारो र उज्यालोको द्वन्द्व देखाई समय, घटना, स्थान र विभिन्न दृश्यहरूको संयोजनद्वारा यथार्थको उद्घाटन गरी उज्यालोको पक्षमा व्यक्तिनु उनको निजत्व हो (२०६४ ः ११३) भनेर कविको मूल्याङ्कन पनि गरेका छन् । ‘यात्राको एउटा दृश्य’ सङ्ग्रहकै आवरण पृष्ठमा “कवितालाई यथास्थितिको भेदन कुरूपताको अनावरण र उज्यालो प्राप्तिको सङ्घर्षको कलात्मक परिणति बनाउन अब कवि मातृकालाई शब्दहरूको चयन–गुम्फन, संवेदनाको आलोपन र विचारको ऊर्जादान गर्नु गाह्रो छैन । समकालीन कविताको भीडमा आफ्नै छुट्टै निजत्व बनाउन गाह्रो भए पनि उनी त्यो सामथ्र्य राख्ने हैसियतमा पुगिसकेका छन् ।” भनेर डा. ताराकान्त पाण्डेयले टिप्पणी गरेका छन् । यसबाट यात्राको एउटा दृश्यभित्रका कविता वैचारिक दृष्टिले सशक्त छन् भन्ने कुराको निष्कर्ष निस्कन्छ । कविताकलाका दृष्टिले चाहिँ सबै कविता समान छैनन् । केही कवितामा सपाट वर्णन, केही कवितामा असङ्गतपूर्ण भाव र केही कवितामा विरोधाभासी अभिव्यक्ति पनि छ । गद्यलयका संरचनामा एउटा लघुत्तर र अरू न लामा न छोटा मझौला आकारमा विस्तारित यस सङ्ग्रहका कविताले श्रुतिरम्यता र लयगत माधुर्यको उच्चता प्राप्त गर्न नसके तापनि कतिपय कवितामा अन्तव्र्यङ्ग्यको रन्को राम्रोसँग प्रकट भएको छ । यस सन्दर्भमा “‘यात्राको एउटा दृश्य’ उत्कृष्ट वैचारिकता र यथार्थ अनुभूति बोकेको वर्तमान नेपाली युगयथार्थको त्यस्तो प्रतिबिम्वन हो जसले अन्तर्वस्तुको उच्चता बोकेको छ भने विधागत मौलिकताको निर्वाहमा सम्पूर्ण उत्कृष्टता प्राप्त गर्न भने बाँकी नै देखिन्छ (२०६४ ः ११४) ।” भन्ने रामप्रसाद ज्ञवालीको मूल्याङ्कन ठीकै ठहर्छ । यद्यपि कलात्मक श्रेष्ठताको मापन गर्नु वा शिल्पचेतनाको स्तरलाई निर्धारण गर्नु सजिलो विषय होइन । कुनै न कुनै बिम्ब र प्रतीकको प्रयोग सबै कविका कवितामा पाइन्छ नै । यो कुरा मातृकाका कवितामा पनि छ । मातृका पोखरेलको कवितात्मक शैली आफ्नै पाराको सहज र सरल किसिमको हुनाले अनुभवजन्य र प्रभावकारी नभएको मात्र हो । रूप पक्षमा भन्दा विचारपक्षमा जोड दिने कवि भएकाले यसो हुनु स्वाभाविक पनि छ । मातृका पोखरेल प्रखर माक्र्सवादी कवि हुन् । उनका कविताहरूमा प्रगतिवादी वैचारिकताको सशक्त अभिव्यक्ति छ । युगयथार्थको अभिव्यक्ति एवं वर्तमानका कुरूप पक्षको भेदन गर्दै वर्गीय द्वन्द्व, वर्गीय पक्षधरता र तदनुकूलको भाव सम्प्रेषण गर्ने कुरामा भने मातृकाको प्रस्तुत कवितासङ्ग्रह सफल देखिन्छ ।

५. निष्कर्ष
उपर्युक्त दुईवटा कवितासङ्ग्रहका जम्मा एकचालीसवटा कविताहरूको सर्सर्ती अध्ययन गर्दा प्रगतिवादी नेपाली कविता–परम्परामा मातृका पोखरेल एउटा उल्लेख्य वैचारिक कविका रूपमा देखापर्छन् । उनका दुईवटै कवितासङ्ग्रहमा वर्तमानका कुरूप यथार्थप्रति तीव्र असन्तुष्टि रहनुका साथै क्रान्ति र विद्रोहको स्वर पनि पाइन्छ । प्रारम्भदेखि नै प्रगतिवादी मान्यताअनुरूप कविता सृजना गर्दै आएका पोखरेल प्रतिबद्ध प्रगतिवादी कवि हुन् । उनको वैचारिक प्रतिबद्धता समाजवादी–यथार्थवादमा आधारित छ । समाजवादी यथार्थवादले सामाजिक यथार्थलाई कोरा यथार्थका रूपमा मात्र नहेरी द्वन्द्वशील यथार्थका रूपमा हेर्दछ । मातृकाका कवितामा पनि राम्रा र नराम्राका बीचको, शोषक र शोषितका बीचको, यथास्थिति र अग्रगमनका बीचको द्वन्द्वशील यथार्थको अभिव्यक्ति पाइन्छ । उनी युगजनीन यथार्थहरूलाई चित्रण गर्दा फोटोग्राफी यथार्थका रूपमा मात्र होइन त्यसपछिको समाजको दिग्दर्शन पनि गराउँछन् । उनका यस अवधिका कवितामा खासगरी सामन्तवादी राज्यसत्ता, राजनीति र संस्कृतिका बहुविध पक्षको अङ्कन मात्र होइन, तिनप्रतिको घृणाभाव र समाप्तिका साथै अग्रगमन र परिवर्तनको समेत कामना गरिएको छ । उनले वामपन्थी राजनीतिक वृत्तकै विचलन र प्रवृत्तिलाई समेत यही यथार्थदर्शनका कोणबाट हेरेका छन् । समाजवादी–यथार्थवादी कलारचनाको मूल मान्यता पनि यही हो ।
कवितायात्राका दृष्टिले चालीसको दशकको मध्यभागबाट सक्रिय हुँदै आएका पोखरेल हालसम्म निरन्तर रूपमा साधनारत रहेका छन् । उनको पहिलो र दोस्रो दुवै कवितासङ्ग्रहमा भावगत र शिल्पगत दुवै दृष्टिले निरन्तरता छ । मातृका पोखरेल मुक्तलयका कवि हुन् । उनका सबै कविता गद्यलयमा लेखिएका छन् । अन्तर्वस्तु, भावबिम्ब एवं दृष्टि र विचार प्रक्षेपणका हिसाबले उनका कविता खरो उत्रन सक्छन् तर कलागत मूल्यका हिसाबले उनले उत्तरोत्तर विकास गर्दै जानुपर्छ भन्ने कुराको भने अपेक्षा गर्नु दुई दशकको यात्रा पार गरेका कविका सन्दर्भमा मनासिवै ठहर्ला । यस सन्दर्भमा प्रगतिवादी कविहरूको ठूलो भिडमा उनबाट निजत्वको अपेक्षा गर्नु पनि वाञ्छनीय नै हुन आउँछ । उनका कविताबाट अपेक्षाकृत सौन्दर्यानुभूति प्राप्त नहुने आरोपबाट अब उनले मुक्त हुनैपर्छ । उनी प्रगतिवादी कवि हुन् । त्यसैले उनका कवितामा वर्गीय दृष्टि, वर्गीय पक्षधरता र तदनुकूलको भावबोध र चित्रण पाइन्छ । अभिव्यक्तिकौशल र परिष्कारका दृष्टिले आरोह–अवरोध रहे पनि वैचारिक प्रखरता रहनु उनका कविताको सबल पक्ष हो । उनका सबै कविता जीवनबोधी, विद्रोहधर्मी र आशावादी रहेका छन् । उनका समकालीन कतिपय प्रगतिवादी कविहरूमा जस्तो भावुकता र रहस्यात्मकता पनि उनका कवितामा छैन । यति भएर पनि कतिपय कवितामा भावगत असङ्गति र विरोधाभासबाट भने उनी मुक्त हुन सकेका देखिँदैनन् । यी केही सीमाहरू रहे तापनि समष्टिगत कविताका सन्दर्भमा भन्दा उनी प्रखर वैचारिक कवि हुन् र उनका उपर्युक्त कविताहरू प्रगतिवादी कित्ताका उल्लेख्य रचना हुन् ।

मुख्य सन्दर्भसूची

गौतम, देवीप्रसाद (२०४९), प्रगतिवाद : परम्परा र मान्यता, काठ ः श्रीमती मुना गौतम
ढकाल, घनश्याम (२०६२), यथार्थवादी नेपाली समालोचना, पोखरा ः गण्डकी साहित्य सङ्गम
पाण्डेय, ताराकान्त (२०५६), प्रगतिवाद र कविता, काठमाडौं ः शीला योगी
पोखरेल, मातृका (२०५६), सेतो दरबारको छेउबाट, काठमाडौं ः सृजनशील प्रकाशन
…………….. (२०६०) यात्राको एउटा दृश्य, काठमाडौं ः विवेक सृजनशील प्रकाशन
…………….. (२०६१) सन्त्रस्त आँखाहरू, काठमाडौं ः जनमत प्रकाशन
पौडेल, हेमनाथ (२०६०) ‘प्रगतिवादी नेपाली कविता ः पृष्टभूमि, प्रारम्भ र विकास’ झिसमिसे
(पू ४१, वर्ष २९,२०६४) पृ.१४–३५
ज्ञवाली, रामप्रसाद (२०६४), फुटकर कविताका केही बान्कीहरू, बनेपा जनमत प्रकाशन

मिर्मिरे मासिक, वर्ष ३६, अङ्क १२, पूर्णाङ्क २७१, २०६४ चैत

No comments: